उर्लाबारी। उर्लाबारीस्थित पहिलो इटा उद्योग नाति पुस्ताको समयमा सङ्कटमा परेको छ । चार दशकअघि स्थापना भएको बगाले इटा टायल उद्योग नाति पुस्ताले चासो नदिएपछि अब के हुने भन्नेमा सञ्चालकहरू पुगेका छन् । पूर्व–पश्चिम राजमार्ग २०२८ सालमा सञ्चालन आएलगत्तै २०३३ सालमा तेजबहादुर थापाले स्थापना गरेको सो उद्योग उर्लाबारीको पहिलो इटा उद्योग हो । उद्योगको स्थापना भएको ४२ वर्षसम्म पनि अर्को उद्योग स्थापना हुन सकेको छैन । वार्षिक ४० देखि ४५ लाख इटा उत्पादन क्षमता भएको उद्योगको स्थापनाले उर्लाबारीसहित झापा, मोरङ र सुनसरीको विकास निर्माणको ठूलो योगदान भएको सम्झन्छन्, जेठा छोरा कृष्ण थापा । उनी भन्छन् ‘विकास निर्माणको मेरुदण्ड उद्योगलाई राज्यले सहयोग नगर्दा चिन्ता लाग्छ ।’ ४२ वर्ष अघिदेखि निरन्तर उत्पादन गरी सरकारी तथा निजी क्षेत्रका भवन, सडक, सार्वजनिक स्थलको निर्माणमा पु¥याएको योगदानलाई बिर्सन नहुन थापा बताउँछन् । व्यापारीको दृष्टिले मात्र नभई विकास निर्माण र उत्पादनमूलक निजी क्षेत्रका रूपमा उद्योगलाई राज्यले हेर्नुपर्ने थापाको कथन छ । बुबाले स्थापना गरेको उद्योगलाई सञ्चालन गर्दै आएका दुई छोराहरुले हाल थप दुई उद्योग स्थापना गरेका छन् । जेठा छोरा कृष्णले पथरीशनिश्चरेमा जयबगालमुखी र कान्छा छोरा मोहनले मोरङको मोतीपुरमा बजरंगवाली इटा उद्योग सञ्चालन गरेका छन् । ‘बुबाले शुरु गरेको परम्परागत पेशालाई हामी छोराले निरन्तरता दिए पनि हामी पछि यो पेशालाई निरन्तरता दिने अभिरुची परिवारमा नभएकाले परम्परागत पेशा सङ्कटमा पर्ने निश्चित छ,’ कृष्ण भन्छन्, ‘हाम्रा छोराहरुले यो क्षेत्रमा चासो राखेको देखिँदैन ।’ आफ्नो पुख्र्यौली पेशा नयाँ पुस्ताले ग्रहण नगरेपछि ४२ वर्षसम्म सञ्चालन आइरहेको उद्योग बन्द हुनेमा कृष्णको चिन्ता छ । त्यतिमात्र होइन ४२ वर्षसम्म पनि उर्लाबारीमा अरु उद्योग सञ्चालनमा आएका छैनन् । यही एकमात्र उद्योग बन्द भएपछि नगरबाट इटा उद्योग पलायन हुने चिन्ता पनि कृष्णमा छ । उद्योग १० बिगाहा क्षेत्रफलमा फैलिएको छ । २५ जना स्थायी कामदार छन् । कृष्ण आफैँले बजार व्यवस्थापन हेर्दा इटाको मूल्य प्रतिगोटा २५ पैसा देखि ५० पैसासम्म थियो । अहिले एउटा इटाको मूल्य १८ रुपैया“ छ । कृष्ण भन्छन्, ‘अहिले चारआनामा इटा बिक्री गरेको सुन्दा जोक्स जस्तो हुन्छ ।’ कोशी अञ्चल इटा उद्योग व्यवसायी संघका कार्यालय कर्मचारी लक्ष्मीप्रसाद बञ्जाराका अनुसार मोरङ र सुनसरीमा ४२ उद्योग सङ्घमा आवद्ध छन् । सरकारको स्पष्ट नीति नहुनु, काममा जोखिम बढी हुनु, बजार सानो हुनु र लगानी बढी हुनुका कारणले पनि न्यून सङ्ख्यामा उद्योग सञ्चालनमा आएको उद्योगीहरू बताउँछन् ।