धरान । धरान उपमहानगरपालिकाका दिवङ्गत मेयर तारा सुब्बाको पार्थिव शरीरमाथि अन्तिम श्रद्धाञ्जली अर्पण गरिएको छ । दशौँ हजार मानिसको उपस्थितिमा धरान–१९ स्थित हरियाली सामुदायिक वनमा मौलिक लिम्बू समुदायको रीतअनुसार अन्तिम संस्कार गरियो । दिवङ्गत मेयर सुब्बाको पार्थिव शरीरमाथि सङ्घीय सरकारका उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेल राष्ट्रिय झण्डा ओढाई सम्मान व्यक्त गरेका थिए । नेपाल कम्युनिष्ट पार्टीको झण्डासँगै लोकतान्त्रिक लिम्बू महासङ्घको झण्डा ओढाई स्वर्गीय मेयरको सम्मान गरिएको थियो ।

अन्तिम श्रद्धाञ्जलीमा प्रदेश १ का मुख्य मन्त्री शेरधन राई, आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्की, आर्थिक मामिला मन्त्री इन्द्र आङ्बो, वन, वातावरण तथा पर्यटन मन्त्री जगदीश कुसियत, नेकपा स्थायी समिति सदस्य तथा प्रदेश १ संयोजक भीम आचार्य, नेकपा सचेतक भानुभक्त ढकाललगायत प्रदेशका मन्त्री तथा सभासद्को उपस्थिति थियो । प्रदेश १ का विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी, उपसचिव र सह–सचिवस्तरका कर्मचारीले पनि मेयर सुब्बालाई श्रद्धाञ्जली व्यक्त गरेको नेकपाका सुनसरी जिल्ला संयोजक रमेश बस्नेतले जानकारी दिए ।

मेयर सुब्बाको अन्तिम बिदाइमा प्रतिनिधि सभाका सदस्य, नेपाल नगरपालिका सङ्घ प्रदेश समितिका सदस्य, १ नम्बर प्रदेशका स्थानीय तहका प्रमुख, उपप्रमुखलगायतको उपस्थिति थियो । नेपाल नगरपालिका सङ्घ प्रदेश नं. १ समितिले जनप्रतिनिधिलाई उपस्थितिका लागि अपिलसमेत गरेको थियो । यसबाहेक विभिन्न प्रदेशका प्रमुख तथा जनप्रतिनिधिहरुको श्रद्धाञ्जली सभामा उपस्थिति रहेको थियो । यसअघि श्रदाञ्जलीका लागि धरान–१२ पब्लिक माविको मैदानमा सुब्बाको पार्थिव शरीर राखिएको थियो । सुब्बालाई धरान नगर प्रहरीले अन्तिम सलामीसमेत दिएको थियो । स्वर्गीय सुब्बाको सम्मान र श्रद्धाञ्जलीमा नगरवासीले व्यापार–व्यवसाय बन्द गरी अन्तिम संस्कारमा उपस्थिति जनाएका थिए । दिवङ्गत मेयर सुब्बाको पार्थिव शरीरलाई नगर परिक्रमा गराउने क्रममा स्थानीयले आफ्ना घरअघिसमेत श्रद्धाञ्जली अर्पण गरेका थिए । धरान उपमहानगरपालिकाले आज(आइतबार) स्थानीय तहमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । तेह्रथुमको खाम्लालुङमा १८ माघ ०२३ सालमा जन्मिएका तारा सुब्बा १३ वर्षको उमेरमै पहिला झापा, गोलधाप र पछि धरान आएका थिए । ०३७ सालमा धरानको शिक्षा निकेतन हाईस्कुलमा भर्ना भएपछि अनेरास्ववियु पाँचौँको साङ्गठनिक गतिविधिमा लागेका थिए । ०४० सालमा उनले कक्षा ८ मा अध्ययनरत छँदा शैक्षिक शुल्क वृद्धिविरुद्धको आन्दोलनको नेतृत्व गरेर धरानमा चर्चा कमाएका हुन् । ०४२ मा एसएलसी दिएपछि उनले अखिलको धरान नगरकमिटीको नेतृत्व सम्हालेका थिए । ०४६ को जनआन्दोलनमा उनी धरानको भानुचोकबाट पक्राउ परे । प्रजातन्त्रबहालीपछि विद्यार्र्थी नेता तारा सुब्बाले आफ्नो राजनीतिक क्रियाशीलतालाई युवा आन्दोलनसँग जोडेका थिए । तत्कालीन मालेसम्बद्ध प्रजातान्त्रिक राष्ट्रिय युवा सङ्घ (हालको युवा सङ्घ) सुनसरीको उनी संस्थापक हुन् । उनले दुई कार्यकाल युवा सङ्घ जिल्ला अध्यक्षको जिम्मेवारी निर्वाह गरेपछि एक कार्यकाल केन्द्रीय सदस्य पनि भए । त्यसपछि उनी जिल्ला तहको पार्टी नेताका रूपमा सक्रिय भए । ०५४ को स्थानीय निर्वाचनमा धरानको प्रतिनिधित्व गर्ने जिविसका इलाका सदस्य थिए । स्थानीय निकाय भङ्ग भएपछि नगरपालिकाको राजनीतिक संयन्त्रमा उनले लगातार तात्कालीन एमालेको तर्फबाट प्रतिनिधित्व गर्र्दै आएका थिए । स्वर्र्गीय सुब्बाका आमा, श्रीमती र एक छोरा छन् ।