धरान/विश्व स्तनपान सप्ताहको अवसरमा मङ्गलबार केन्द्रीय प्रविधि क्याम्पस हात्तिसारका न्युट्रिसन एण्ड डाइट्रिसियन स्टुडेन्ट कमिटीले जनचेतनामूलक र्याली निकालेको छ । धरान–१४ स्थित हात्तिसार क्याम्पस परिषरबाट निकालेको र्याली धरानको भानुचौकमा आई कोणसभामा परिणत भएको थियो । अगष्ट १ तारिखदेखि ७ तारिखसम्म हरेक वर्ष विश्व स्तनपान दिवश मनाइने गरिन्छ । जसमा आमाको दुध नै बच्चाको लागि पोषण हुने भएकाले स्तनपान अनिवार्य गराउनको लागि पनि यो कार्यक्रम गर्ने गरिएको छ । त्यही अन्तर्गत पोषण तथा आहार विज्ञान पढिरहेका विद्यार्थीहरु सम्मिलित संस्था कमिटीले र्याली निकाल्दै स्तनपान बढाउनको लागि आह्वान गरेको छ । हात्तिसारका प्रमुख धनबहादुर कार्कीले उद्घाटन गरेको कार्यक्रममा करिव १५० विद्यार्थीहरु सहभागी बनेका थिए । नाडानको सहकार्यमा गरिएको कार्यक्रममा विद्यार्थीहरुले विभिन्न प्लेकार्डहरु बोकेर नगर परिक्रमा गरेका थिए । उनीहरुले ६ महिनासम्म आमाको दुधमात्रै खुवाउन अपिलसमेत गरे । कम्तीमा दुईवर्षसम्म बच्चालाई स्तनपान गराउनको लागि विद्यार्थीहरुले आग्रह गरेको चौथो वर्षमा अध्ययरत विद्यार्थी सन्तोष भट्टले जानकारी दिए । उनका अनुसार आमाको पहिलो पटकको दुध अनिवार्य खुवाउनु पर्ने जसबाट बच्चामा रोगविरुद्ध लड्न सक्ने क्षमताको विकास हुन्छ । त्यसैले बच्चा जन्मिए लगत्तै आमाको दुध फाल्ने परम्परा तोड्नु पर्ने सन्देशसमेत आफूहरुले दिएको कमिटीका अध्यक्ष उत्सव ढकालले बताए । विद्यार्थीहरुले सडक नाटक, विभिन्न गीतहरुसमेत गाएर चेतना जगाएका थिए । विद्यार्थीहरुले स्तनपान अमृत समान, बोतलपान बिष समान, बच्चालाई स्तनपान गराऔं, आमा र बच्चा दुबैलाई दृघरोगबाट बचाऔं लगायतका प्लेकार्ड बोकेर र्यालीमा सहभागी बनेका थिए । ‘स्तनपानको महत्व’ शिर्षकमा सडक नाटकसमेत देखाएका थिए । जसमा डाक्टरको भूमिकामा किरण तिवारी, सासुको भूमिकामा समिक्षा प्रधान र बुहारीको भूमिकामा स्मृति चौहान खेलेका थिए । त्यस्तै प्रियका चुडाल, आश्था श्रेष्ठ, स्वेता चौधरी, दिवश आचार्य, जेनिसा दाहालले स्तनपान सम्बन्धि जागरणत्मक दोहोरी गीत गाएका थिए । कोणसभामा शिक्षिका रीचा भट्टराई, आहार विज्ञानका संकाय प्रमुख डम्बरबहादुर खड्का, शिक्षक अर्जुन घिमिरे, शिक्षिका पल्लवी ब्यासले स्तनपानको सकरात्मक पक्षहरुको बारेमा बोलेका थिए । नाटक क्याम्पसको परिषरमै देखाइएको थियो ।