दाङ / दाङको लमही नगरपालिका वडा नम्बर ९ रिहार नजिक जन्ती चढेको जीप र यात्रु बस आपसमा जुध्दा बेहुलाका आमा–बुवासहित ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनामा दुई जना घाइते भएका छन् ।

बेहुली लिएर चितवनको गितानगरबाट बाँकेको शमसेरगञ्ज जाँदै गरेको बा १२ च ३१२२ नम्बरको स्कारपियो जीप र महेन्द्रनगरबाट काठमाडौंतर्फ जाँदै गरेको ना ५ ख ४०९० नम्बरको बस बिहीबार बिहान २ बजेतिर ठोक्किएको बताइएको छ ।

मृत्यु हुनेहरुमा राप्ती सोनारी गाउँपालिका ८ का मानबहादुर केसी, ४५ वर्षीया विमला खत्री, ४९ वर्षीय विश्वनाथ अधिकारी, ५ वर्षीय प्रविण केसी, ३१ वर्षीय दीपककुमार खड्का र बाँकेको कोहलपुर नगरपालिका १२ निवासी ७८ वर्षीय दत्तबहादुर खत्री रहेको इलाका प्रहरी कार्यालय अमिलियाले जनाउको छ ।
मानबहादुर केसी र विमला खत्री बेहुलाका आमा बुवा भएको बताइएको छ ।
दुर्घटनामा बेहुलाकै आफन्त ४५ वर्षीया गितादेवी खत्री र चालक २१ वर्षीय यमबहादुर मगर घाइते छन् । उनीहरुलाई उपचारका लागि कोहलपुर पठाइएको छ । बेहुला र बेहुली भने अर्को गाडीमा भएका कारण सुरक्षित रहेका छन् । बुवा–आमा र आफन्त चढेको जीप भने विपरित दिशाबाट आइरहेको बससँग ठोक्किएको थियो ।