धनकुटा (नाम्जे) । भेडेटार–रवि–राँके सहायक राजमार्गमा विवाद उत्पन्न भएको छ । बाटो फराकिलो बनाउने वा घटाउने भन्ने विषयमा स्थानीय विभाजित भएका छन् ।

सरकारी मापदण्डमा सडकको केन्द्र देखि १५–१५ मिटर चौडाई बढाउनु पर्ने भनिएको छ । तर सरकारी मापदण्डअनुसार सडक निर्माण गर्दा हाल भएका अधिकांश भौतिक संरचना हटाउनु पर्ने हुँदा स्थानीयले विरोध गरिरहेका छन् ।

होटल एसोसिएसन भेडेटारका अध्यक्ष लीलाराज लावतीले सरकारी मापदण्डअनुसार सडक निमार्ण गर्दा धेरै होटल व्यवसायी विस्थापित हुनुपर्ने भएकाले चौडाई ७–७ मिटर बढाउँदा हुने बताए । ‘हामी विकास विरोधि होइनौँ तर अधिकांशको बिल्लीबाठ हुन्छ यसमा सरकारले ध्यान दिनु पर्छ ।’ लावती भन्छन् । यता सागुँरीगढी गाउँपालिकाकी उपाध्यक्ष वृन्द राईले स्थानीय स्तरमा बाटो निमार्णको विषयमा विवाद भए पनि यसको निरुपण गर्ने बताइन् । ‘हाल सडकको मुख्य भाग देखि १५–१५ मिटर चौडाईमा बाटो विस्तार गर्ने सरकारको योजना छ । तर सो मापदण्डका विपक्षमा स्थानीय विभाजित भएको कारण समस्या उत्पन्न भएको छ,’ उपाध्यक्ष राईले भनिन्, ‘स्थानीय सरकार यो विषयमा चाँडै निष्कर्षमा पुग्छ ।’