बिर्तामोड /  सरकारले उपलब्ध गराउँदै आएको खाजा खर्च बन्द भए पछि झापामा रहेका वालविकास शिक्षा बन्द हुने अवस्थामा पुगेको छ ।  सरकारी विद्यालयमा सञ्चालित वाल विकास शिक्षामा बजेट उपलब्ध नभए पछि पठन पाठन प्रभावित हुन लागेको हो । ‘कतिपय विद्यालयले दशैको विदापछि खाजा ख्वाउन नसक्ने भनेर सूचना गरिसकेका छन्, नेपाल शिक्षक महासंघका अर्जुनधाराका अध्यक्ष पुण्य सुवेदीले भने–‘यसले वालवालिकाको अध्ययनमा प्रभावित पार्छ ।’ सरोकारवाला निकायको चरम लापरवाहीका कारण सरकारी र सामुदायिक विद्यालयमा अध्ययनरत १५ हजार वालवालिकाको भविष्य अन्यौल बन्न लागेको उनले बताए । सरकारले सरकारी र सामुदायिक विद्यालयमा अध्ययन गर्ने वालवालिकााको लागि विद्यालय लागेका दिनको हिसाव गरेर प्रति विद्यार्थी १५ रुपैंयाँ खाजा खर्च उपलब्ध गराउँदै आएको थियो । गत साउनदेखि यो रकम रोक्का भए पछि विद्यालयले सूचना गरेर खाजा ख्वाउन नसक्ने बताएको छ । ‘हामीले अहिलेसम्म ऋणमा खाजा ख्वाएका थियौं, अर्जुनधारा ४ को नवदुर्गा आधारभुत विद्यालयका प्रधानाध्यापक रुद्रप्रसाद खतिवडाले भने–‘अब खाजा ख्वाउनका लागि रकम अभाव भएको हुनाले दशै पछाडी विद्यालयमा त्यो उपलब्ध नहुने भनेर अभिभावकलाई सूचना दिएका छौं ।’ यसअघि वालविकासका विद्यार्थीलाई खाजा ख्वाएको पैसा तिर्नसमेत नसक्ने अवस्थामा पुगेको उनले बताए । विपन्न समुदायका वालवालिका खाजाको लोभका कारण पनि अनिवार्य रुपमा विद्यालय आउने गरेका थिए, शिक्षक सुवेदीभने भने–‘खाजा खान नपाउने भएपछि आधा जति विद्यार्थी पनि आउने अवस्था छैन ।’ सुवेदीले स्थानीय तहको लाचारी र सरोकारवाला निकायको बेवास्ताका कारण वालवालिकाको अध्ययन प्रभावित हुन लागेको आरोप लगाए । अर्जुनधारा नगरपालिकाका नगरशिक्षा समन्वय प्रमुख जानुका गुरागाँईले नगरमा रहेका विद्यालयमा बालशिक्षा सञ्चालनमा अन्यौल भएको बताइन् । उनले वालवालिकाको भविष्यमा असर पर्ने काम सरोकारवालाले गर्न नहुने उनको भनाई छ । उनले वालवालिकाको खाजा कटौतीको कारण पर्ने असरबारे सचेत भइदिनु सम्बन्धित निकायमा अनुरोध गरेकी छन् । नगरपालिकाले बालबिकास शिक्षाको लागि केही रकम बिनियोजन गरेको भएपनि त्यो अपुग भएको बताइन् । जिल्ला शिक्षा बिकास तथा समन्वय ईकाइ कार्यालय झापाका प्रमुख योगेन्द्रप्रसाद बरालले झापाका विद्यालयमा ऋण खोजेर वालवालिकालाई खाजा नख्वाउन सर्कुलर गरेको बताए । ‘पछि रकम नआउन सक्छ, बरालले भने–‘अहिले ऋण खोजेर पछि खाजा ख्वाएको पैसा आएन भने के गर्ने ? यसकारण विद्यालयलाई बेलैमा सर्कुलर गरेको हुँ ।’ शिक्षा बिभागले वालविकास अन्तर्गत अध्ययन गर्ने वालवालिकाको तथ्यांक संकलन गर्न लगाएको छ, बरालले भने–‘असोजसम्ममा तथ्यांक पठाइ सक्ने भनेको हुनाले त्यसको ब्यापक काम भइरहेको छ, आयो भने मंसिरसम्ममा चै आउँछ होला ।’ बरालले बिगतमा जसरी पर्याप्त रकम आउन नसक्ने अवस्था रहेको बताए । ‘पहिले तथ्यांक लिने, अनि अन्यत्र खर्च भएर जोगियो भने वालवालिकाको खाजा खर्चका लागि रकम आउँछ भन्ने जानकारी छ, तर यो हिसावले सबै विद्यार्थीको लागि रकम पुग्ने अवस्था देखिदैन, प्रमुख बरालले भने–‘मंसिरदेखि टुङगो चै लाग्छ, तर, त्यो लक्षितबर्गको लागि मात्र आउने कुरा निश्चितजस्तै छ ।’ लक्षितबर्गको लागि मात्र खाजा खर्च आयो भने अन्य बर्गका बालबालिका विद्यालय आउन अनिच्छुक हुने देखिएको छ । सरकारले विद्यार्थी भर्नाका लागि करोडौं रकम खर्च गर्ने गरेको छ । हरेक बर्ष भर्नाको समयमा चर्चाको शिखरमा रहने बिषय सबै वालवालिकालाई शिक्षाको पहँुचमा पु¥याउनु रहेको हुन्छ । तर, नियमित शिक्षालाई प्रभावित पार्ने सरोकारवालाको गतिविधीले फेरीपनि निजी शिक्षालाई प्रोत्साहन र सरकारी शिक्षालाई निरुत्साहन गर्ने निश्चित छ ।