ढल व्यवस्थापनका मात्रै १ सय ७ वटा आयोजना

पथरीशनिश्चरेको पनि चासो

भूपेन्द्र तिम्सिना

शनिश्चरे । सहरीकरण भएका ठाउँमा ढल व्यवस्थापन चुनौती वनिसकेको छ । यस अवस्थामा भविष्यको समेत सहरीकरणको अवस्थालाई ख्याल गरेर त्यसअघि नै दीर्घकालिन रुपमा ढल व्यवस्थापनको योजनाहरु वन्ने क्रममा पथरीशनिश्चरेले पनि त्यसबारे चासो राखेर अध्ययन अघि बढाएको छ ।

देशभरी नै ढल निकासको प्रवन्धका लागि खानेपानी तथा ढल निकास विभागले कार्यक्रमहरु अगाडि ल्याएको अवस्था छ । यी कार्यक्रम र ढल व्यवस्थापनको वातावरणीय अवस्थाका बारेमा बुझ्नका लागि पथरीशनिश्चरे नगर कार्यपालिकाको टोली काठमाडौं, ललितपुर र गोरखामा पुगेर अवलोकन गरेको छ । हाल देशभरीमा ढल व्यवस्थापनका १ सय ७ वटा आयोजना सञ्चालनमा रहेका छन् ।

जसमध्ये ५३ वटा प्रदेशस्तरबाट र बाँकी केन्द्रबाटै सञ्चालनमा रहेका छन् । त्यसमा पनि चालु वर्षमा ५५ वटा क्रमागत र १३ वटा नयाँ योजना रहेको खानेपानी तथा ढल निकास विभागका ढल शाखा प्रमुख टीका चौधरीले जनाए । नगर उपप्रमुख यमुना विष्ट वास्तोलाको अगुवाईमा पुगेको टोलीलाई जानकारी गराउने क्रममा उनले नेपालमा प्राविधिक प्रक्रिया र प्राकृतिक प्रक्रिया गरी २ प्रकारबाट ढलको व्यवस्थापन भइरहेको वताए । ‘अधिकांस नै प्राकृतिक प्रक्रियाका छन् । यसमा लगानी कम हुन्छ ।’– उनले भने । त्यसलाई प्रशोधन गरेर मल वनाउने र छानिएको पानीमा क्लोरिन हालेर वगाइदिने विधि हो यो । ढलबाट प्रशोधन गरी मल, ग्याँस र विजुली उत्पादन गर्न सकिने तथा व्यवस्थित प्रशोधनबाट प्रसोधित पानीले वातावरणमा असर नपार्ने उनले सुनाए । त्यो पानीलाई सिंचाईमा प्रयोग गर्न सकिने वताए ।

उनले सहरीकरणतर्फ उन्मुख ठाउँहरुले बेलैमा ढल व्यवस्थापनको योजना बनाइहालेमा मात्र व्यवस्थापन गर्न सकिने र ढिलो भएमा यसले केही समयपछि दुर्गन्धित वातावरण वनाउने जानकारी गराए । पानी वग्ने नाला र ढलको नाला अलग अलग वनाउनु पर्ने हुन्छ । ढलमा शौचालयको दिसा पिसाव मात्र जान्छ । वनिसकेका सडकहरु खनेर ढल वनाउनु पर्ने अवस्था हुन्छ । अनि ढल व्यवस्थापन गर्ने ठाउँमा पनि फराकिलै जग्गा चाहिने हुन्छ । यी सवै कुरामा अल्झिएर सेफ्टी ट्याङ्कीमै मात्र फोहोर जम्मा गरेर वसी ढल व्यवस्थापन गर्न ढिलो गरियो भनें शौचालय सफा गरेर त्यो ढल बाहिर फ्याक्दा हुने दुर्गन्ध र वातावरणीय असर हुने अवस्था दर्शाए । ‘त्यो हुनुभन्दा अगाडि नै बेलैमा यसको व्यवस्थापनका लागि सहरी क्षेत्र तत्पर हुनु अति आवश्यक छ ।’– उनको सुझाव छ । उनले प्रसोधन गरेको पानीले वातावरणमा कुनै असर नपार्ने तथा ढल संकलन भएको ठाउँमा पनि प्रदुषण नहुने वताए । ‘हामीले विदेशमा जस्तो उच्चस्तरको प्रविधि प्रयोग गर्ने हो भनें ढलको पानी पिउन मिल्ने हुन्छ ।’– उनले भने ‘त्यो तहसम्मको हामीले प्रसोधन अहिले नै गर्न नसकिएला तर फिल्टर भएको पानीमा क्लोरिन हालेर गाइवस्तुलाई खुवाउन चाँही मजाले हुने वनाउन सकिन्छ ।’

नेपालमा ०५२ सालदेखि ढल व्यवस्थापनको गतिविधि अघि बढ्यो । अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिमार्फत काठमाडौंमा विद्युतीय प्रविधि अंगालेर ढल व्यवस्थापनको काम थालियो । १ लाख घरका लागि १२ करोड लगानीबाट थालिएको सो आयोजनामा हाल ३ लाख घरधुरी पुगिसके । यसको क्षमत वढाउनु पर्ने अवस्था भएकाले प्रसोधन व्यवस्थित वन्न सकिरहेको छैन । तर उपत्यका सहित देशका सहरी क्षेत्रमा यसखाले व्यवस्थापन आयोजनाको टड्कारो आवश्यकता भइसकेको समितिका सिनियर डिभिजन इन्जिनियर योगेन्द्र चित्रकारले ढल निकासको प्लान्ट देखाउने क्रममा बताए ।

आयोजनाको प्रविधिको पक्ष कस्तो रहने र ढल संकलन गरेर प्रशोधन गर्दा वातावरणलाई कस्तो असर पार्छ पार्दैैन भन्ने बारेमा जानकारी लिन पुगेको टोलीले त्यहाँको जानकारीसँगै ललितपुरको गोदवारी नगरपालिका ११ चापागाउँस्थित चम्पापुर वातावरण ढल निकास आयोजन पनि अवलोकन गर्यो । त्यसपछि गोरखाको मनकामना मन्दिर पश्चिम दक्षिणमा रहेको लखन गाउँपालिका ३ डाँडागाउँको ढल निकास आयोजनाको पनि अवलोकन सक्यो । त्यहाँ प्राकृतिक प्रविधिबाट व्यवस्थित रुपमा ढलको व्यवस्थापन र प्रशोधन भएको पाइयो । शौचालयको दिसा र पिसाव ढलको पाइपमा मिसाएर प्रसोधन केन्द्रका रुपमा खडा भएको प्लान्टमा पुर्याएर त्यहाँ विभिन्न तहमा प्रसोधन गराउने गरिन्छ । ‘नर्कट’ नामक वनस्पतीले अक्सिजन वढाएर पानीलाई सुद्ध वनाउन मद्धत गर्दछ । त्यसपछि वालुवाले थप प्रसोधन गर्ने प्रविधि बनाइने छ । यसखाले विधिले डाँडा गाउँको ढलबाट प्रसोधन भएर सङ्लो पानी निस्किएको भेटिएको अवलोकन टोली प्रमुख विष्टले वताइन् । ‘यहाँ गरिएको अवलोकनबाट प्राप्त जानकारीका आधारमा कार्यपालिकामा प्रतिवेदन पेश गरेर आयोजनाका विषयमा छलफल गरिने छ ।’– उनले भनिन् ।

सो क्रममा टोलीले उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनलाई भेटी नगरमा आवश्यक विद्युत ट्रान्सफर्मरको माग गरेको छ । साथै प्रदेश नम्वर ३ का लागि स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रमका संयोजक पुष्प वस्नेतसँग नगरपालिकाका लागि आवश्यक सफ्टवेयर व्यवस्थापनका लागि संघीय सरकारबाट पहल गरिदिन माग समेत गरेको छ । टोलीमा उपप्रमुख वास्तोला, ६ वडाध्यक्ष समेत रहनु भएका जग्गा व्यवस्थापन समिति संयोजक जयवहादुर तामाङ, २ नम्वर वडाध्यक्ष यामप्रसाद गुरागाईं, ४ नम्वर वडाध्यक्ष गोविन्दवहादुर भण्डारी, ७ नम्वर वडाध्यक्ष कपिलमणि ढकाल सहभागि हुनुहुन्छ । साथमा कार्यपालिका सदस्य अरुणा राई, मैनाकुमारी राई लिम्बू , मैनादेवी फुयाँल आचार्य, निर्मला गदाल, गीता विश्वकर्मा र नगरपालिका सूचना संयोजक भूपेन्द्र तिम्सिना सहभागि थिए ।

पथरी खानेपानी तथा सरसफाई उपभोक्ता समितिको यसअघिको पहलमा वडा नम्वर २ मा ढल निकासको आयोजनाका लागि केही जग्गा व्यवस्थापन भएको र बाँकी जग्गा व्यवस्थापन नगरपालिका कार्यालयले गर्ने निर्णय भएको थियो । ढल निकास विभागले ३३ करोड रकमको आयोजना वनाएर हाललाई यो वर्ष कम्पाउण्ड पर्खालका लागि २० लाख रुपैयाँ विनियोजन गरेको छ । त्यहाँको जग्गा व्यवस्थापन गरेपछि मात्र पर्खालका लागि सो रकम खर्च गर्नुपर्ने भएकाले योजनाका बारेमा प्रस्ष्ट हुन योजना सञ्चालन भएका क्षेत्रको अवलोकन गर्ने निर्णय भएको थियो । वजारमा अर्काे छुट्टै ढलको नाला निर्माण गरिने छ ।

कम्तिमा ३० कठ्ठा जग्गा आवश्यक पर्ने भएपछि स्थानीय हिरा तिम्सिनाले २ कठ्ठा जग्गा निशुल्क दिएपछि पथरी खानेपानीले ३ कठ्ठा ६ धुर जग्गा खरिद गरेको थियो । बाँकी जग्गा व्यवस्थापनको जिम्मा नगरपालिकालाई दिइएको हो ।

ताजा अपडेट