इटहरी/ आगोले वा एसिडले डढेर कुरुप भएको अनुहारबाट दिक्क हुनुहुन्छ ? अस्वभाविक  कोठीहरु आएर पिरलोमा हुनुहुन्छ ? भालुले कोतरेर बिगारेको अनुहारले आत्मविश्वास हराएको जस्तो लागेको छ ? चिन्ता नलिनुहोस् यी सबै समाधानका उपायहरु आधुनिक चिकित्सा पद्धतिले सम्भव बनाएको छ । यी सबै नेपालमै पनि सम्भव उपचार पद्धतिहरु हुन् । प्लास्टिक सर्जरीको विकाससँगै मान्छेले अनुहारमा वा आवरणमा आएको सानो समस्याले  सिर्जना गर्ने ठूलो पिरलोलाई अन्त्य गरेको छ । प्लास्टिक सर्जरीकै कारण मान्छेले गुमाएको आत्मविश्वास पाएको पनि थुप्रै उदाहरणहरु छन् । आगलागीमा परेर डढेको अनुहारमा प्लास्टिक सर्जरीले पुनः ताजगी दिन सम्भव भएसँगै थुप्रैको जीवनमा खुशीयाली आएका अवस्थाहरुसमेत धेरै छन् ।

नेपालका चारवटा स्वास्थ्य संस्थाहरुमा प्लास्टिक सर्जरीको सेवा छ । काठमाडौंमा शिक्षण अस्पतालसँगै तीनवटा मेडिकल कलेजमा तथा पूर्वमा विजयपुर हस्पिटल धरानमा यो सुविधा भएको सर्जन रोशन खतिवडाले बताए । खतिवडाका अनुसार शारीरिक आवरणमा आएका सानातिना खराबीका कारणले आत्मविश्वास नगुमाउन प्लास्टिक सर्जरीको महत्व हुने बताउँछन् । ‘अनुहारमा आएको अस्वभाविक खतहरु, पुरानो घाउको देखिने खाटो, अस्वभाविक कोठीहरु हटाउँन प्लास्टिक सर्जरी राम्रो विकल्प हुन्छ’ प्लास्टिक सर्जरीबाट लिन सकिने लाभहरुबारे बोल्दै डाक्टर खतिवडा भन्छन्, ‘डढेको अनुहार वा बढेको बोसो हटाउन पनि प्लास्टिक सर्जरीले सहयोग गर्छ ।’

भारी स्तन भएर हुने ढाड दुख्ने समस्या र हिँड्नलाई हुने समस्यालाई समाधान गर्न पनि प्लास्टिक सर्जरीले सहयोग गर्ने डाक्टर खतिवडा बताउँछन् । ‘आफूले धान्न सक्ने त ठीकै हो तर असहज ठूला स्तनलाई घटाउन पनि प्लास्टिक सर्जरीले काम गर्छ’ थुप्रै प्लास्टिक सर्जरीको अनुभव बोकेका डाक्टर खतिवडा भन्छन्, ‘सम्भव भएका कुराहरु परिवर्तन गर्न सकिने भएकोले प्लास्टिक सर्जरीको आकर्षण बढ्दो छ ।’ प्लास्टिक सर्जरीको अकर्षण बढेको कुरामा धरानको विजयपुर हस्पिटलका निर्देशक प्रभाव खतिवडा पनि सहमत छन् । उनी भन्छन्, ‘हामीले सुरुमा यो सेवा पूर्वमै पहिलोपल्ट शुभारम्भ गर्दा चल्छ चल्दैन शङ्का नै थियो तर पहिलो लटमै थामिनसक्नुको भीड भयो र हामीले तीसजना कटेपछि भर्ना नै बन्द गनुप¥यो ।’ निर्देशक खतिवडा आधुनिक युवापुस्ता तथा सहरिया संस्कारको कारणले प्लास्टिक सर्जरी प्रयोग गरेर आफ्नो इच्छा अनुसारका अंगहरु बनाउनमा आकर्षण बढेको बताउँछन् ।

आकर्षणः आर्यन आँखा, चिल्लो अनुहार र डिम्पलमा

बलिउडको प्रभावले हो या आफ्नै रोजाइले, धरानको विजयपुर हस्पिटलमा आँखालाई आर्यन प्रकारको बनाउनेहरुको भीड हुने निर्देशक प्रभाव खतिवडा बताउँछन् । ‘खै कस्तो आकर्षण हो यो तर मंगोलियन आँखाहरुलाई आर्यनाइज गर्न खोज्नेहरु थुप्रै भेटिएका छन्’ खतिवडा भन्छन्, ‘चिम्रा आँखा हुनेले आर्यन आँखा बनाउने आकर्षण देखियो । अब मान्छे जे छ भन्दा पनि जे चाहना छ, त्यस्तै आँखा बनाउन थालेको  जस्तो लाग्यो ।’ काठमाडौंबाट आउने प्रसिद्ध प्लास्टिक सर्जन संगम रायमाझीले गरेका पहिलो चरणकै सर्जरीहरु आर्यन आँखा बनाउनेहरुको संख्या बढिरहेको खतिवडाले बताए । आर्यनका आँखाहरु जस्तै अनुहारमा भएको चाउरीपन हटाएर झरझर अनुहार पार्न पनि उत्तिकै आकर्षण बढेको चिकित्सकहरुको अनुभव छ । बोटोक्स नामको सुई लगाएपछि चाउरी परेका गाला तथा मुजा परेका परेला पनि चिल्ला हुने प्लास्टिक सर्जनहरु बताउँछन् । चालीस कटेका सहरीया व्यवसायिक वयस्कहरुमा यस्तो सेवाको आकर्षण बढेको चिकित्सक रोशन खतिवडा बताउँछन् । उनी भन्छन्, ‘बोटोक्स एकखाले इन्जेक्सन प्रणाली हो, जसले छालाको मासु मारेर चाउरीपना आउन दिँदैन र यसले अनुहारमा युवापन दिन्छ ।’

गालामा पर्ने खोबिल्टो अर्थात् डिम्पल बनाउनेहरु पनि उत्तिकै मात्रामा प्लास्टिक सर्जरीतर्फ आकर्षित भएको चिकित्सकहरु बताउँछन् । डाक्टर रोशन अधिकारी  गालाको मांसपेशीमा कमजोरी हुँदा डिम्पल आउने बताउँछन् । ‘मांसपेशी कमजोर भएर मान्छेको डिम्पल आउँने भए पनि आकर्षक देखिने हुनाले मान्छेहरु डिम्पल नै रुचाउँछन्’ प्लास्टिक सर्जरीमा डिम्पल आकर्षण बारे बोल्दै डाक्टर खतिवडा भन्छन्, ‘गालाको मांसपेशी कमजोर बनाएर प्लास्टिक सर्जरीले डिम्पल पनि बनाउँछ ।’

सबैभन्दा बढी चासोः यौनाङ्गको सर्जरीमा

सामान्यतया प्लास्टिक सर्जरी भन्नु नै देखिने अनुहारका कोठी, दाग तथा डढेको भागहरु हटाउने उद्धेश्यले सुरु गरिएको चिकित्सकहरु बताउ“छन् । तर, देखिने अंगका समस्याहरुस“गै गोप्य अंगहरुमा पनि प्लास्टिक सर्जरीको आकर्षण बढेको चिकित्सक तथा हस्पिटल सञ्चालकहरुको अनुभव छ । धरानको विजयपुर हस्पिटलका निर्देशक प्रभाव खतिवडा पनि मान्छेले आवश्यकता हैन, सौखको रुपमा प्लास्टिक सर्जरी अपनाउन थालेको अनुभव बताउ“छन् । ‘हामीले प्लास्टिक सर्जरी सुरु गर्दा अनुहारका दाग, कोठी, चाउरीपना तथा खतहरु हटाउन भनेर प्रचार गरेका थियौ“’ खतिवडा भन्छन्, ‘हामीले योनी टाइट गर्नेसम्मको विज्ञापन पनि गरेका थियौ“ तर जिज्ञासा अनेक प्रकारका आए ।’ स्तन सानो बनाउने, टाइट बनाउने र ठूलो बनाउनेहरुको समेत भीड भएको खतिवडा बताउ“छन् । ठूलो स्तन हुनेले सानो बनाउन र सानो हुनेले ठूलो बनाउन आउने बताएका खतिवडाले चालीस कटेका महिलाहरु भने स्तन टाइट गर्न अँएको सुनाए । महिलाहरु भने स्तनस“गै योनी टाइट गर्न आउन चाहनेहरुको टेलिफोन चासो बढेको खतिवडा बताउ“छन् । पुरुषहरु भने लिङ्ग ठूलो बनाउन र ज्यादा बोसो हुनेले बोसो घटाउन बढी चासो राख्ने खतिवडाले बताए । ‘प्लास्टिक सर्जरी यो स्तरमा चल्ला जस्तो लाग्दै लागेको थिएन’ सातामा एक पटक मात्रै हुने प्लास्टिक सर्जरीका बारेमा बोल्दै खतिवडा भन्छन्, ‘हामीले त केही सीमित आवश्यकतामा मान्छेले यो सर्जरी सेवा लिन्छन् जस्तो लागेको थियो तर मान्छेका आवश्यकताहरु अरु पनि थुप्रै रहेछन् ।’

महँगो प्लास्टिक सर्जरीका साइड इफेक्टहरु

एउटा सामान्य प्लास्टिक सर्जरीको शुल्क न्यूनतम् तीसहजारदेखि सुरु हुने विजयपुर हस्पिटल धरानका निर्देशक प्रभाव खतिवडा बताउँछन् । यो शुल्क विदेशमा त झनै महँगो पर्ने निर्देशक खतिवडा बताउँछन् । शुल्क महँगो भए पनि सुन्दरता र आकर्षणसँग जोडिएकोले प्लास्टिक सर्जरीको प्रयोग व्यापक बढेको विभिन्न अनलाइन तथ्याङ्कहरुले समेत देखाउँछन् ।

डढेको अनुहार सुन्दर बनाउँने, दाग कोठी हटाउनेसँगै आफूले चाहेको जस्तै स्तन र योनी बनाउने प्लास्टिक सर्जरीले लिङ्गको समेत आकार बनाउन सक्छ । तर, यसका आफ्ना जोखिमहरु पनि छन् । सफल प्लास्टिक सर्जरीहरु मात्रै हेरेर सर्जरी गर्दा ठूलो नोक्सान  हुने सम्भावनाहरु पनि हुनसक्ने स्वयं चिकित्सकहरु बताउँछन् । एक त महँगो चिकित्सा प्रणाली र अर्को लामो समय हुने सर्जरीको कारण आर्थिक घाटा त छ नै ।  यस बाहेक पनि प्लास्टिक सर्जरीका केही साइड इफेक्टहरु पनि छन् । जस्तैः बोटोक्स इन्जेक्सनले अनुहार झरझर त बनाउँछ तर सर्जन रोशन खतिवडाका अनुसार यसको आयु  ६ महिनाको मात्रै हुन्छ । स्नत ठूलो बनाउन हालिएको सिलिकन पनि फुट्न सक्ने र फुटेमा अर्को महँगो अपरेसनको खर्च हुने अर्को जोखिम पनि उत्तिकै हुुने डाक्टर खतिवडाले बताए ।

कुनै कुनै व्यक्तिको ज्यानले सर्जरी गर्दा प्रयोग हुने सिलिकन जस्ता ‘इनर्ट मेटेरियल’लाई शरीरले नधान्दा पनि अर्को समस्या हुनसक्ने चिकित्सकहरु बताउँछन् । हेल्थ लाइन डटकममा लेखिएको एक आलेखमा एन्ना सिफेरले प्लास्टिक सर्जरीले इन्फेक्सनसमेत हुनसक्ने बताउँछिन् । स्तन सर्जरीमा सेलुइटिस नामक इन्फेक्सन हुने बताउँने सिफेरले रक्तअल्पता र स्नायु विनाशका समस्याहरु पनि यदाकदा आउन सक्ने बताउँछिन् ।