धरान / सरकारको स्वामित्वमा रहेको जग्गालाई डिपो उच्च मावि धरानले ३० बर्षको लागि व्यापारिक कम्पनिलाई लिजमा दिएर अधिकार दुरुपयोग गरेको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीले अनुसन्धान थालेको छ ।
विद्यालयले प्रभावमा परेर विद्यालयका संचालक समिति सदस्य चन्द्र खापुङका छोरा लोक खापुङको नाममा रहेको इजी राइडर्स बिजनेश ग्रुप प्रालिलाई लिजमा दिएर अधिकार दुरुपयोग गरेकोले अनुसन्धान गरी कारबाहीको माग गर्दै गते कार्तिक २५ गते बेनामे उजुरी परेको थियो ।
उजुरी आएको बताउदै अख्तियार प्रमुख महेश आचार्यले सम्बन्धित निकायबाट कागजपत्र मगाएर आवश्यक अनुसन्धान थालिएको जानकारी दिए ।
आयोगको इटहरीस्थित क्षेत्रीय कार्यालयका प्रवक्ता नरेन्द्र भट्टराईले पनि उजुरी परेको र आवश्यक निकायहरुमा बुझ्ने काम भइरहेको जानकारी दिएका छन् । मिडियामा धेरै आएको विषय भएकाले अख्तियारले निगरानी गरिरहेको प्रवक्ता भट्टराईले जानकारी दिए ।
उजुरीको दर्ता नं. १३५१ रहेको छ । कार्तिक २५ गते नै उजुरी दर्ता भएको मिति उल्लेख गरिएको छ । उजुरी पत्र अनुसार विभिन्न ७ बुँदा उल्लेख गरेर अख्तियारमा उजुरी दर्ता गरिएको छ । डिपो स्कुलले अवैधानिक तथा क्षेत्राधिकार भन्दा बाहिर गएर नियमविपरीत भोगाधिकार मात्र पाएको जमिन व्यवसायिक प्रयोजनका निमित्त भाडामा दिएको दाबी उजुरीमा छ । यस्तै, विद्यालय सञ्चालक समितिका सदस्यले आफै जमिन भाडामा लिने कार्य अधिकारको दुरुपयोग गरेको पनि सो उजुरीमा उल्लेख गरिएको छ ।
पहिलो बुँदामा इजी राइडर्स र डिपोबीच सम्झौता अनुसार लिजमा दिएको ३ बिघा जग्गामा फन पार्कको नाममा मेला सञ्चालन गर्न लागिएको दाबी छ । साथै, उक्त सम्झौता हुदा भोगाधिकार दिने बिपी कोईर।ाला स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा नेपाल सरकारसँग अनुमति नलिएको उजुरीमा जनाइएको छ । यस्तै, भोगाधिकार मात्र पाएको जमिनलाई भोगाधिकार दिने पक्ष तथा नेपाल सरकारसँग अनुमति नै नलिई दीर्घकालीनरुपमा प्रभाव पार्ने संरचनाहरु निर्माण गर्नेगरी ३० बर्षसम्म प्रयोग गर्न पाउने सर्तमा भाडामा दिने विद्यालयको नियत खराव भएको उजुरीमा भनिएको छ ।
विद्यालय हाताभित्र शैक्षिक गतिविधिलाई नकरात्मक प्रभाव पार्ने गरी होटल, सिनेमा हल, रेष्टुरेष्ट, रिसोर्टलगायत सञ्चालन गर्न विद्यालयले अनुमति दिदा पनि उपमहानगरले हस्तक्षेपकारी भूमिका नखेको पनि उजुरीमा भनिएको छ । उजुरी दिने व्यक्तिको नाम भने खुलाइएको छैन् ।
नेपाल सरकारबाट बिपी प्रतिष्ठानको नाममा भएको जग्गा भोगाधिकार पाएको डिपोले ३० बर्षको लागि ३ बिघा जग्गा सञ्चालक समितिकै परिवारको इजी राइडर्सलाई लिजमा दिएपछि कम्पनिले खेलतमासालगायतको गतिविधी संचालन गर्न निर्माण कार्य तिब्र बनाएको थियो । फन पार्कलगायतका खेलजन्य क्रियाकलाप विद्यालाय अगाडी हुदा विद्यालयमा अध्ययनरत वालबालिकाको वाल मस्तिष्कमा असर पर्ने कुरालाई ख्याल नगरि पैसा कमाउने नियमतमा भाडामा दिएको भन्दै जनस्तरमा व्यापाक विरोध भईरहेको थियो ।
इजी राइडर्सले उक्त जग्गाको मुल्य ५ करोड ४० लाख थैली खुलाएर मालपोत कार्यालय धरानबाट करारनामा लिखत प्रमाणितसमेत गराएको थियो । मालपोतका कर्मचारीहरुलाई प्रभावमा पारेर डिपोको जग्गाको धनीपुर्जामा मालपोतले ‘इजी राइडर्सलाई भोगाधिकार’ भनेर समेत लेखिएको पाइएको थियो । ३ विगाह जग्गा लिजमा दिएको करार सम्झौता गरिए पनि १० विगाह जग्गामा पूर्जाको मोहियानी हक भएको स्थानमा इजि राईर्डसलाई भोगाधिकार भनेर लेखि मालपोत कार्यालयका नासु टिका कट्वालले प्रमाणित गरेका थिए ।
मिडियामा आएका विषय तथा समबन्धित निकायहरुसँग कागजपत्र झिकाएर प्राराम्भिक अनुसन्धान थालिएको इटहरीस्थित अख्तियार प्रमुख आचार्यले जानकारी दिएका छन् ।