बेलबारी । मानवीय सहयोगको भावना फराकिलो बनाउँदै जाने हो भने मानिसले जस्तो सुकै आपत्विपत्मा पनि सहायता पाउँदो रहेछ । मोरङ बेलबारी–२ लालभित्ती निवासी बोल्न नसक्ने ५५ वर्षीय राजकुमार राईले पनि यस्तै सहायताको महसुस गर्ने मौका पाएका छन् । सधैँ लालभित्ती आसपासमै देखिने राजकुमार राई र उनकी दिदी लामो समय सम्म देखिएनन् । बेलबारी–२ लालभित्तीमा सामाजिक सुरक्षा भत्ताको परिचय–पत्र बनाउने क्रमसँगै उनीहरूको खोजी भयो । खोजीको क्रममा उनीहरू केराबारी–९ भलुवाको एउटा घरको अध्याँरो कोठामा भेटिए । रोगी शरीरमा घाउ पाकेर ओछ्यान र कोठा सबै दुर्घन्धित अवस्थामा उनीहरू भेटिए । कोठाभित्र जानै नसक्ने गरिको दुर्घन्धमा बसेका राजकुमार राईलाई कोठा बाहिर निकालेर नुहाइधुवाइ गरिदिए बेलबारी–२ का जनप्रतिनिधि खिना बस्नेत र कृष्ण लिम्बूले । राजकुमारको मेरुदण्डको तल्लो भागमा घाउ पाकेर दुर्घन्धित भइसकेको रहेछ । उनीहरूले राजकुमारको उपचारको लागि बेलबारी नोबेल अस्पतालमा एम्बुलेन्समा ल्याए । तर घाउको दुर्घन्धको कारण देखाउँदै त्यहाँका स्वास्थ्यकर्मीहरूले राख्न मानेनन् । त्यसपछि उनीहरुले कोशी अञ्चल अस्पतालमा लगे । त्यहाँ पनि डाक्टरहरूको उपचारमा तदारुकता नदेखाएपछि उनीहरूले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगे । अहिले त्यहाँ राजकुमार राईको उपचार भइरहेको छ । उनको स्वास्थ्यमा क्रमिक रूपमा सुधार आइरहेको छ । राजकुमार राईको दिदीको पनि बसोबासको लागि उनीहरूले पहल गरिरहेका छन् । मोरङको बेलबारी–२ लालभित्तीमा बस्दै आएका राजकुमार राई र उनका दिदी दुवै अपाङ्ग छन् । उनीहरूको बोली आउँदैन । उमेर छँदा दाउरा बोकेर गुजारा चलाउँदै आएका दिदीभाई उमेर ढल्कँदै गएपछि मागेर खान विवश भए । अझ बुबाआमाको मृत्यु भएपछि अपाङ्ग दिदीभाइको जीवन अझ अन्धकार बन्दै गयो । प्रकृतिको लीला पनि कस्तो अपाङ्ग दिदीभाइका आमाबुवा पनि दुवै जना दृष्टिविहीन थिए । उनीहरूको मृत्यु पछि राजकुमार राई र उनका दिदीको विजोग नै भयो । उनका बुवाले राजकुमार राईको नागरिकता चाहिँ बनाइदिएको रहेछ । अनि एक कट्ठा जमिन पनि उनको नाममा जोडी दिएको रहेछ । त्यो नागरिकता र पूर्जा लालभित्तीकै समारबहादुर लिम्बूले राखिदिएको छ । उनले गाउँलेकै सहयोगमा तिरो पनि तिरीदिँदै आएको बुझिएको छ । पछि मागेर खान सक्ने पनि स्थिति नभएपछि उनीहरू आफन्त खोज्दै हिँडे । यसै क्रममा केराबारी–९ भलुवामा पुगेर एउटा घरमा बसेका रहेछन् । घरमा बस्दाबस्दै शारीरिक अवस्था पनि कमजोर हुँदै गएपछि राजकुमार राई ओछ्यानमा परेका थिए । एउटा अध्याँरो कोठामा महिनौँदेखि भोकै तिर्खै लडिरहे पछि स्थानीयले उपचार र रासन पानीको लागि चन्दा सङ्कलन गरेका छन् । उनीलाई निकै अगाडि साहरा बालग्राममा राख्न ल्याएका कारण पूर्व सांसद हर्कमान तामाङले पनि पहिचान गरिरहेका थिए । तर बालग्राममा वयस्कलाई राख्न नमिल्ने भएका कारण उनीहरू त्यहाँ बस्न पाएनन् । तर ती अपाङ्ग दिदी भाइलाई केही गरिदिन पाए हुन्थ्यो भन्ने पहिले देखि नै सोचिरहेको पूर्वसांसद तामाङको पनि भनाइ छ । तर आफूले भनेको ठाउँमा व्यवस्थापन गर्न नसकिए पनि सामाजिक सुरक्षा भत्तासम्म बनाइदिऊँ भन्ने सांसद तामाङलाई लागि रह्यो । त्यही आसयले उनको खोजी भएपछि अपाङता भएका दिदीभाइको कारुणिक अवस्था बारे जानकारी पाएपछि जनप्रतिनिधि खिना बस्नेत र कृष्ण लिम्बू उनीसँग नजिक पुगे । अहिले राजकुमार राईको स्वास्थ्य उपचारको लागि विशेषतः विदेशमा रहेका लालभित्तीका युवाहरूले चासो देखाइरहेका छन् । लालभित्ती युवा समुह र बेलबारी सरोकार मञ्चले उपचार खर्च पठाएका छन् । अपाङ्गता राईका लागि बेलबारीका नगरप्रमुख ज्ञानेन्द्र सुवेदीलगायत स्थानीय समाजसेवीले उपचारका लागि चासो देखाएका छन् । उनको उपचार सहयोगका लागि स्थानीय स्तरमा पनि सहयोग सङ्कलन गरिने लालभित्ती निवासी रञ्जित गुरुङले बताए ।