विराटनगर/ विराटनगरको नाम चलेको हस्पिटल भित्र रहेको फामेर्सीहरुले नक्कली औषधी बिक्री गर्ने गरेको पाइएको छ । मेडिकल कलेजदेखी ठूला अस्पतालसहित गल्लीनै पिच्छे खुलेको फार्मेसीहरुले खुलेआम मानव स्वास्थ्यसँग जोडिएको औषधी नक्कली बिक्री गर्ने गरेको पाइएको हो ।  जिल्ला प्रहरी कार्यालय मोरङलाई मेडिकल कलेजदेखी हस्पिटल भित्रको फार्मेसी र अन्य फार्मेसीहरुले नक्कली औषधी विक्री गर्ने गरेको भरपर्दाे सूचना प्राप्त हुनसाथ छापा मार्ने क्रममा ठूलो परिमाणको नक्कली औषधी फेला पारेको छ । आइतबार दिउँसोदेखी मध्यरातीसम्म मोरङ प्रहरीले विराटनगरको पाँच वटा फार्मेशीमा छापा मारेको थियो । प्रहरीले लामो समयदेखी विराटनगर क्षेत्रमा रहेको औषधी पसलहरुमा नक्कली औषधीको कारोबारी गर्ने धरान उपमहानगरपालिका ४ बस्ने ३२ वर्षिय जीवन अग्रवाललाई पक्राउ गरेको थियो । प्रहरीले अग्रवाललाई पक्राउ परेपछि नक्कली औषधि कारोवार हुने गरेको रहस्य खुलेको हो । प्रहरीले नक्कली औषधी बिक्री गर्ने दुई जना फार्मेसीका सञ्चालकलाई समेत पक्राउ गरेको मोरङका एसपी मनोजकुमार केसीले जानकारी दिए ।

प्रहरीले विराटनगरको महेन्द्र चौकमा रहेको म्याक्स हस्पिटल भित्र रहेको लङ्ग लाइफ फार्मेसीका सञ्चालक विराटनगर १० का ३३ वर्षिय दिपक कुमार राय र विराट अस्पताल भित्र रहेको मेड प्लस फार्मेसीका सञ्चालक सप्तरी महुली ५ का ३० वर्षिय प्रशान्त कुमार चौधरीलार्इ पक्राउ गरेको हो । भारतबाट अवैध रुपमा ल्याएको कमसियल नक्कली औषधी फार्मेसीहरुले खुलेआमा बिक्री गर्दै गरेको सूचना पाएपछि आइतबार पाँच वटा औषधी पसलमा छापा मारेको थियो । जसमा विराटनगर हस्पिटल चाेकमा रहेको गोल्डन हस्पिटल मुनिको गोल्डेन फार्मेसी(फेमेलि), बुढीगंगा गाउँपालिका १ टंकीसिनवारीमा रहेको विराट मेडिकल कलेज तथा टिचिङ्ग हस्पिटल भित्र रहेको महुली फार्मेसी, विराट अस्पताल भित्र रहेको मेडि प्लस फार्मेसी, लाइफ सर्पोट फार्मेसी, र विराटनगरको महेन्द्र चौकमा रहेका म्याक्स हस्पिटल मुनिको लङ्ग लाइफ फार्मेसीमा प्रहरी छापा मारेको प्रहरीले जनाएको छ ।

प्रहरीले पाँच वटा फार्मेसीबाट विभिन्न ६६ प्रकार नक्कली औषधीहरू ३ हजार ४४ पिस र ९ सय ७१ जना बट्टाबरामद गरेको छ । ‘भारतबाट आयत गरिएको कम गुणस्तरको औषधी ल्याएर बिक्री गरेको पाइयो,’ एसपी केसीले भने, ‘एउटा औषधिमा अर्कै लेभल लगाएर औषधि बिक्री गर्दा रहेछ । बरामद गरेको अधिकाशं औषधी आइ.सि.यू. मा प्रयोग गर्ने औषधी हो ।’ उनले नक्कली औषधीमा लेभल लगाएर सक्कली बनाएर बिक्री गर्ने गरेका थिए । प्रहरीको अनुसार एउटा औषधीबाट फार्मेसीहरुले डब्बल मुनाफा लिने लिएर विरामीहरुलाई बिक्री गर्दै आएको बताए । पक्राउ परेकाहरुलाई थप अनुसन्धान तथा कारवाहीको लागि औषधी ब्यवस्था विभाग, विराटनगर शाखामा पठाईएको मोरङ प्रहरीले जनाएको छ ।