पाँचथर । गजल मञ्च पाँचथरले हरेक वर्ष मोतीजयन्तीको अवशरमा प्रदान गर्दै आएको ऐतराज केरुङ स्मृति गजल पुरस्कार यस वर्ष गजलकार ललीजन रावललाई प्रदान गरिने भएको छ । मञ्चले आइतबार फिदिममा पत्रकार सम्मेलन गरेर ऐतराज केरुङ स्मृति गजल पुरस्कारको छैठौं संस्करण अछाममा जन्मेका गजलकार रावललाई प्रदान गरिने निर्णय भएको जनाएको छ । रावलको ‘केही गजलहरु–२०४२’, ‘बिरानो यो ठाउँमा–२०४६’, ‘टहटह जून–२०६७’, ‘एउटा बन्द खाम–२०६५’ लगायत दश वटा कृति प्रकाशित छन् । सम्मान–पत्र सहित नगद पाँच हजार ५५५ रुपैंयाँ रासीको उक्त पुरस्कार १५३ औं मोतीजयन्तीको अवशर पारेर आगामी भदौ २३ गते प्रदान गरिने गजल मञ्च पाँचथरका अध्यक्ष दीपक खनालले बताए । सो अवशरमा राष्ट्रियव्यापी गजल प्रतियोगिता, विशेष गजल र कविता वाचन समेत हुने बताइएको छ ।