बुद्धसँग मितेरी गाँसिरहेछन् मञ्जुल

भूपेन्द्र तिम्सिना

मान्छेका थरीथरीका चाहनारुपी सपना हुन्छन् । मान्छेले प्रगति गर्नका लागि सपना देख्नु पर्छ । सपनै नदेखि अगाडि हिड्ने योजना नवन्न सक्छ । उनलाई देख्ने वित्तिकै उनको सपना थाहा पाउनेहरुले उनको ‘फलामे सपना’ को कुरा सम्झन्छन् ।

उनको नामै लिँदा पनि यसबेला नेपाली मूर्तिकला क्षेत्र गौरवले सगरमाथा अग्लिएको महसुस हुन्छ र नेपाली मूर्तिकलाले विश्वव्यापीकरणको गजबको सञ्चार गर्दछ । एउटा फलामे सपनाको उद्घोष गर्दै मूर्तिकलामा तल्लिन एकजना युवा यसबेला जापानमा विश्वकै सवैभन्दा ठूलो आधुनिककालिन ढुंगे मूर्ति निर्माणमा जुटेर फरक इतिहास वनाउँदैछन् । उनी हुन् मोरङ मिक्लाजुङमा मूर्तिकार मञ्जुल मितेरी । १५ औं वर्ष अघिदेखि उर्लाबारी झरेर मूर्तिकलामा तल्लिन रहेर ढुंगे मूर्तिहरुको ‘मञ्जुल संग्रहालय’ सञ्चालन गर्दै आएको उही ठिटोले यतिबेला नेपालको चिनारी विश्वसामु चिनाइरहेको छ ।

०६१ मा उनले १० वर्षभित्र विश्वप्रसिद्ध व्यक्तिहरुको १ हजार वटा ढुंगाका मूर्ति निर्माण सकेर राष्ट्लाई उपहार दिने फलामे सपनाको घोषणा गरेका थिए । अर्थात त्यो अवधि ०७१ सालमा पुरा भएपनि उनले १ सयको हाराहारीमा मात्र मूर्ति वनाउन सके । मूर्ति बनाउँदै बेचेर आफ्नो गृहस्थी चलाएका उनका लागि प्रण गरेका मात्र मूर्ति बनाएर वस्न सम्भव भएन । आफ्नो नितान्त व्यवहारिक कुराले त्यो सपना अलि बढी महत्वकांक्षी सावित भएको ठानेर असमञ्जस्यमा परेझैं भएको बेला उनका लागि निकै महत्वपूर्ण अवसर जुट्यो । उनकी श्रीमती कौशिलालाई मूर्ति निर्माणको जिम्मा लगाएर व्यवसायका रुपमा उर्लाबारीमा अगाडि बढिरहेको आफ्नो कलालाई पनि जोगाउँदै जापानसम्म आफ्नो कलाको फैलावट बढाए । हजार मूर्ति उपहार दिने सन्दर्भका साथै मूर्तिकारका रुपमा २०७२ सालमा युवा प्रतिभा पुरस्कारबाट सम्मानित भएपछि राष्ट्यि उचाईबाट अग्लिएको अवस्थाले पनि उनको जापानसम्म माग भयो ।

डेढ वर्ष अघि सन् २०१७ सेप्टेम्बरमा जापान हानिएका उनी ३ साताको विदा मागेर घर आइपुगेको भोलीपल्ट ०७४ फागुन १८ गते मिक्लाजुङ साहित्य समाजको मधुमल्लामा आयोजित साहित्यिक कार्यक्रममा एकाएक भेटिए । अनन्त लक्ष्यको उर्जा बोकेर हिँड्ने मञ्जुलको लक्ष्य अझ फराकिलो बन्न पुग्यो । उनको जिम्मेवारी अझ गहन भयो । नेपालको इतिहाससँग जोडिए उनी । विश्वशान्तिका अग्रदुत गौतम बुद्ध नेपालका हुन् भन्ने कुरालाई प्रष्ट्याएर नेपाललाई विश्वसामु चिनाउने कामका उत्तिकै सक्रिय हुन पाएको कुरा उनले सुनाए । साविक भन्दा अलि मोटाएका हँसमुख मञ्जुलले मूर्तिकला र बुद्धका सवालमा नेपालका लागि ऐतिहासिक काम गरेको कुराको गर्वले मेरो पनि छात्ती ढक्क फुलेर आयो । मलाई भावुक बनायो ।

जापानको कुमामोतो जिल्लाको खामीआमाकुसा नगरपालिकामा पर्ने सकिबुचोयामा नामको विशाल चट्टानी पहाडमा छिनो र हम्मर बोकेर उनका हातले उही गौतम बुद्ध सिर्जना गरिरहेको छ । कठोर पहाडका यमान भित्तामा उत्ती नै कोमल शान्तिदुत बुद्धको स्वरुप कुँदिरहेछन् । ओसिमा सेकिबुचुयामा नामको संस्थाले शहरभन्दा ८० किलोमिटरको दुरीमा ग्रामिण मात्र नभएर अनकन्टार पहाडमा एउटै ढुंगामा गौतम बुद्ध र बुद्धका सहायक देवीदेवताका गरी ७ वटा पूर्णकदको मूर्ति निर्माणमा उनलाई झिकायो ।

आफ्नो फलामे सपनाको लक्ष्य पुरा गर्ने अठोटमा समस्या भइरहेको बेला त्यो एउटा गतिलो अवसरलाई केही समय दोधारमा राखे । शुभचिन्तक र नजिककाहरुले जापानको अवसर लिन सल्लाह दिएपछि उनले आफ्नो फलामे सपनाको अवधि अलि पछि सारेर भएपनि त्यो ऐतिहासिक काम पहिले सक्ने निधो गरे । अनि उनले सिद्धहस्त युवा मूर्तिकार, काभ्रेका सानुभाई विश्वकर्मा, उदयपुरका रामचन्द्र पण्डित र मिक्लाजुङका गणेश राईलाई साथमा लिएर त्यहाँ पुगे र काम थाले । त्यसपछि त मञ्जुललाई ‘आधुनिक अरनिको’ को संज्ञा दिन थालियो ।

७ वटा मूर्ति पुरा गर्न जम्मा साढे ७ वर्षको सम्झौतामा उनीहरु काम गरिरहेका छन् । पछिल्लो २ सय वर्षमा विश्वकै सवैभन्दा ठूलो ढुंगाको मूर्ति वनाउने ऐतिहासिक अवसरले मञ्जुल अगुवाईको टोली नेपाली मूर्तिकलाको क्षेत्रमा ज्यादै ठूलो नाम लेखाउन पायो ।

कुल कामको ३० प्रतिशत काम सकिएको छ । ६५ फिट अग्लो बुद्धमूर्तिको यसबेला मुहार निर्माण भइसकेको छ । ४५ फिट अग्लो बुद्धको सहायक देवताको पनि मुहार तयार भएको छ । सवै मूर्ती तयार भएपछि विश्व सम्पदा सूचिमा राख्ने त्यहाँको योजना रहेछ । कलाकार अरनिको नेपालबाट औपचारिक रुपमा विदेशमा मूर्ति वनाउन चीन गएका थिए । अरनिकोपछि विदेशमा औपचारिक मूर्ति वनाउन बोलाइएको यो दोस्रो अवसर बुद्धका बारेमा प्रष्ट्याउने हिसावले पनि उत्तिकै महत्वपूर्ण बनेछ ।

त्यहाँ सरकारी अधिकारीहरुको आतिथ्यतामा भव्य कार्यक्रमबीच मूर्ति निर्माण अभियानको उद्घाटन् गरियो । आयोजक संस्थाले ती अधिकारीहरुसँग मूर्तिकारहरुको चिनजान गरायो । कतिपय सरकारी कार्यालयमै लगेर उनीहरुलाई चिनाउने काम आयोजकले गरे । त्यसबेला उनीहरु नेपालको राष्ट्यि पोशाकमा सजिएर गएका थिए । त्यो फरकखाले पोशाकका बारेमा सोधनी हुँदा नेपाली मौलिक पहिचान झल्काउने काम गरे ।

बुद्धका बारेमा प्रदर्शनी गरेर कार्यक्रम उद्घाटन् भयो । तर प्रदर्शनी तथा त्यहाँ लेखिएका सामग्रीहरुमा त बुद्ध भारतमा जन्मिएका र भारतका हुन् भनेर लेखिएको रहेछ । लुम्विनी भारतमा पर्छ भनेर भारतको प्रचारको प्रभाव परेको रहेछ । त्यो पढेपछि आफुसँग भएका बुद्ध सम्बन्धीका तथ्यहरु प्रस्तुत गरेर बुद्ध नेपालमा जन्मिएका र नेपालका हुन् भनेर त्यसलाई सच्याउने काम भएको गतिलो कुरा मञ्जुलले सुनाए । मञ्जुलका तथ्यगत भनाई र तथ्यगत सामग्रीका आधारमा उनीहरुले बुद्धका बारेमा सच्याएका र अरु जानेहरुलाई पनि आफुहरुले बुद्धका बारेमा प्रष्ट्याउने गरेको अर्काे महत्वपूर्ण काम भएरहेको उनले सुनाए ।

बुद्धका बारेमा भारतले विवाद सिर्जना गराइरहेको अवस्थामा आफुहरुले बुद्धको सच्चाइ वताउने अवसर पाएकोमा पनि मूर्तिकारितासँगै साहित्य, गीतसंगीत क्षेत्रका समेत सर्जक मञ्जुललाई खुसी नलाग्ने कुरै भएन । बुद्धको भूमिको पवित्र सन्देश बोकेर बुद्धकै मूर्ति वनाएर जापानमा बुद्धको यथाथर्ता बुझाउँन पाउँदा आफु भित्रको सर्जक मन खुसीले भक्कानियो । बुद्धको नगरको रुपमा रहेको नेपालको सिद्र्धार्थनगर नामसँग जुधाएर भारतको उत्तरप्रदेशमा पनि सिद्धार्थनगर नामको जिल्ला पञ्चायत रहेछ ।

त्यहाँको इटवामा साहित्यिक कार्यक्रममा जाँदा उसैगरी भारतका बुद्ध भनेर भन्दै उनै बुद्धको प्रतिमा मायाको चिनोका रुपमा हामीलाई प्रदान गरिएको प्रसंग मैले सम्झिएँ । अनि भारतको सिक्किममा साहित्यकै कार्यक्रममा जाँदा कञ्चनजंघा हिमाल सिक्किममा पर्छ भनेर त्यहाँको विद्यालयको कोर्षमा राखेको कुरा पनि सम्झिएँ । कञ्चनजंघा हिमश्रृंखला चाँही सिक्किमको सिधासिधीसम्म पुगेको भएपनि नेपालकै दोस्रो अग्लो हिमाल कञ्चनजंघा भनें नेपालकै ऐतिहासिक चिनारी हो भन्ने कुरा बुझाउनु पर्ने अवस्था ।नेपाल सरकार बोल्ने ठाउँमा यस्ता सर्जकका सिर्जना बोलिरहनु भनेको सर्जक र सिर्जनाको महत्वको अग्लाई प्रष्टिन्छ ।

यसरी हामीलाई विश्वमा चिनाउने यस्ता महत्वपूर्ण चिनारी अरुले नै दावी गर्ने र त्यही प्रकारको प्रचार अन्य देशमा पुर्याउनेहरुका लागि मञ्जुल जस्ता सच्चाई दिने मितेरी दुतको खाँचो छ । राष्ट्यिताको यसखाले अभिव्यक्तिप्रति सलाम छ मञ्जुललाई । अरु सयौं मञ्जुलहरु बुद्ध दुत अनि मितेरी दुत बनेर बुद्धको नेपाली आयतन फैलाउनु आवश्यक छ ।

ताजा अपडेट