भद्रपुर । झापा जिल्ला अदालतबाट मुद्दा फैसला भएका मध्ये २७ सय ९७ जना अभियुक्त अझै फरार रहेका छन् ।

विभिन्न मुद्दामा अदालतबाट दोषी ठहरिएका उनिहरुलाई आर्थिक वर्ष ०७४।०७५ को असार मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको छ । उनिहरुलाइ तोकिएको कैद तथा दण्ड जरिवानाको फैसाला भइसकेको छ । फरार रहेका अभियुक्तबाट करोडौ रुपैँया जरिवाना समेत असुल गर्न बाँकी देखिएको अदालतको तथ्याङ्कमा उल्लेख छ ।

अदालतले उपलब्ध गराएको तथ्याङ्क अनुसार जिम्मेवारी सरेर आएको सहित गत आर्थिक वर्ष ०७३।७४ मा कैदमात्र लागेका ,जरिवाना मात्र लागेका र दुवै लागेका २४ सय ११ र विदेशी २ सय ९२ समेत गरी २७ सय ३ जना फरार रहेका छन् । त्यसैगरी आर्थिक वर्ष ०७४।७५मा मात्र ५ सय ९२ जना गरी ३२ सय ९५ जना फरार रहेको तथ्याङ्कले देखाएको छ । जसमध्ये पन्ध्र विदेशी सहित ४ सय ९८ जनालाइ पक्राउ गरी जरिवाना असुल गरिसकेको फाँट कर्मचारी नवराज पोखरेलले जनाए । ०७५ असार मसान्तसम्म २७ सय ९७ जना दोषी फरार रहेको उनको भनाइ छ । पक्राउ गरेर असुली गर्न अदालतले अभियान चलाएको उनले जनाए । विभिन्न मुद्दामा अदालतले दोषी ठहर गरी जरिवाना तोक्ने गरेको उनको भनाइ छ । वार्षिकरुपमा हुने करोडौं रुपैया जरिवाना देखिएपनि असुल भने थोरैमात्र हुने गरेको छ । सर्वोच्च अदालत फैसला कार्यान्वयन निर्देशनालयबाट तराइका जिल्लामा गठित विषेश अभियान अन्र्तगत अदालत कर्मचारीको नेतृत्वमा प्रहरी टोलीले पक्राउ गरी असुल उपर गराउने कार्यलाइ निरन्तरता दिएको अदालतले जनाएको छ । गाउँघरबाट पक्राउ गरी ल्याएका र पूरानो जिम्मेवारी अनुसार रकम असुल हुदै आएको तहसिलदार चित्रखर अधिकारी बताउँछन् ।

३२ करोड १९ हजार ५ सय ३ रुपैया उठाउन बाँकी जिल्ला अदालतले मुद्दा फैसाला पश्चात फरार अभियुक्तबाट करोडौ रुपैँया रकम असुल गर्न बाँकी रहेको जनाएको छ । गत आर्थिक वर्ष २०७३।०७४मा जिम्मेवारी सरेर आएको समेत २५ करोड ३ लाख १३ हजार ७ सय ६ रुपैया मध्ये ८ करोड २३ लाख ६ हजार २ रुपैया असुल भएको थियो ।

त्यसैगरी आर्थिक वर्ष ०७४।०७५ मा जिम्मेवारी सरेर आएको समेत गरी २० करोड ४७ लाख ८८ हजार १ सय ६ कैद जरिवाना उठाउन देखिएकोमा ५ करोड २७ लाख ७६ हजार ३ सय ७ रुपैया असुल भएको छ । दुइवर्षको तथ्याङ्कलाइ हेर्ने हो भने ४५ करोड ५१ लाख १ हजार ८ सय १३ रुपैयामा १३ करोड ५० लाख ८२ हजार ३ सय ९ रुपैया असुली भई ३२ करोड १९ हजार ५ सय ३ रुपैया चालु आर्थिक वर्ष ०७५।७६ मा नयाँ जिम्मेवारी सरेर आएको तहसिलदार अधिकारीले जानकारी दिए ।

४६ सय ६१ वर्ष ६ महिना १३ दिन असुली हुन बाँकी जिल्ला अदालतबाट कैद समय तोकेको मध्ये ४६ सय ६१ वर्ष ६ महिना १३ दिन अझै असुली गर्न देखिएको छ । अदालतका तहसिलदार चित्रखर अधिकारीले दिएको जानकारी अनुसार गत आर्थिक वर्ष ०७३।०७४ मा जिम्मेवारी सरेर आएका समेत गरी ४६ सय १८ वर्ष ६ महिना २४ दिन मध्ये ४ सय १ वर्ष ५ महिना ८ दिन फछर्यौट भएको जनाए । त्यसैगरी ०७४।०७५ मा फछर्यौट हुन बाँकी समेत गरी ५८ सय ९७ वर्ष १० महिना २५ दिनमा ८ सय ३४ वर्ष ११ महिना ४ दिन फछर्यौट भएको उनले जनाए । ३२ सय ९५ जना कैद मध्ये ४ सय ९८ जनाबाट यो असुल भएको उनको भनाइ छ । अझै २७ सय ९७ कैदबाट लागत असुल गर्न बाँकी रहेको उनले बताए ।