[caption id="attachment_81518" align="alignnone" width="810"] सांकेतिक तस्विर[/caption]

विराटनगर/मन्त्रालयको दबावमा विराटनगरस्थित कोशी अञ्चल अस्पतालमा कार्यालय सहयोगी नियुक्त गर्ने तयारी भएको छ ।  सरकारले दरबन्दी अनुसार दक्ष चिकित्सक तथा स्वास्थ्यकर्मी नपठाइरहेको बेलामा भने कार्यालय सहयोगी मन्त्रालयको दबावमा नियुक्त गर्ने तयारी भइरहेको हो । कोशी अञ्चल अस्पतालमा ११ जना कार्यालय सहयोगी र एकजना सहायक डाइटिसियन गरी १२ जनालाई नियुक्त गर्न प्रदेश १ को सामाजिक विकास मन्त्रालयले दबाव दिएको स्रोत बताउँछ । यता अस्पताल प्रशासनले भने दुईजना नियुक्त गरेको छ ।

५३ जना कार्यालय सहयोगीको दरबन्दी रहेको यस अस्पतालमा १३ जना कार्यालय सहयोगी र १ जना डाइटिसियनको दरबन्दी खाली रहेको थियो । रिक्त दरबन्दीमा १४ जनाको नियुक्ति गरेको छ । मन्त्रालयले कार्यालय सहयोगीमा सिफारिस गरेको सुवास निरौला, सीतादेवी कामत, अनिरुद्र राजवंशी, दिनेश कामत, मो. जावेद आलम, मैयादेवी मैनाली, जयनारायण ऋषिदेव, हरिप्रिया नेपाल, रामकृष्ण राजवंशी, कविता कार्की, अमिता कामत र डाइटिसियनमा समीक्षा दुलाललाई अस्पतालले नियुक्ति गरेको छ । प्रदेशका सामाजिक विकास मन्त्री जीवन घिमिरेका निजी सचिव हिक्मतबहादुर बस्नेतले भदौ २९ गते नियुक्ति गर्न अस्पतालमा पत्र पठाएको स्रोत बताउँछ ।

मन्त्रालयले पत्र पठाएपछि अस्पताल प्रशासनले टिप्पणी उठाएर नियुक्ति गरेको बताइएको छ । ‘मन्त्रीज्यू समक्ष कोशी अञ्चल अस्पतालमा कार्यालय सहयोगी भई काम गर्ने अवसर पाउँ भनी तपशिलका व्यक्तिले निवेदन दिएका छन् । त्यस अस्पतालमा रिक्त कार्यालय सहयोगी पदमा नियुक्ति गरी कामकाजमा लगाइदिनुहोला’ –मन्त्रालयको लेटर प्याड प्रयोग गरी ०२ नम्बरको चलानी नम्बरको पत्रमा उल्लेख छ । मन्त्रालयले पठाएको पत्र अस्पतालले पाएपछि असोज १ गते काममा खटाउने गरी नियुक्त गरिएको अस्पताल स्रोतले जनाएको छ । उनीहरूलाई एक महिनाका लागि सेवा करारमा नियुक्त गरिएको हो ।

कार्यालय सहयोगीमा नियुक्तिका लागि ठाडै पत्राचार गर्ने सरकारका मन्त्रालयले विशेषज्ञ सेवा दिने डाक्टर नियुक्तिका लागि भने पहल नगरेको गुनासो कर्मचारीहरूले गरेका थिए । यस विषयमा प्रदेशका सामाजिक विकास मन्त्री जीवन घिमिरेसँग सम्पर्क गर्ने प्रयास गरिए पनि सम्पर्क हुन सकेन । मेडिकल कलेजको रूपमा विस्तार गर्ने तयारीमा रहेको यस अस्पतालबाट सर्वसाधारणले चिकित्सक अभावमा प्रभावकारी सेवा प्राप्त गर्न सकेका छैनन् ।

कोशी अञ्चल अस्पतालमा स्वीकृत दरबन्दीमध्ये करिब ४५ प्रतिशत चिकित्सकको पदपूर्ति हुन सकेको छैन । अस्पतालमा ३६ जना डाक्टरको दरबन्दी खाली रहेको अस्पतालका सूचना अधिकारी विष्णुबहादुर बुढाथोकीले जानकारी दिए ।