एजेन्सी/ बिहारका मुख्यमन्त्री नीतीश कुमारमाथि बिहीबार पटनामा चप्पल प्रहार भएको छ । युवा जनता दल (यू) को कार्यक्रममा सहभागी नीतीश कुमारमाथि चप्पल प्रहार भएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

मुख्यमन्त्रीमाथि प्रहार गरिएको चप्पल डायससम्म भने नपुगेको आजतकले उल्लेख गरेको छ । पटना प्रहरीले यो मामिलामा चन्दन नाम गरेका एक युवालाई पक्राउ गरेको छ । यो घटनापछि केहीबेर कार्यक्रम बिथोलिएको थियो । प्रहरीले आरोपी युवालाई समातेर कार्यक्रम स्थानभन्दा पर लगेको थियो ।

समाचारका अनुसार यो घटना बापू सभगार कार्यक्रमअन्तर्गत भएको हो । पक्राउ परेका युवा चन्दन तिवारी औरंगाबादका स्थानीय हुन् । आरक्षणको विरोध गर्दै ती युवाले मुख्यमन्त्रीमाथि चप्पल प्रहार गरेको बताइएको छ । चप्पल प्रहार गर्ने युवा स्थानीय सवर्ण सेनाका कार्यकर्ता रहेको बताइएको छ ।