मधुमल्ला/मोरङको उर्लाबारीका खोला ठेक्कामा ठूलो चलखेल भएको पाइएको छ । उर्लाबारी नगरपालिकाले ठेक्का आव्हान गरेको छहलर–बहलर शुल्क संकलन सम्बन्धि शीलबन्दी बोल पत्र खाम दर्ता प्रक्रियामा ठूलो चलखेल भएको हो । १९ वटा फारम वितरण भएकामा ४ वटा मात्र दर्ता भएका छन् ।

नगरपालिकाले नगरभित्र रहेका ६ वटा खोलाजन्य पदार्थ निकासीका लागि २ करोड ९१ लाखमा ठेक्का आह्वान गरेको थियो । के एन निर्माण तथा सप्लायर्स, जेएजे निर्माण सेवा प्रालि, जिएफ कन्ट्रक्सन एण्ड इन्जिनियरिङ्ग, बेदकृष्ण सप्लायर्स र रेनता निर्माण सेवाका प्रतिनिधिहरुलाई फारम दर्ता गराउन रोकेको भन्दै उनीहरुले सोमबार पत्रकार सम्मेलन गरेका छन् । नियोजित रुपमा ठेकेदार भीम पौडेलसँग ‘सेटिङ’ मिलाएर अन्य फारम दर्ता हुनबाट रोकेको भन्दै जे.एन.जे. निर्माण सेवा दमकका राजकुमार थापाले टेण्डर प्रक्रिया खारेज गरी नयाँ टेण्डर खुलाउन माग गरेका छन् । आफूले ४ करोड ५१ लाख रुपैयाँको टेण्डर हाल्न जाँदा ‘चुल्ठेमुल्ठे गुन्डा’हरु प्रयोग गरी फाराम दर्ता गर्न नदिएको उनले बताए । ‘मैले सम्पूर्ण प्रक्रिया पुर्याएर टेण्डर हाल्न लागेको थिएँ’ उनले भने । खोला ठेक्का बोलपत्र बुझाउने अन्तिम दिन सोमबार इटहरीका निर्माण व्यवसायी भीम पौडेलले केही गुण्डाहरु प्रयोग गरेर बोलपत्र फारम दर्ता गर्न नदिएको थापाले आरोप लगाए ।

‘नगरपालिकाको मुख्य गेट नै बन्द गरेर केही गुण्डा प्रयोग गरेर हामीलाई बोलपत्र फारम दर्ता गर्न दिईएन’ उनले भने–‘नगर प्रहरीले माथिको आदेश भन्दै फारम बुझाउन जानबाट रोके ।’ त्यस्तै, के.एन. निर्माण सेवा रतुवामाई नगरपालिका – १० का संचालक ख्याम निरौलाले २ करोड ९१ लाखमा आह्वान गरिएको ठेक्का ४ करोड १ रुपैयाँमा लिने बोलपत्र फारम दर्ता गर्न जाँदा रोक लगाईएको बताए । केही हुलहुज्जत र गुण्डाहरु प्रयोग गरेर बोलपत्र फराम दर्ता गर्न नदिईएको उनले आरोप लगाए । अघिल्लो दिन १९ वटा बोलपत्र फारम वितरण भएकोमा षड्यन्त्र गरेर ४ वटालाई मात्र दर्ता गर्न दिईएको उनको भनाई छ । आफुहरुलाई बोलपत्र फारम दर्ता गर्न जाँदा प्रहरी प्रशासनले समेत सुरक्षा नदिईएको उनको भनाई छ । बोलपत्र फारम बुझाउन जाँदा नगर प्रहरीले माथिको आदेश चाहिन्छ भनेर भनियो निरौलाले भने – ‘नगरपालिकाले यो ठेक्का पक्रिया रद्ध गरेर अर्काे आह्वान गर्नुपर्छ ।’

आफुहरुलाई खोला ठेक्का बोलपत्र फारम दर्ता गर्न नदिईको भन्दै नगरपालिकाको न्यायिक समितिमा उजुरी दर्ता गरिएको जिएफ कन्ट्रक्सन एण्ड इन्जिनेरीङ्गका सञ्चालक जगतबहादुर राईले बताए । फाराम दर्ताका गर्न जाँदा ‘चुल्ठेमुल्ठे गुन्डा’हरुले आफ्ना फाराम च्यातिदिएको उनले बताए । प्रहरीले समेत सुरक्षा नदिएको भन्दै उनले आपत्ति जनाए । उर्लाबारी नगरपालिकाले नगरका मावा, बक्राहा, सोल्टी, सुनझोडा, मिक्लु र नुनसरी खोलाको खोलाजन्य पदार्थ निकासीका लागि ठेक्का आह्वान गरेको थियो । उर्लाबारी नगरपालिकाका प्रमुख खड्ग फागोले एक महिनाअघि देखि नै ठेक्का आह्वान गरिएकाले अन्तिम दिन बुझाउन पाईन भन्नुको अर्थ नरहेको बताए । उनले नगरपालिका बाहिर दुई पक्षबीच भएको घटनाका विषयमा थाहा नभएको बताए । यता उर्लाबारी नगरपालिकाका नायब सुब्बा भरत अधिकारीले ४ करोड रुपैयाँ सम्मको ठेक्का परेको र प्रक्रिया हेरी ठेक्काको टुंगो लाग्ने बताए ।

यता इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक रामप्रसाद तिमल्सिनाले आफूलाई ठेक्का प्रक्रियाका बारेमा कुनै जानकारी नदिएको र पछि तालुक कार्यालयबाट खबर प्राप्त हुन साथ नगरपालिका पुगेको बताए ।