बेलबारी । मोरङको बेलबारीमा हिजो आज भौतिक संरचना निर्माण गर्नु र भत्काउनु सामान्य खेल जस्तै भएको छ । यसरी असावधानी पूर्वक बनाईएका संरचना भत्किदा त्यसको जिम्मेवारी कसैले लिन सकेको छैन । बेलबारी स्थित भगवती माध्यमिक विद्यालयको सटर पनि बनि नसक्दै अब फेरि भत्कने भएको छ । विद्यालयले व्यवसायिक दृष्टिकोणले निर्माण गर्न लागेको कोठाहरु प्राविधिक दृष्टिकोणले उपयुक्त नदेखिएपछि निर्माण कार्य पुरा नभईकन भत्कन लागेको हो ।

सडकको सतह भन्दा विद्यालय रहेको सतह होचो जमिनमा भएको कारण केहि भुभाग छाडेर मात्र संरचना बनाउनु स्थानीयको रायसल्लाह छ । तर त्यस विषयमा कुनै सरसल्लाह विना विद्यालयको उत्तर तर्फको दिवालमा सटाएर निर्माण गर्न लागिएको सटरहरुको विषयमा विवाद उत्पन्न भएको हो । प्राविधिक र वातावरणीय हिसावले पनि ति सटरहरु उपयुक्त नभएकोले त्यसलाई निर्माण कार्य रोक्नुपर्ने स्थानीय प्रताप थापाको भनाई छ ।

सडकको गहिरो भाग पुर्ने क्रममा ति सटरहरु पनि पुरिने भएको हुँदा त्यो सटर निर्माण गलत रहेको र मनोमानी कार्यलाई रोक्न माग गर्दै नगरपालिकाको ध्यानाकर्षणको लागि थापा सहितको टोलीले मंगलवार ज्ञापन पत्र बुझाएका थिए । ज्ञापन पत्र पछि त्यस सम्वन्धि धारणा दिदै नगरका प्रवक्ता योगेन्द्र सुवेदीले व्यवस्थापन समितिको निर्णय विना मनोमानी ढंगबाट बनाईएका कोठाहरु नगरपालिकाले भत्काउने बताए । निर्माणको क्रममा रहेको आठवटा कोठा भत्कदा करिब १० लाख बराबर सामाग्री विनास हुने देखिएको छ । यसरी जथाभावी सटर बनाउदै भत्काउदै गर्दा हुने सार्वजानिक सम्पत्तिको जवाफदेही को हुने भन्ने ब्लाष्टको जिज्ञासामा प्रवक्ता सुवेदीले यो निर्माण कार्यमा संलग्न जवाफदेही हुने र त्यहाँको क्षति उसैले बेहोर्नुपर्ने बताएका छन् । यसरी जथाभावी सटर बनाएको विषयमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा वडा नं. २ का अध्यक्ष घनश्याम गौतम भने यस विषयमा प्रधानाध्यापक मानवहादुर खड्का संग बुझ्न आग्रह गरे ।