दृश्य अदृश्य समस्याहरू र सरकारको अग्निपरीक्षा

सन्त थलङ

सतहमा देखिएका दृश्यहरुकै आधारमा वास्तविकता पत्ता लगाउने प्रयास गरियो भने कहिलेकाहीँ समस्याको समाधान होइन, समस्या अरु बल्झन बेर लाग्दैन ।

फायलफाेटाे

कहिलेकाहीँ सामान्य रुघाखोकीमात्र ठानिएको रोग गम्भीर रोगको रूपमा प्रकट हुन्छ र बिरामीको ज्यान लिन पनि सक्छ, नभए पनि अपेक्षाकृत उपचारखर्चको भार बढ्न जान्छ । ख्याल–ख्याल गर्दागर्दै कहिलेकाहीँ गम्भीर अवस्था निम्तिन पुग्छ । समय छँदै विचार नपुर्याउँदा कहिलेकाहीँ समाधानका सबै उपायहरु सकिन्छन् । यी सामान्य हाम्रा जीवनमा देखिने, सुनिने, भोगिने परिदृश्यका कुराहरु भए । यो कुरा समाज, राजनीति, राज्यमा पनि उत्तिक्कै लागू भइरहेको हुन्छ । जतिबेला माओवादी विद्रोहको शुरुआती चरण थियो, यो धेरैलाई राजनैतिक प्रहसन जस्तो लाग्यो, सामान्य दमनपश्चात् समाधान हुने समस्याको रूपमा हेरियो । दृश्यमा केही दर्जन युवाहरुले भरुवा बन्दुक, लाठी, खुकुरीबाट जनयुद्ध घोषणा गर्दा कसैले यसलाई राजनैतिक समस्याको रूपमा हेरेनन् । मात्र केही उग्रवामपन्थीहरुको सानो झुण्डको हिंसात्मक क्रियाकलाप ठानियो, तर त्यही विद्रोहले अन्ततः बीसौं हजार नेपालीको ज्यान लियो, देशको राजनैतिक परिदृश्य नै बदलियो । गणतन्त्रको घोषणापछि मधेशमा शुरु भएको सङ्घीयताको मागलाई लिएर भएका विरोधलाई सामान्य असन्तुष्टिको रूपमा लिइयो । अन्ततः त्यहीं सामान्य विरोधका छिटफुट घटनाहरु मधेश आन्दोलनको आँधीमा रुपान्तरण भयो र देशमा सङ्घीयताको स्थापना भयो । यस्ता अनेक राजनैतिक परिदृश्यहरु छन्, जो शुरुमा प्रकट हुँदा कसैले गम्भीर रूपमा नलिए पनि आखिर तिनै साना–तिना झिल्काहरुबाट सल्केको डढेलोले ठूला–ठूला परिवर्तनहरु ल्याउन सफल भएका छन् । यस्ता सामान्य लाग्ने गम्भीर असन्तुष्टि, विद्रोह, राजनैतिक मुद्दाहरुलाई समयमै पहिचान गरेर समस्याको समाधन गर्न सक्नु राजनैतिक नेतृत्वको दूरदर्शिता हो । राजनैतिक सफलता हो ।

आज पनि नेपाली राजनीति सतहमा देखिएजस्तो शान्त बनिसकेको छैन । अनेक असन्तुष्टिहरु, विद्रोहका झिल्काहरु, राजनैतिक मागका झिना लाग्ने स्वरहरु सतहमा उत्तिकै छन्, कतिपयलाई राजनैतिक नेतृत्व, राज्यले बेवास्ता गरिरहेको छ, त कतिपयलाई दमनको नीति अपनाएर बाहिर फैलन दिइरहेको छैन । नेपाली राजनीति सत्ताको अन्धप्रेममा यति धेरै फस्ने गर्छ कि प्रायः समस्याको शुरुआती चरणमा कहिल्यै समाधानबारे सोच्दैन । जब सत्ता नै धरापमा परिसक्छ, तब मात्र सत्ताधारी राजनैतिक अन्धभक्तहरुको होस खुल्छ,जुन समय समाधानको प्राय ढोका बाहुल्य नेपाली राजनीतिको विशेषता नै भने हुन्छ । राजतन्त्र रहेसम्म राजाको मन हरसमय सत्ताको केन्द्रमा रहिरह्यो । कसरी सत्तामा सधैँ टिकिरहने,सत्ताको शक्तिले राज्यको जतिसक्दो दोहन गर्ने भन्ने मात्र ध्याउन्नको परिणाम राजालाई विष्णुको अवतार मानेर पुज्ने नेपाली जनतासमेत राजतन्त्रको विकल्प खोज्न बाध्य भए । प्रजातन्त्र या लोकतन्त्रको नाममा दलहरुको सत्तालिप्साको उत्कर्षमा अनेक लज्जास्पद परिदृश्यहरु सतहमा आए । सत्ताको झिनाझप्टी, सत्ताप्राप्तिको लागि गरिने अनेक षड्यन्त्र, चलखेलका दृश्यहरुले नेपाली जनतालाई रुष्ट बनायो र दलप्रति घोर वितृष्णा जगायो । जसको परिणाम पटक–पटक दलबाहिरबाट सत्तारोहण गर्ने अवसर पनि मिल्यो केहीलाई । विदेशीहरु भने यही दलहरुको सत्तालिप्साको फाइदा उठाउँदै दलहरुलाई आफ्नो इशारामा नचाउन सफल भए ।
आज पनि ढुक्क बन्ने अवस्था बनिसकेको छैन । सत्ताको मात लागेका राजनैतिक नेतृत्वले कुनै पनि समय विवेक गुमाउन सक्छ । या त सत्ताशक्तिको आधारमा जनआकांक्षाहरुलाई कुल्चन सक्छ । यस्तो अवस्थामा फेरि पनि विद्रोहका ज्वालामुखी विष्फोट हुन सक्छ । नेपाली राजनीतिले उल्टो दिशामा हिँड्न सक्छ । जनअपेक्षाहरुलाई लत्याउन सक्छ । यसको निम्ति नागरिक समाज, बुद्धिजीवी, सचेत नागरिकहरुले निरन्तर खबरदारी गर्न जरुरी हुन्छ । नेपाली समाजको चरित्र, मौलिकता, सामाजिक द्वन्द्व, वर्ग, समुदायको असन्तुष्टि, समस्यालाई बुझ्न र तिनको समुचित सम्बोधन गर्न सत्ताधारी दलहरु सधैँ तत्पर रहनु पर्दछ ।

आज पनि नेपाली समाजको चरित्र, समस्याहरुमा आधारभूत रूपमा परिवर्तन भइसकेको छैन । मात्र समृद्धि र विकासका राग मात्र अलाप्नेहरुले यो सत्य बुझ्न जरुरी छ । यसको अर्थ समृद्धि र विकासको आवश्यकता नै छैन भन्ने पनि होइन । तर अब अन्य सबै समस्याहरु हल भइसके, विकास र समृद्धि भए अरु पुग्छ भन्ने मात्र सोचियो भने त्यो अर्को भूल हुनेछ । विगतमा राज्यले विभिन्न समयमा विभिन्न समूहरुसँग गरेका सम्झौताहरुलाई चटक्कै बिर्सिदिने हो भने ती असन्तुष्टिका मुद्दाहरुले पुनर्जीवन नपाउलान् भन्न सकिन्न । आज पनि मधेशकेन्द्रित दलहरु संविधान संशोधन हुने आशामा चुपचाप छन् । जनता पनि ढिलोचाँडो समस्या समाधानको निम्ति सरकारले पहल गर्ने कुरामा थोरै भए पनि आशावादी छन् । यस्तै अन्य समुदाय, क्षेत्र, जातिका असन्तुष्टिहरु पनि छँदैछन् । आज पनि संविधान अनुरुप स्वयम् सत्ता सम्हालिरहेका दलहरु नै समावेशी बन्न बाँकी छ । महिला, मधेशी, जनजाति, दलितलगायत अहिले पनि न सत्तामा, न आफै संलग्न दलहरुबाट आफूले न्याय पाएको अनुभूति गर्न सकिरहेका छन् । राजनैतिक दलहरुले आफैले निर्माण गरेको दलको सिद्धान्त, नीति अनुरुप आफूलाई चलाउन सकिरहेका छैनन् । सत्ता त झन् त्यसै पनि अपेक्षाकृत असमावेशी भएको आवाज उठिरहेछ । यस्तो अवस्थामा कसरी सरकारबाट पूर्ण रूपमा न्याय पाइएला भन्ने जनताले विश्वास गर्ने ? प्रश्न गम्भीर छ ।

आज यी समस्याहरु तपशिलका कुराहरु भनेर पन्छाएर अगाडि बढ्ने हो भने भोलि कुनै न कुनै विन्दुमा यिनै समस्याहरु बल्झेर राज्य फेरि अर्को समस्याको जञ्जालमा फस्न सक्छ । फेरि नेपाली जनताको आक्रोसले विद्रोहको स्वरुप लिन सक्छ । फेरि पनि राजनीति अनिर्णय र अर्कमण्यताको बन्दी बन्न सक्छ । भोलि हुन सक्ने यस्ता समस्याका सम्भावनाहरुलाई अहिले नै सम्बोधन गरेर अगाडि बढ्ने हो भने राज्यले दिगो शान्तिसँगै समृद्धि पनि हासिल गर्न सक्छ । यी र यस्ता विषयहरुमा सत्तारोही दलहरु दूरदर्शी बन्न जरुरी छ ।  नेपाल विकास, समृद्धि र राजनैतिक स्थायित्वको सवालमा सधैँ असफल रहँदै आइरहेको छ । राणाकालको अन्त्य भएको केही समयपछि नै प्रजातन्त्र अपहरित भयो । तीन दशकको पञ्चायतकालले पनि अनेक आरोह अवरोह खेप्यो । प्रजातन्त्रको आगमन भएको दशक नबित्दै माओवादी विद्रोहको सामना गर्नु पर्यो । सङ्घीय लोकतान्त्रिक गणतन्त्रको आगमनको शुरुवातसँगै अनेक आन्दोलनहरू भए । दुई पटकको संविधानसभा चुनावपछि जसरी संविधान बन्यो, त्यो क्षण पनि कम कष्टदायी थिएन । लामो समयको रस्साकस्सी चलेपछि झण्डै अन्तिमतिर संविधान जारी हुँदा पनि केही असन्तुष्टिहरु संविधानमार्फत् नै सम्बोधन गर्न सकिने अवस्थाको बेवास्ता गरिएको दोष संविधान निर्माणमा मुख्य भूमिका खेल्नेहरुमाथि लाग्यो । जसरी फाष्ट ट्रयाकबाट संविधान निर्माण गर्ने अवस्था आयो र संविधान आयो, सँगै मधेश आन्दोलन, भारतीय नाकाबन्दीसम्मका घटनाहरु भए । लामो समय जनताले अनेक समस्या, दुःख झेले । भलै आन्दोलनको नाममा यो वा त्यो तत्वको हात रहेको आरोपहरु लागे पनि सत्य त्यति मात्र अवश्य थिएन । संविधानमा मधेशी जनताको असन्तुष्टि कुनै उक्साहट या भावनात्मक आवेगमात्र थियो भन्नु पक्कै गल्ती हुनेछ । सत्तारोहण मात्र राजनैतिक दलहरुले लक्ष्य बनाउने हो भने समस्या समाधान होइन, झन्–झन् चर्कन सक्छ । राजनैतिक दल र तिनको नेतृत्वमा हुनुपर्ने दूरदर्शिता, समस्यालाई बुझ्ने र समाधानको बाटो पहिल्याउन सक्ने ल्याकत नरहने हो भने अधिनायकवाद जन्मन सक्छ । मुलुक द्वन्द्वमा फस्न सक्छ, भ्रष्टाचार मैलाउँछ या राज्यको औचित्यमाथि प्रश्न उठ्न सक्छ । यी यावत् कुराहरुलाई केलाउने, समस्याको जड पत्ता लगाउने र मुलुकलाई सही मार्गमा हिँडाउन सक्ने नेतृत्वको अपेक्षामा नेपाली जनता अझै धैर्यधारण गरिरहेका छन् ।

यही विश्वास, आशा र सपनामा डोरिएर बाम गठबन्धनलाई चुनावमा बहुमत दिएका पनि हुन । लामो समयको राजनैतिक अस्थिरता, विग्रह, सत्ताको नाममा हुने खेलबाट वाक्क बनेका नेपाली जनताले स्थिर सरकार, सत्ता गठन र विघटनको खेलको अन्त्य, विकास निर्माणका कार्यहरुको गतिशीलता हेर्न यो अवसर प्रदान गरेका हुन् । यसमा राजनैतिक आस्था, सैद्धान्तिक झुकावले मात्र काम गरेको छैन । विगतका चुनावहरुबाट पनि यो कुरा प्रमाणित हुन्छ । नयाँ राजनैतिक शक्तिमाथिको आशामा विगतमा विद्रोही राजनीतिबाट आएको माओवादीलाई पनि बहुमत दिएको नेपाली जनताको विवेकलाई फेरि पनि बाम गठबन्धन हुँदै एउटै दल बनेको बाम नेतृत्वको सरकारले भुल्ने गल्ती गरेका नेपाली जनताले अर्को चुनावमा दण्डित गर्ने छन् भन्ने सत्य भुल्न हुँदैन । यतिबेला केपी ओली नेतृत्वको बाम सरकारले पाएको दुई तिहाई बहुमतमा जनताको सपना, विश्वास, आशा मात्र होइन, समर्थित दलहरुको आशा पनि जोडिएको छ । त्यो भनेको निश्चय पनि विगतमा संविधान निर्माणको समय असन्तुष्ट बनेका दल, क्षेत्र, समुदायको अपेक्षा पनि हो भनेर बुझ्न जरुरी छ । जसको सम्बोधनको निम्ति सरकार लचिलो हुनुका साथै विवेकको प्रयोगमा पनि सचेत हुन जरुरी छ ।

यतिबेला नेपाली राजनीति एउटा गम्भीर मोडमा आइपुगेको छ । जारी संविधानको कार्यान्वयन, संविधानले विगतमा सम्बोधन गर्न नसकेका मुद्दाहरुको सम्बोधनसँगै विकास र समृद्धिका कार्यहरुलाई पनि तीव्र गतिमा अगाडि बढाउने कार्यभार पनि सँगै छ । यस्तो समय विवेक, धैर्यता, दूरदर्शिता सबैको प्रयोग गर्न सरकार सक्षम हुनुपर्छ । अनेक आन्दोलन, विद्रोह, द्वन्द्वका चरणहरुको घुम्ती पार गर्दै राजमार्गमा निस्कन सफल नेपाली राजनीति र यो राजनीतिको बागडोर सम्हालेका बाम सरकारको नेतृत्वलाई आगामी दिनहरुमा अरु दुर्घटनाबाट बचाउँदै राजनीतिलाई सकुशल अवतरण गर्ने जिम्मा जो जनताले सुम्पेका छन्,त्यो जिम्मेवारी सफलताका साथ पूरा गर्न सकुन् भन्ने कामना त छ नै,अरु बाँकी दिनहरुले नै देखाउनेछ ।