विराटनगर/ मोरङको कानेपोखरी गाउँपालिकामा – ६ मुलगाउँकी माया गहतराज आँखामा समस्या आएपछि उपचारको लागि विराटनगरस्थित कोशी अञ्चल अस्पताल आइन् ।

पूर्जा काटन लाइनमा बसिन् । जब पालो आयो र उनले आफनो समस्या राखिन् । काउन्टरका कर्मचारीले यहाँ आँखाको उपचार गर्ने विशेषयज्ञ चिकित्सक नभएको जानकारी गराए । माया बाध्य भएर विराटनगरको निजी अस्पतलामा महङगो शुल्क खर्चेर उपचार गरि गन्तब्यतर्फ लागिन् । ‘सस्तोमा उपचार हुन्छ भनेर सरकारी हस्पिटल आए,’ उनले भनिन्, ‘सरकारी हस्पिटलको अवस्था बेहाल रहेछ । लामो समयदेखि आँखाको उपचार गर्ने चिकित्सक छैन रहेछ ।त्यही भएर निजी हस्पिटलमा उपचार गरे ।’

सस्तो शुल्कमा उपचार हुने भएकोले कोशी अस्पताल धाएर यसरी सम्बन्धित रोगको विशेषयज्ञ चिकित्सक नभएर फर्किने माया मात्र एक्ली भने होइन् । दैनिक २०÷३० जनासम्म विरामीहरु फर्किने गरेका छन् । यस हिस्पटलमा दरबन्दी अनुसारको विशेषयज्ञ चिकित्सक नहुँदा सर्वधारणले महङगो शुल्क तिरेर निजीमा उपचार गर्न बाध्य छन् ।

मेडिकल कलेजको रुपमा विस्तार गर्ने तयारीमा रहेको यस अस्पतालबाट सर्वसाधारणले चिकित्सक अभावमा प्रभावकारी सेवा प्राप्त गर्न सकेका छैनन् । अस्पतालमा ११ औं, ८÷९ औं र मेडिकल अफिसियर गरि ३६ जना डाक्टरको दरबन्दी खाली छ । अस्पतालमा प्रमुख कन्सल्ट्यान्ट डाक्टरहरुको भने खडेरी नै परेको छ ।

प्रमुख कन्सल्ट्यान्स फस्ट क्लास चिकित्सकका लागि ११ औं तहका १९ जनाको दरबन्दी भएपनि अहिले जम्मा ६ जना मात्र कार्यरत छन् । आँखाको विशेषयज्ञ चिकित्सवकसहितको १३ जनाको दरबन्दी बर्षौंदेखि खाली छ ।

कोशी अञ्चल अस्पताललाई प्रदेश १ को अस्पतालको रुपमा विकास गर्ने पहलसंगै वीर अस्पतालसंग सम्झौता गरेर यसै आर्थिक वर्षदेखि एमडि कोर्षको अध्ययन सुरु गर्ने अन्तिम तयारी थालिएको छ । त्यस्तो अवस्थामा अस्पतालसंग वरिष्ठ कन्सल्ट्यान्स डाक्टरहरुको पुरै अभाव रहँनुले सकारात्मक सन्देश भने दिएको छैन ।अस्पतालमा एनेस्थेसिया, अर्थोपेडिक, डेण्टल सर्जन, फिजिसियन, जनरल सर्जन, अप्थोलोजिष्ट, प्याथोलोजिष्ट, वरिष्ठ अस्पताल नर्सिङ प्रशासन (मेट्रोन), ग्यास्ट्रोलोजिष्ट, नेफ्रोलोजिष्ट, प्रमुख कन्सल्टेन्स, मेडिकल ल्याव प्याथोलोजिष्ट र क्यान्सर रोग परिक्षक(एफएनएसि) पदका विशेषज्ञहरु अस्पतालमा छैनन् ।

ति दरबन्दी बर्षौंदेखि खाली रहेको अस्पतालले जनाएको छ । अस्पतालमा जम्मा छ जना कन्सल्ट्यान्ट चिकित्सक मात्र छन् ति मध्ये पनि केही अन्यत्र काजमा रहेका छन् ।वरिष्ठ कन्सल्ट्यान्स तर्फ ९ औं र १० औं तहको ४२ दरबन्दी मध्ये १९ जनाको दरबन्दी पनि खाली छ । रेडियोलोजिष्ट, न्यूरोलोजिष्ट, युरोलोजिष्ट, न्युरो सर्जन, कार्डियोलोजिष्ट, कार्डियो सर्जन, नेफ्रोलोजिष्ट, डर्माटोलोजिष्ट, ग्यास्ट्रोलोजिष्ट, डेन्टल सर्जनको ३ दरवन्दीसहित १९ जना चिकित्सक अभाव रहेको छ ।

मेडिकल अफिसर तर्फ चार जना र स्टाफ नर्स तर्फ ४ जनाको दरबन्दी अहिले पनि खाली रहेको अस्पतालका सूचना अधिकृत बिष्णुबहादुर बुढाथोकीले जानकारी दिए ।११, ८÷९ औं तहका विशेषयज्ञ डाक्टर दरबन्दी अनुसारको नहुँदा उपचारमा समस्या आएको अस्पतलाका सुपरीडेन्डेन्ड डा. रोशन पोखरेलले स्वीकार गरे । अस्पतालमा अहिले रहेको विशेषयज्ञ चिकित्सवहरुबाट सेवा प्रदान गर्दै आएको उनले बताए । ‘खाली रहेको दरबन्दीको लागि मन्त्रालयमा माग गरेका छौं,’ अहिलेसम्म पुर्ती भएको छैन ।’ रिक्त रहेको दरबन्दीको लागि प्रदेशको सामाजिक विकास मन्त्रालयमा समेत जानकारी गराएको उनले बताए ।

अस्पतालले विभिन्न समयमा राजनीतिक नेतृत्व तथा सरकारका मन्त्रीहरुलाई विशेषज्ञ सेवा प्रवाहकालागि जनशक्ती उपलव्ध गराइदिन आग्रह गर्दै आएको भएपनि परिपुर्ती भने भएको छैन । प्रमुख कन्सल्ट्यान्टहरुको अभावमा कोशी अञ्चल अस्पताल अहिले रेफरल अस्पतालको रुपमा चलिरहेको छ । अस्पतालमा दैनिक सरदर १ हजार २ सय ५० जना बिरामीहरु स्वास्थ्य जाँचकालागि आउने गरेका छन् भने ३ सय ५० शैंयाका विभिन्न वार्ड सधैँ भरिभराउ हुने गरेको छ ।

अस्पतालमा प्रदेश सरकारले दक्ष चिकित्सक तथा अन्य स्वास्थ्यकर्मी पठाउनको लागि अहिलेसम्म कुनै चासो नदेखाएको बताइएको छ । बरु सामाजिक विकास मन्त्रालयले नामै उल्लेखर गरेर रिक्त रहेको कार्यालय सहयोगी पदमा भने नियुक्त गर्न दबाद दिने गरेको छ । मन्त्रालयको दबाबमा १० जना कार्यालय सहयोगि र एक जना सहायक डाइटिसियन पदमा एक महिनाको लागि करारमा अस्पतालले नियुक्ति गरेको छ ।