जेरुसेलम/ इजरायल भ्रमणका क्रममा जापानी प्रधानमन्त्री सिन्जो आबेलाई जुत्तामा पस्किएर खाना दिइएको विषय अन्तर्राष्ट्रिय संचारमाध्यममा छाएको छ ।  इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुका साथ भोजन गर्दा जापानी प्रधानमन्त्री आबेलाई केही परिकार जुत्तामा पस्किएर दिइएको तस्वीर विभिन्न संचारमाध्यमले प्रकाशित गर्दै इजरायलले ‘पाहुनाको अपमान’ गरेको ठहर गरेका छन् ।

इजरायली सेलिब्रेटी शेफ मोशे सेगेभले जापानी प्रधानमन्त्री र इजरायली प्रधानमन्त्रीका लागि भोजनका परिकार तयार पारेका हुन् । उनले केही परिकार धातुका ‘जुत्ता’मा पस्किएका थिए । जापानी संस्कृतिमा जुत्तालाई अपमानजनक मानिन्छ ।

जापानी प्रधानमन्त्री आबेले हिच्किचाहट विना नै ती परिकार खाएका थिए । तर जापानी र इजरायली कुटनीतिज्ञहरुले जापानी प्रधानमन्त्रीमाथि भएको यस्तो व्यवहारको निन्दा गरेका छन् । जापानमा लामो समयसम्म बसेका एक वरिष्ठ इजरायली कुटनीतिज्ञले इजरायली अखबार येदियोत अहरानोतसँग भने, ‘यो एक असमवेदनशील र बेवकुफीपूर्ण काम हो ।’

उनले भने, ‘जापानी संस्कृतिमा जुत्ताभन्दा तुच्छ अरु केही हुँदैन, जापानीहरु आफ्नो घर तथा कार्यालयमा जुत्ता भित्र्याउँदैनन्, त्यहाँका प्रधानमन्त्री, मन्त्रीहरु र सांसदहरु पनि आफ्नो कार्यालयभित्र जुत्ता लगाएर जाँदैनन् ।’

एक जापानी कुटनीतिज्ञले पनि सोही अखबारसँग भनेका छन्, ‘कुनै पनि संस्कृतिमा जुत्तालाई टेबलमा राखिदैंन, आखिर त्यो शेफको दिमागमा के चलिरहेको थियो ? यो कुनै मजाक हो भने यस्तो मजाक हामीलाई राम्रो लागेन । हाम्रा प्रधानमन्त्रीमाथि भएको यस्तो व्यवहारलाई लिएर हामी खुशी हुन सक्दैनौं ।’

गत साता जापानी प्रधानमन्त्रीको सम्मानमा इजरायली प्रधानमन्त्रीले दिएको भोजमा यसरी जुत्तामा खाना पस्किएको हो । (एजेन्सी)