पानवारी । धरानमा पछिल्लो समय लागु औषधका प्रयोगकर्ता र कारोबारी बढेको भन्दै सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् ।

शुक्रबार जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय धरानको संयुक्त आयोजनामा धरानको भानुचोकमा भएको नागरिक सुनुवाई कार्यक्रममा उपस्थित नागरिकहरुले लागु औषधको समस्या धरानमा घट्नुपर्नेमा झनै बढ्दै गएको भन्दै चिन्ता व्यक्त गरेका छन् । धरान–१५ निवासी रमेश विकले सार्वजनिक सुनुवाई कार्यक्रममा काठे पुलदेखि खोरीया बस्तीसम्मको क्षेत्रमा पर्ने सेउती खोलाको किनारमा लागुऔषध प्रयोगकर्ता र कारोबारी बढेको भन्दै त्यसलाई नियन्त्रण गर्न प्रहरीलाई अनुरोध गरे । कार्यक्रममा उपस्थित अर्की महिलाले धरानका अधिकांश औषधी पसलबाट लागु पदार्थको रुपमा प्रयोग हुने औषधीहरु स–साना बालबालिकालाई विक्री गरिहरेकोले बालबालिका समेत लागुऔषधमा फस्दै गएको भन्दै चिन्ता व्यक्त गरिन् । उनले औषधी पसल सञ्चालकलाई चिकित्सकको प्रेस्किप्सन बिना त्यस्ता औषधी बिक्रि नगर्न अनुरोध समेत गरिन् ।

कार्यक्रममा सम्बोधन गर्दै जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी राजन अधिकारीले सुनसरीमा सबैभन्दा बढी लागुऔषधको मुद्दा आउने गरेको बताए । उनले पछिल्लो २ महिनामा मात्रै सुनसरीबाट ९० पुरुष र ३ महिलालाई लागुऔषधको कारोबारमा संलग्न भएको आरोपमा पक्राउ गरेको बताए । उनले सुनसरीबाट एक वर्षको अवधिमा १ करोड ५ लाख भन्दा बढी जरिवाना संकलन गरेको र सुनसरीबाट १ करोड ९ लाख मूल्यभन्दा बढीको भन्सार छली गरेको सामान बरामद गरेको बताएका थिए ।

उनले नागरिकसँग प्रहरी कार्यक्रमबाट प्रहरी र नागरिकबीचको सम्बन्ध सुमधुर बनाउने र नागरिकबाट आएका सुझाब आगामी मार्गदर्शनका रुपमा लिइने समेत बताए । इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी समुन तिम्सिनाले अपराधको सूचना सबैभन्दा पहिला नागरिकलाई नै आउने भएकोले प्रहरीले पनि नागरिकसँग सहकार्य नगरी अपराध न्युनिकरण गर्न नसक्ने भन्दै प्रहरी र नागरिकले हातेमालो गरे अपराध मुक्त समाज निर्माण गर्न सकिने बताए ।

कार्यक्रमकी प्रमुख अतिथि धरान उपमहानगरपालिकाकी कार्यवाहक मेयर मञ्जु भण्डारीले कुनैपनि अपराधीलाई उसको पहुचका आधारमा प्रहरीले छुट दिने परिपाटी रहेको भन्दै त्यसलाई पहुँच नहेरी घटनाको प्रकृति हेरेर कार्य सम्पादन गर्न प्रहरीलाई सुझाव दिइन् । उनले प्राकृतिक स्रोतको दोहन गर्नु पनि अपराध भएको भन्दै कुनैपनि खोला नालामा हुने ढुंगा गिट्टी तस्करीमा प्रहरी र मुन्द्रेको मिलेमतो हुने गरेको बताइन् । उनले त्यसबापत आएको पैसा कुनै न कुनै रुपमा लागुऔषध प्रयोग तथा कारोबारमा संलग्न भएको भन्दै यस्तो कुरालाई प्रहरीले गम्भिरतापूर्वक लिन समेत आग्रह गरिन ।