बिर्तामोड / उदिता डिलक्सले बिर्तामोडबाट काठमाण्डौ जाने यात्रुलाई टिकट काटेर बस स्टेण्डमै अलपत्र पारेको छ । बिर्तामोडबाट नगुड्ने गाडीको टिकट काटेर काउण्टरका कर्मचारी गोपाल ढुङगानाले ठगी गरेका हुन् । गोपाल ढुङगानाले दर्जनौ यात्रुहरुबाट टिकटको पैसा लिएर अलपत्र पारेको पीडितले गुनासो गरेका छन् । यात्रुबाट रकम असुल गरेपछि उनी फरार छन् । बिर्तामोडबाट काठमाण्डौ जाने दर्जनौ यात्रुमाथि ढुङगानाले ठगि गरेका छन् । कार्तिक २६ गते बिर्तामोडमा रहेको इन्द्रेणी काउण्टरबाट २८ गतेको लागि काठमाण्डौ जाने डिलक्सको टिकट लिएका झापाको अर्जुनधारा ५ का नविन पुरीले गाडी नआएपछि मंगलबार साँझसम्म काउण्टरमा बस्नु परेको बताए । उनले साँझसम्म काउण्टरका कर्मचारीलाई पर्खिदा पनि गाडी नआएपछि प्रहरीलाई जानकारी गराएका थिए । बिर्तामोड प्रहरीले ढुङगानाको खोजी गरिरहेको बताएको छ । डिएसपी कृष्ण कोइरालाले यात्रु ठगी गर्ने ढुङगानालाई पक्राउ गरेर कारवाही गर्ने बताए । तिहार मानेर कार्यथलोमा फर्किने यात्रुहरु यातायात ब्यवसायीको ठगिको शिकार हुने गरेका छन् । उदिता डिलक्सका सञ्चालक कुमार पाण्डेले आफ्नो गाडी झापामा नआउने बताए । ‘हामीले असारदेखि धरान, धनकुटा र बिराटनगरसम्म मात्र गाडी चलाइरहेका छौ, पाण्डेले भने–‘पहिले झापामा गाडी जाँदा लुकाएको टिकट राखेर ठगी गरेको हुनसक्छ, कारवाहीको दायरामा ल्याउन म पनि सहयोग गर्छु ।’ टिकट काटेर कसैले ठगी गरेको भए बिर्तामोडमा त्यसबेला कम्पनिले खटाएका कर्मचारी गंगा ओडारीले जिम्मा लिनुपर्ने उनले बताए ।