विराटनगर  /  नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले गियर परिवर्तन गरेर नयाँ गति लिने बताएका छन् । नकपा मोरङले विराटनगरमा आयोजना गरेको चियापन कार्यक्रमको सम्बोधन गर्न आएका प्रचण्डले सोमबार विमानस्थलमा संचारकर्मीहरुसँग कुरकानी गर्दै यस्तो बताए । उनले बर्खा सकिएकोले अव बिकासको समय सुरु भएको बताए । ‘हिलोमैलोमा १ नम्वर गियरमा गाडी चलाइने र हिलो नभएको ठाउँमा गियर परिवर्तन गरिन्छ अब हिलो हटिसकेको छ, सरकारको गियर पनि चेन्ज हुन्छ,’ उनले भने, ‘ गियर चेन्जसंगै सरकारको कामको गति पनि बढ्छ ।’ सरकारको गियर परिवर्तन भनेको मन्त्रिपरिषदमा हुने हेरफेर भने नभएको उनले बताए ।सरकार आफ्नो गतिमा सुधार गरेर अघि बढ्न खोजिरहेकोले मन्त्रिहरुको हेरफेर गर्ने बेला नभएको अध्यक्ष प्रचण्डले बताए । ‘मन्त्रिहरुको हेरफेर गर्ने बेला भएको छैन, केही कुराहरु छलफलमा भएपनि अहिले सरकारको कामलाई व्यवस्थित बनाउँदै अघि बढ्ने कुरा हुन्छ,’ उनले भने ।  सरकारले अहिलेसम्म गरेको कामलाई अध्यक्ष प्रचण्डले उद्देश्य अनुसार भएको भन्दै प्रशंशा गरे । यो सरकारले आवश्यक पुर्वाधार तयार गरेकोले विकासको गति लिनेमा दुई मत नहुने उनको भनाई थियो ।