नेपालमा राज्यको पुनर्संरचनामा संविधानले निर्दिष्ट गरेका सात प्रदेशका नाम र तिनको राजधानी निक्र्याैल गर्ने विषय संवेदनशील विवाद बनिरहेको अवस्था छ तर यसका बीचमा पनि ४ नम्बर र ६ नम्बर प्रदेशको निर्णय जनचाहना अनुरुप कम विवादित भएर निरुपण र निक्र्यौल भइसकेको देखिन्छ । तापनि बाँकी प्रदेशहरुको निर्णय प्रक्रिया छलफल, अध्ययन एवम् अनुसन्धानमार्फत् चलिरहेकै छ । प्रदेश नं. १ को राजधानीका सम्बन्धमा निकै अगाडिदेखि विविध कोणबाट छलफल, अध्ययन प्रतिवेदनहरु प्रकाशन भैआएका छन् । हाल प्रदेशको नामाकरणको विषयमा पनि धनिभूत छलफल चलिरहेको सञ्चार माध्यमहरुबाट थाहा हुन्छ । नाम भनेको शीर्ष पहिचान हो र त्यो साझा पहिचान प्रदेशका अधिकांश क्षेत्रको प्रतिबिम्ब स्वरुप अपनत्व ग्रहण गर्ने नामाकरण हुनु उपयुक्त हुन्छ । एक नम्बर प्रदेशको प्रस्तावित नाम चर्चामा आएका नामहरु (सगरमाथा प्रदेश, कोशी प्रदेश, विराट प्रदेश, किरात प्रदेश, कञ्चनजङ्घा प्रदेश, विजयपुर प्रदेश, लिम्बुवान प्रदेश, खम्बुवान प्रदेश, कोचिला प्रदेश आदिको आ–आफ्नै ऐतिहासिक, सांस्कृतिक, भौगोलिक एवम् अर्थ राजनीतिक महत्व छ । प्रस्तावित विकल्पहरुमध्येको एक प्रदेशकै भावनात्मक सम्बन्धलाई पनि समेट्ने साझा नाम जुराउनु पर्ने हुन्छ । प्राकृतिक एवम् समाजिक विविधताका बीचको एकतालाई व्यापकतामा समेट्न नामको छनोट कुनै पूर्वाग्रहविना गरिनु उपयुक्त हुन्छ भन्ने विचार प्रखर हुनु पर्दछ । उपर्युक्त सन्दर्भमा सबैभन्दा व्यापक परिवेशलाई समेट्ने साझा पहिचानको नाम कोशी प्रदेश हुनु उपयुक्त हुन्छ भन्ने जिज्ञासाको सन्दर्भमा तथ्यहरुको प्रस्तुति र परिवेशको विश्लेषण गर्ने प्रयास गरिएको छ । धेरै अधिदेखि नेपाललाई भौगोलिक एवम् प्रादेशिक विभाजन गर्दा पूर्व–पश्चिमतर्फ (कोशी प्रदेश, वागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश भनेर नदी प्रवाह प्रणालीको आधारमा क्षेत्र वा प्रदेशको नामाकरण तथा उत्तर–दक्षिणमा (हिमाली प्रदेश, पहाडी प्रदेश र तराई–मधेश प्रदेश) नामाकरण गरिएको पुरानो र प्रचलित प्रादेशिक विभाजन हो । प्रस्तावित कोशी प्रदेशका चौध जिल्लाहरुमध्ये तीन जिल्ला (मोरङ, झापा र इलाम)बाहेक सबै जिल्लाहरु कोशी नदीको प्रवाह प्रणाली अन्तर्गत छन् । पूर्वमा कञ्चनजङ्घा–सिंहलीला पर्वत शृङ्खलादेखि पश्चिममा गौरीशङ्कर –रोलवालिङ हिमाल, नगरकोट, फूलचोकीको पूर्वी पानी ढलोसम्म र उत्तर दक्षिणमा हिमालदेखि तराई–मधेशका फाँट भारतको सीमानासम्म कोशी नदी जल प्रवाहको प्राकृतिक प्रदेश फैलिएको छ । आजभन्दा ५ करोड वर्षअगाडि धर्तीको भौगर्भिक हलचल प्रक्रियामा दक्षिणको डेक्कनपठार मुनिको प्लेट उत्तरतर्फ सर्दै युरोशियन तिब्बती पठारको प्लेटसँग ठोक्किन पुगेपछि टेथिस नामको सागर विलुप्त हुन्छ । समुद्रमा थिग्रिएका मुलायम चट्टानमा दबाव परेपछि हिमाल पर्वतसमेत महाभारत र चुरे पर्वत शृङ्खला उठेका हुन् । यो पर्वत निर्माणको क्रमसँगै अझ त्योभन्दा अघि कोशी नदीको उत्पत्ति भएकाले हिमालभन्दा जेठो हो कोशी नदी । यो नदी तिब्बतको पठारबाट हिमालय छिचोल्दै दक्षिणतर्फ बग्दै आएको हो । भौगोलिक इतिहासका विविध कालखण्डदेखि मानव सभ्यताको विकाससम्म जलचर, थलचर, उभयचर अर्थात् पशुपंक्षी, जनावर, मानव सबै जीवनयापन, अन्तरसम्बन्ध र अन्तरनिर्भरताको लागि कोशी तथा यसका सहायक नदी प्रणालीका आसपास विचरण गरिआएको अवस्था हो । नदी प्रणालीको आसपासबाटै मान्छेसमेत सबै जीवको उँधौली–उँभौली चलिआएको छ । वर्तमानमा प्रदेशका सबै जिल्लाहरुबीच सामाजिक, साँस्कृतिक एवम् अर्थराजनीतिक अन्तरसम्बन्ध र अन्तरनिर्भरता सघन रूपमा छ । अन्य प्रदेशको तुलनामा १ नं. प्रदेश सामाजिक, राजनैतिक एवम् आर्थिक गतिविधिमा अग्रणी रहिआएको छ । समुद्र सतहबाट माथिको ५८ मिटर कचन कवलदेखि ८,८४८ मिटरको सगरमाथासम्मको भू–प्राकृतिक एवम् जैविक विविधताले भरिएका भू–सतहमा प्रकृतिका उपहारहरुको असीमित उपभोगका सम्भावना विद्यमान छन् । तिनको पहिचान, व्यवस्थापन र प्रवद्र्धन गर्दै जानु पर्छ । विकास र समृद्धिका प्रचुर सम्भावनाहरुमध्ये कोशी नदी प्रणालीको जलसम्पदा प्रमुख छ । बसोबासका क्षेत्रहरुसमेत कृषि तथा अन्य आर्थिक क्रियाकलाप कोशी र अन्य सहायक नदी उपत्यका अन्तर्गत अवस्थित र सञ्चालित छन् । नदी करिडोर र आसपासमै सडक सञ्जाल समेतका पूर्वाधारहरु निर्माण भइरहेका छन्  । चीन–तिब्बतको पठारदेखि गङ्गाको मैदान जोड्ने बहुराष्ट्रिय कनेक्टिभिटी सडक करिडोर कोशी–अरुण करिडोरबाटै हुँदैछ । नदी, उपत्यका र पहाडी हिमाली क्षेत्रमा अथाह जलस्रोत विकास र पर्यटक उद्योगको सम्भावना छ । कोशी र त्यसका सहायक सप्तकोशीका उपत्यका जल प्रवाह क्षेत्रहरुले जति प्रकृतिका साथै मानवीय गतिविधिको व्यापकता अरु प्रस्तावित शीर्षकका नामहरुले समेट्न सक्तैनन् । कोशी–उत्पत्ति इतिहास र वर्तमानको प्रदेशको धमनी हो । कोशी–सभ्यताको उद्भव विकास र भविष्य हो । सगरमाथा प्रदेशको तथा नेपालकै गौरव हो । यसको पहिचान र नामाकरण अघिल्लो शताब्दीमा मात्रै भएको हो । अघिदेखि नै सगरमाथालाई स्थानीय बोलीमा चोमोलुङ्मा भनिन्थ्यो । अन्य साँस्कृतिक, ऐतिहासिक एवम् क्षेत्रीय नामाकरणहरुले समग्रमा हिमाल, पहाड तथा तराई–मधेसको व्यापक र सघन अन्तरसम्बन्धको मनोविज्ञानलाई प्रतिबिम्बित गर्नसक्ने सम्भावना देखिन्न । अतः कोशी प्रदेश नामाकरण नै भौगौलिक, ऐतिहासिक, साँस्कृतिक एवम् अर्थ र राजनीतिक सम्बन्धको व्यापकतालाई समेट्न शीर्ष पहिचान हुन सक्छ भन्ने अभिमत जाहेर गरिन्छ । यस विषयमा सम्बन्धित निकाय, सभासद् र सचेत जनसमुदाय बेलैमा सचेत हुनुपर्छ । लेखकः सेवा निवृत्त प्राध्यापक, भूगोलविद् हुन्  ।