पथरीशनिश्चरे । इटहरी–६ सुनसरीकी निर्मला खत्रीले आफूले दिएको ८ लाख रुपैयाँ फिर्ता लिन ज्यादै गाह्रो परिरहेको अवस्थामा केही रकमको चेक हात पारिन् । चेक भँजाउन बैङ्क पुग्दा बैङ्कमा रकम नभएको ‘बाउन्स चेक’ भएको तथ्य फेला परेपछि उनलाई आफू झनै ठगिएको कुरा थाहा भयो । मोरङको पथरी शनिश्चरेस्थित प्रभु बैङ्कको शाखामा गएर बुझ्दा २ लाख ३४ हजार रुपैयाँको बाउन्स चेक भएपछि बैङ्कले पनि संयुक्त नाममा खाता खोलेका खातावाला सुन्दरहरैंचा–३ घर भई इटहरी बस्ने दम्पती दीपेन्द्र गुरुङ र दीपा गुरुङलाई सो रकम बैङ्कमा हाल्न अनुरोध ग¥यो । पटक–पटक बैङ्क पुगेर बुझ्दा पैसा नहालिएपछि निर्मलाले बैङ्किङ कसुर अन्तर्गत इलाका प्रहरी कार्यालयमा उजुरी गरेपछि उनीजस्ता कैयौंको करोडौं रकम दीपेन्द्रको अगुवाइमा ठगी भएको रहस्य खुलेको छ । प्रहरीले ३५ वर्षीया श्रीमती दीपालाई पक्राउ गरी बैङ्किङ कसुर अन्तर्गत मुद्दा दर्ता गरी ७ दिनको म्याद थप गरेको छ । मिटर ब्याज लिने चक्करमा दीपेन्द्रले निर्मलासँग ८ लाख रुपैयाँ लिएका थिए । ६ महिनापछि चेक नसाटिने भएपछि उनमा चिन्ता बढ्दै गयो । ४ महिनादेखि चेकको पैसा बैङ्कमा आउने आशामा बस्दा पनि पार नलागेपछि निर्मलाले उजुरी दिइन् । अन्य ३–४ जनालाई पनि बाउन्स चेक दिएर ठगिरहेको आफूलाई जानकारी भएको उनले बताइन् । त्यसपछि आफूहरु पनि त्यसरी नै ठगिएको भन्दै दर्जनौंले उजुरी दिएको पथरी प्रहरी प्रमुख कमल बजगाईंले जनाए । दैनिक १ दर्जन जति मानिस आफूहरु दीपेन्द्रबाट ठगिएको भन्दै लेनदेनको कागज देखाउँदै कार्यालयमा आउने गरेको उनले सुनाए । ‘तर लेनदेनको मुद्दा प्रहरीले हेर्न नमिल्ने भएकाले बैङ्किङ कसुरको मुद्दा दर्ता गरेर अनुसन्धान गरिरहेका छौं । योखाले मुद्दा मोरङका लागि नौलो हो’ उनले भने, ‘करोडौं रकम ठगी भएको बुझिन्छ ।’ निर्मलाको जस्तै कैयौंबाट करोडौं रकम उठाएर ठगी गर्नेमध्येका मुख्य दीपेन्द्रलाई प्रहरीले खोजी गरिरहेको छ । दीपालाई इलाका प्रहरी कार्यालय इटहरीले साउन २० गते पक्राउ गरी बैङ्कको कारोबारसँग सम्बन्धित इलाकामा मुद्दाको अनुसन्धान कारबाहीका लागि पठाएको छ । दीपेन्द्रले सस्तो ब्याजमा रकम लिने र एक अर्काे गर्र्दै मिटर ब्याज लिने र पहिले रकम लिएकाहरुलाई नतिर्ने गर्दै आएको निर्मला सहितका पीडितहरुले बताएका छन् । मिटर ब्याजमा रकम सङ्कलन गर्दै आफ्ना गतिविधि रहस्यमय बनाउँदै आएका दीपेन्द्रबाट ताप्लेजुङसम्मका व्यक्तिहरु ठगिएको प्रहरी स्रोतको भनाइ छ । दीपेन्द्रकी श्रीमती दीपा पक्राउ परेको जानकारी पाएपछि ताप्लेजुङ, सुन्दरहरैंचा, इटहरी, धरानसहितका मानिसहरु आफूहरुबाट लगेको पैसा असुल्नका लागि प्रहरी कार्यालयमा धाइरहेका छन् । दम्पतीबाट २ करोड बढी रुपैयाँ ठगी भएको अनुमान छ । ठगिनेमा महिलाहरु बढी रहेका छन् ।