खोटाङ / नातिनातिनीसँगै विद्यालय जाने ६६ वर्षीया कृष्णकुमारी गजमेरले ‘क–ख’, ‘ए–बी–सी–डी’ र ‘आकार–उकार’ छिचोली सकेकिछन् ।   विसं २००९ मा जन्मेकी कृष्णकुमारी छोरीपट्टिकी नातिनातिनीसँगै सिद्धेश्वरी माविको कक्षा १ मा अध्ययनरत छन् । हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेकी स्थानीयवासी कृष्णकुमारी हाल जेठी छोरी यामकुमारी र ज्वाइँ कृष्णबहादुर लोहारसँग दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका दिक्तेल–२ मा बस्छिन् ।   लेखपढ गर्न जान्ने भएर फरर पुस्तक पढ्ने, मोबाइल चलाउने, सामान्य हरहिसाब आफँै गर्न सक्ने कृष्णकुमारीको धोको छ । गत वैशाख २ गते दुई नाति र एक नातिनीसँगै कक्षा १ मा भर्नभएकीछन् । उनीलाई गत असार ५ गते भर्ना गरिएको सिद्धेश्वरी माविका प्रधानाध्यापक बिन्दा थापाले बताए ।  “पहिला बूढी मान्छे नातिनातिनी लिएर विद्यालय भर्ना हुन आईन, मेरो पनि भर्ना गरिदिन प¥यो भनिन, हामीले नपत्याएर बूढी मान्छे ठट्टा गर्छिन भन्दै पठायौँ,” उनले भने, “तर नातिनातिनीसँगै नियमित विद्यालय आउन थालेपछि मात्र कृष्णकुमारीको भर्ना लिएका हौँ ।”  बूढेसकालमा पढ्ने धोको पूरा गर्न चाहनुहुने कृष्णकुमारीले शुरु–शुरुमा कक्षामा कलिला बालबालिकासँग घुलमिल हुन अप्ठ्यारो भएको बताईन । “अहिले नातिनातिनी उमेरका बालबालिका नै मेरा नजीकका साथी भएको छ, पढ्ने रहर पूरा भयो, जान्ने भएर नातिनातिनीलाई सिकाउँछु,” उनले भनिन, “पाए जागिर पनि खान्छु, ‘क–ख सिकिसकेँ, ए–बी–सी–डी पनि सिकेँ, आकार–उकार सबै आउँछ, स्कूल आउँदा आफ्नो पीर मर्का पनि भुलेँ, अहिले यो मनलाई शान्ति मिलेको छ ।”  कृष्णकुमारीका दुई छोरी र एक छोरा विवाह गरेर आ–अफ्नो व्यवसायमा लागिसकेका छन् । कृष्णकुमारीका छोराबुहारी हेटौँडा बस्छन । कान्छी छोरी वैदेशिक रोजगारीको सिलसिलमा विदेशमा रहेकी छिन । आठ वर्षअघि श्रीमान बुद्धिमानको मृत्यु भएपछि कृष्णकुमारी एक्ली भईन । गाउँमा एक्ली भएपछि कृष्णकुमारीलाई जेठी छोरी र ज्वाइँले आफूसँगै लगेर राखेका हुन । कृष्णकुमारीको तीन छोरामध्ये तीन महीनाको अवधिमा दुइटा बितिसकेका छन् । श्रीमान् पनि बितेपछि कृष्णकुमारीलाई पीडाको खात चुलिँदै गयो । छोराछोरी आ–आफ्नै व्यवसायमा लागेपछि आफू बस्दै आएको घर पनि २०७२ सालको भूकम्पले भत्काइदियो । अहिले कृष्णकुमारीको स्कूले जीवन जिन्दगीका पीडा भुलाउने माध्यम बनेको छ ।  शिक्षकका अनुसार शुरुका दिनमा विद्यालयमा निराशजस्तो देखिने कृष्णकुमारी कलिला बालबालिकासँग घुलमिल गरेपछि अहिले हँसिली देखिन्छन् । ढल्किँदो उमेरकी कृष्णकुमारी जोसका साथ लेखपढमा पनि ध्यान दिन्छीन ।