विराटनगर/ विराटनगरमा हुन लागेकोे पाँचौं साफ महिला च्याम्पियनशीप फुटबल प्रतियोगिताको तयारी तीव्र पारिएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा आगामी फागुन २८ देखि चैत ८ गतेसम्म हुने उक्त प्रतियोगिताका लागि तयारी तीव्र पारिएको हो ।

यस प्रतियोगिताका लागि विराटनगरस्थित चारवटा खेलमैदानको स्तरोन्नतिको काम भइरहेको एन्फाका उपमहासचिव वसन्त अर्यालले जानकारी दिए । मुख्य खेल मैदानको रूपमा शहीद मैदानको व्यवस्थापन भइरहेको छ ।

त्यसबाहेक दिल्ली पब्लिक स्कुल, प्रदेश प्रहरी तालिम केन्द्र रानी र विराटनगर जुट मिलको खेलमैदानलाई अभ्यासका लागि मर्मत शुरु गरिएको अर्यालले बताए । प्रतियोगितामा नेपाल, भारत, भुटान, पाकिस्तान, बङ्गलादेश, मालदिभ्स र श्रीलङ्काका राष्ट्रिय महिला फुटबल टिमको सहभागिता हुनेछ ।

प्रतियोगितामा अन्तर्राष्ट्रियस्तरबाट ३ सयभन्दा बढी प्रतिनिधि, खेलाडी तथा खेल प्रशंसकको प्रत्यक्ष उपस्थिति रहने बताइएको छ ।

‘प्रतियोगितामा आवश्यक पर्ने खेल संरचनाको मर्मत र स्तरोन्नतिको काम धमाधम भइरहेको छ,’ एन्फाका उपमहासचिव अर्यालले भने, ‘मुख्य खेलमैदान शहीद रङ्गशाला परिसरमा चेञ्जिङ रुम व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको छ ।’ मुख्य मेलमैदान तथा अभ्यास मैदानको लेभलिङ, माटो फिटिङको काम धमाधम भइरहेको उनको भनाइ छ ।

विराटनगर महानगरपालिकाले मैदान आसपासको सडकको कालोपत्रे गर्ने, मैदान भित्रै आवश्यक पर्ने संरचना निर्माण गर्ने र मैदान पेरिफेरि रङ्गरोगनको कामसमेत थालिएको छ ।

प्रतियोगिताका लागि महानगरले रङ्गशालामा खेलकुद प्रयोजनका लागि भौतिक पूर्वाधार निर्माण गर्ने विषयमा विराटनगर महानगरपालिका र एन्फाबीच यस अघि नै सम्झौता भएर काम अगाडि बढाइएको प्रमुख भीम पराजुलीले जानकारी दिए ।

प्रतियोगिताको माध्यमबाट प्रदेश–१ का विभिन्न पर्यटकीय क्षेत्रलाई समेत टेवा पुग्ने भएकाले प्रतियोगिताको आयोजनामा कुनै कमजोरी आउन नदिने उनले बताए ।

राखेपका सदस्य सचिव केशवकुमार विष्टले विराटनगरमा हुन लागेको यस खालको प्रतियोगिता प्रदेश–१ का लागि ठूलो अवसर भएकाले यसलाई सफल बनाउन सबैको दायित्व भएको बताए ।

विराटनगरको शहीद रङ्गशाला निरीक्षण गर्दै राखेपका सदस्य सचिव केशवकुमार विष्टसहित एन्फाका पदाधिकारीहरू ।