धरान । दशौं स्कुलस्तरीय मनमोहन स्मृति फुटबल प्रतियोगिता शुरू भएको छ । सूर्यमुखी फुटबल क्लबको आयोजनामा शुरू भएको प्रतियोगितामा सुनसरीका २४ स्कुल सहभागी छन् । धरान–१७ स्थित एन्फा एकेडेमीको खेलमैदानमा जारी खेलमा हिबिस्कस बोर्डिङ स्कुलले इटहरीको बेबिलोन स्कुललाई ३–० गोल अन्तरले पराजित गरेको छ । खेलमा हिबिस्कसका जोसेफ राई ह्याट्रिक पूरा गर्दै खेलको म्यान अफ दी म्याचसमेत घोषित भए । सोमबारको खेलमा नमुना स्कुलले सुनसरी क्रिष्टल एकेडेमीलाई ६–१ गोलले हराएको छ । खेलमा नमुनाका अजय ऋषिदेवले ४ गोल गर्दा दीपेश चौधरीले २ गोल गरे । क्रिष्टलबाट एकमात्रै सान्त्वना गोल दीपेश महर्जनले गरे । खेलको म्यान अफ दी म्याच अजय ऋषिदेव घोषित हुँदै ट्रफी पाए । सोमबारकै दोस्रो खेलमा होलिल्याण्ड इन्टरनेशनल स्कुलले कार्मेल स्कुललाई ५–० गोल अन्तरले पराजित गरे । खेलका म्यान अफ दी म्याच खेलाडी शुभम् जिमीले २ गोल गर्दा मिलन श्रेष्ठ, दिवस राई, सागर अधिकारीले १–१ गोल गरे । प्रतियोगिता विजेताले नगद ५० हजार रूपैयाँसहित ट्रफी पाउनेछ भने उपविजेताले नगद २५ हजार रूपैयाँसहित ट्रफी पाउने क्लबका अध्यक्ष सन्तोष तामाङले बताए । प्रतियोगिताको फाइलन असोज १३ गते हुँदै छ । पहिलो पटक क्लबस्तरीय गराएको मनमोहन स्मृति दोस्रो संस्करणदेखि स्कुलस्तरीय गरिएको हो । पहिलो वर्ष १५ हजार रूपैयाँ राशि रहेको प्रतियोगितामा हाल ३५ हजार वृद्धि गरिएको अध्यक्ष तामाङले बताए । दोस्रोमा १५ हजार वृद्धि गरिएको हो ।