धरान । पाहुना टोली डाफिन्स क्यामरुनले विभागीय टिम एपिएफलाई २–० ले हराउँदै २१ अाैं अामन्त्रण बुढासुब्बा गाेल्डकपमा अर्को विभागीय टिम पुलिससँग भेट पक्का गरेको छ ।

पुलिसले यसअघि पोखरेली टोली सहारा क्लबलाई सडन डेथमा हराउँदै अन्तिम चारमा पुगेको थियो । बुधबारको खेलमा एपिएफमाथि लामा कदका क्यामरुनको टोलीले सहज जित निकाल्यो । खेलको ९ औं मिनेटमा एनजामा यानिकले खाता खोल्दै अग्रता कायम गरे ।

पहिलो हाफ १–० को अग्रता कायम गरेको डाफिन्सले दोस्रो हाफको चौथो मिनेटमै एनजमा व्यक्तिगत दोस्रो गोल गरे । खेलको म्यान अफ दी म्याच पनि उनी नै घोषित हुँदै नगद १५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गरे । एपिएफलाई गत शनिबार मनकामना कप पोखरामा पनि १–० ले हराउँदै डाफिन्सले उपाधि उचालेको थियो ।

बिहीबारको खेलमा आयोजक धरान फुटबल क्लब र लिगको उपविजेता सङ्कटा क्लब काठमाडौंबीच हुँदै छ ।