युएई/ दुबईमा विभिन्न आपराधिक क्रियाकलापमा संलग्न भएको आरोपमा १८५ जना नेपालीले कारावासको सजाय भोगिरहेको जनाइएको दुवैका लागी नेपाली दूतावासले जनाएको छ । जेलमा रहेकाको अवस्था बुझ्न त्यहाँका सबै जेलमा पुगेर नेपाली दूतावासले तयार पारेको प्रतिवेदनमा यो विवरण उल्लेख छ ।

दूतावासले परराष्ट्र मन्त्रालय मार्फत सरकारलाई पठाउन तयार पारेको प्रतिवेदनमा ३६ जना नेपालीले हालै आममाफी पाएर नेपाल फर्कन लागेको उल्लेख छ । उनीहरूमध्ये कतिपयलाई विभिन्न अवसरमा युएईले आममाफी दिएको हो । अरू भने सजाय भुक्तान गरेर रिहा हुन लागेका हुन् । १७३ जना पुरुष र १२ जना महिला गरी १ सय ८५ जना नेपालीले अहिले पनि युएईका विभिन्न जेलमा छन् ।

युएईको दुबई, सारजाह, आबुधावी, रसअलखेमा, उम्मलक्विन, फुजेराह र अलऐनमा रहेका आठ वटा जेलमा पुगेर दूतावासका प्रतिनिधिले नेपाली कामदारको अवस्था र मुद्दाको अध्ययन गरेको थियो । फुजेराह जेलमा रहेका १४ नेपालीहरूमध्ये ११ जना मदिरा सेवन गरेको आरोपमा जेल परेका दूतावासले जानकारी गराएको छ ।

साथै स्थानीय प्रशासनका उच्च अधिकारी र ती नेपालीले काम गरेका कम्पनीका प्रतिनिधिसँग समेत भेटघाट गरेको कार्यवाहक राजदूत सागरप्रसाद फुयाँलले बताए । भेटमा नेपाली कामदारलाई परेको मुद्दा र त्यसबारे गर्न सकिने समन्वयका लागि दूतावासले चासो देखाएको थियो । यसअघि पनि पटक पटक दूतावासले जेलमा पुगेर त्यहाँ रहेका नेपालीको अवस्था बुझ्दै आएको थियो । तर यहाँ रहेका सबै जेलमा दूतावासका प्रतिनिधि पुगेको यो चौंथो पटक हो । वर्षको दुई पटक सबै जेल पुग्ने योजना अन्तर्गत यो पटक सबै जेलको भ्रमण गरिएको हो ।

नियमित रूपमा यहाँका जेल पुग्ने र कैदी जीवन बिताइरहेका नेपालीको अवस्थाबारे बुझ्न सम्बन्धित प्रशासनसँग सम्बन्ध बढाउने प्रयास स्वरूप कूटनीतिक प्रयास पनि थालिएको छ । यस पटकको भ्रमणमा नवनियुक्त कार्यवाहक राजदूत फुयाँलले जेल प्रशासन तथा माथिल्लो निकायका प्रतिनिधिसँग भेटेर छलफल समेत गरेको थियो ।

जेल भ्रमणपछि नेपालीको अवस्थाबारे प्रतिवेदन तयार पारेर परराष्ट्र मन्त्रालय मार्फत सरकारलाई बिहीबार पठाइएको द्वितीय सचिव तथा सूचना अधिकारी कृष्ण अर्यालले जानकारी दिए ।

न्यूज२४बाट