काठमाडौँ ।  ‘तेता के के हुँदैछ, यता बाढी पसेर

फेरि हामी दुःखीकै खायो मुटु कलेजो

हामी भयौँ बेघरबार, हामी भयौँ बेघरबार

चरी लैजा समाचार, हामी भयौँ बेघरबार...’


गायक अञ्जान बाबुको स्वरमा गुन्जिएको यो गीत अहिले गीत मात्रै रहेन, रसुवा, नुवाकोट, धादिङ र चितवनका नदी किनारमा बस्ने कैयौँ परिवारको पीडा बनेर गुञ्जिएको छ । केही दिनअघिसम्म सुन्दर देखिएका बस्ती अहिले बगरमा परिणत भएका छन् । कतिको ज्यान गएको छ, कति बेपत्ता छन् भने कति घाइते भएका छन् । कसैको घर छैन, कसैको खेतबारी बग्यो भने कतिले व्यवसायसमेत गुमाए । 

कतिपयले आफ्ना परिवारका सदस्य कहाँ छन् भन्ने खबरसमेत पाएका छैनन् । बुधबार बिहान आकाशबाट त्यस्तो ठूलो पानी परेको थिएन । गाउँबस्तीमा बाढी आउला भन्ने कुनै सङ्केत पनि थिएन । बिहानीको समय भएकाले मानिसहरू दैनिक कामकाजमै व्यस्त थिए । कोही खाना खाँदै थिए, कोही विद्यालय जाँदै थिए भने कतिपय कार्यालयको काममा जुट्दै थिए । कोही खेतबारीमा काम गरिरहेका थिए भने केही यात्रामा ।

यहीबीच पत्तै नभई भोटेकोशी नदी एक्कासी उर्लिएर आयो । सामान्य अवस्थामा बगिरहेको नदीको आवाज एकाएक भयावह बन्यो । पानीसँगै ढुङ्गा, माटो, काठ र भग्नावशेष बगेर आए । रसुवाको माथिल्लो तटीय क्षेत्रका नदी आसपासका बस्तीमा रहेका मानिसलाई सम्हालिन र सोच्नसमेत समय मिलेन ।

वर्षौंको मेहनतले जोडेको सम्पत्ति केही मिनेटमै नदीको भेलमा मिसियो। नदी किनारमा रहेका सडक र पुलसमेत बाढीको बेगसँगै बगे। अन्य ठूला भौतिक पूर्वाधार र यातायातका साधन पनि भेलले बगायो ।

रसुवाको गोसाइँकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पु तामाङका लागि भोटेकोशी बाढीले ल्याएको विपद्को त्यो क्षण अझै पनि सपनाजस्तै लागिरहेको छ । यति ठूलो विपद्ले गाउँबस्तीलाई यसरी तहसनहस बनाउला भन्ने उनले कल्पनासम्म गरेका थिएनन ्।

“के–के भयो, भयो । अझै पनि अचम्म लागिरहेको छ । यस्तो महाविपद् आउला भनेर मैले कहिल्यै कल्पना गरेको थिइनँ । अहिले पनि यो सपना हो कि विपना जस्तो लागिरहन्छ”, उनी भन्छन् ।

बाढीले उजाडिएको बस्तीमा उद्धार तथा राहतका लागि स्थानीय तहको टोली परिचालन भइरहेको छ । तर जहाँ हे¥यो, त्यहीँ पीडा देखिन्छ । कतै भग्नावशेष छन्, कतै आफन्तको खोजीमा परिवार छन् भने कतै घरबार गुमाएका मानिस छन् । विपद्पछिको कोलाहल र मानवीय पीडा सम्झँदा अध्यक्ष तामाङको मन भारी छ ।

“बाढीले उजाडिएको बस्तीमा हामी उद्धारमा जुटिरहेका छौँ। यहाँको अवस्था र कोलाहल देख्नै सकिएको छैन । मन रोएको छ”, उनी भावुक हुँदै भन्छन ्।

अहिले गाउँपालिकाको पहिलो प्राथमिकता घाइतेको उद्धार तथा उपचार, बेपत्ताको खोजी र जीवित रहेकालाई तत्काल राहत उपलब्ध गराउनु रहेको उनी बताउँछन् । यति ठूलो विपद्को सामना गर्न स्थानीय तहको आफ्नै स्रोत, साधन र जनशक्ति पर्याप्त नभएको उनको गुनासो छ ।

“घाइतेको उद्धार गर्ने, बेपत्ताको खोजी गर्ने र बाँचेकालाई राहत उपलब्ध गराउने काममै लागिरहेका छौ ँ। तर यति ठूलो विपद्को प्रतिकार्य गर्न स्थानीय तहसँग मात्रै पर्याप्त क्षमता हुँदैन रहेछ”, अध्यक्ष तामाङ भन्छन्, “यस्तो अवस्थामा सबै तहका सरकार, सुरक्षा निकाय र सहयोगी संस्थाबीचको समन्वय झन् महत्वपूर्ण हुने रहेछ।”

फेरि पनि यस्तै विपद् दोहोरिने हो कि भन्ने सन्त्रास रहेको उनी बताउँछन् । भोटेकोशी बाढीको खबर सञ्चारमाध्यम तथा सामाजिक सञ्जाल हुँदै एकाएक देशदेखि विदेशसम्म फैलियो । बाढीका भिडियो भाइरल बन्न थाले। भिडियोमा देखिएका दृश्यले धेरैलाई स्तब्ध बनायो । बाढी आएको देख्नेबित्तिकै मानिसहरू ज्यान जोगाउन दौडिएको देखिन्थ्यो । कोही बालबालिका बोकेर भागेका थिए भने कोही वृद्ध आमाबुबालाई समातेर सुरक्षित स्थानतर्फ लाग्दै थिए। कतिपय भाग्दाभाग्दै बगेका देखिन्थे। केहीले घरको छतमा आश्रय लिए भने कतिले डाँडातिर भागेर ज्यान जोगाएका थिए।

एक वर्षअघि पनि रसुवास्थित नेपाल–चीन सीमामा रहेको ल्हेन्दे खोलामा बाढी आएको थियो। उक्त बाढीका कारण नेपाल र चीनतर्फ गरी अहिलेसम्म १९ जना बेपत्ता र सात जनाको मृत्यु भएको छ। फेरि सोही क्षेत्रमा यस वर्ष झन् ठूलो बाढीले तहसनहस बनाएर गएको छ।

जलमापन केन्द्र बगाउँदा समस्या

जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रअन्तर्गत बाढी पूर्वानुमान महाशाखाका बाढीविद्हरूलाई बुधबार बिहान कार्यालय आउनेबित्तिकै भोटेकोशीमा बाढी आएको सूचनाले झस्कायो। खानी तथा भूगर्भ विभागबाट बिहान ८ बजेर ३७ मिनेटमा चीनतर्फको हिमाली क्षेत्रमा ४.४ रेक्टर स्केलको भूकम्प गएको सूचना पनि आइसकेको थियो।

त्यसको केही मिनेटपछि भोटेकोशी–स्याफ्रुबेंसी जलमापन केन्द्रलाई बाढीले बगाएपछि त्यहाँबाट तथ्याङ्क आउन बन्द भयो।

महाशाखाकी बाढीविद् सरस्वती विष्टका अनुसार बिहान ८ः४० बजे प्राप्त अन्तिम तथ्याङ्कअनुसार भोटेकोशी नदीको जलसतह १ दशमलव ६२ मिटर मात्रै थियो। उक्त केन्द्रमा सतर्कता तह छ मिटर र खतरा तह सात मिटर निर्धारण गरिएको छ।

बिहान ९ बजेतिर जिल्ला प्रशासन कार्यालय, रसुवा तथा बेत्रावतीमा रहेका जलमापन केन्द्रका कर्मचारीमार्फत जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रमा भोटेकोशी नदीमा तिब्बततर्फबाट ठूलो बाढी प्रवेश गर्न लागेको सूचना पुग्यो।

जलमापन केन्द्रले बाढीको अवस्था देखाउन नपाए पनि बाढीसम्बन्धी पूर्वसूचना जतिसक्दो चाँडो सर्वसाधारणसम्म पु¥याएर ज्यान जोगाउने प्रयास गरिएको विष्ट बताउँछिन्।

“हामीले हेर्दा नदीको अवस्था सामान्यजस्तै देखिन्थ्यो तर त्यसको केहीबेरमै घटनाक्रमले अप्रत्याशित मोड लिएछ। सूचना पाएलगत्तै सम्भावित जोखिममा रहेका बस्तीलाई खबर गर्ने काम सुरु भयो”, उनी भन्छिन्, “अप्रत्याशित रूपमा आएको यो बाढीको पूर्वसूचना दिने समय नै कम भयो।”

विष्टका अनुसार उक्त दिन बिहान ९ः१५ बजेतिर त्रिशूली नदीको तटीय क्षेत्र हुँदै मुग्लिनसम्मका बासिन्दालाई उच्च सतर्कता अपनाउँदै सुरक्षित स्थानमा जान आग्रह गरिएको थियो। रसुवा, नुवाकोट, धादिङ र चितवनका नदी आसपासका बासिन्दालाई प्रारम्भिक पूर्वसूचना एसएमएसमार्फत पठाइएको उनी बताउँछिन्।

त्यसको एक मिनेटपछि, ९ः१६ बजे, नेपाल टेलिकम र एनसेलमार्फत त्रिशूली नदीको तटीय क्षेत्र तथा मुग्लिनसम्मका नागरिकलाई पुनः सतर्क गराइएको उनले जानकारी दिइन्।


तटीय क्षेत्रका नागरिकलाई छ लाख ७९ हजार मोबाइल एसएमएस

केन्द्रको बाढी पूर्वानुमान महाशाखाले भोटेकोशी तथा त्रिशूली नदी तटीय क्षेत्रका नागरिकलाई सचेत गराउन छ लाख ७९ हजारभन्दा बढी मोबाइल एसएमएस पठाएको जनाएको छ।

केन्द्रका प्रवक्ता डा. राजन भट्टराईका अनुसार नेपाल टेलिकम र एनसेलमार्फत छ लाख ७९ हजार २९५ एसएमएस पठाएर भोटेकोशी तथा त्रिशूली नदी तटीय क्षेत्रका नागरिकलाई चरणबद्ध रूपमा सुरक्षित स्थानमा जान अनुरोध गरिएको थियो।

भोटेकोशी–त्रिशूलीमा आएको बाढीसम्बन्धी समयमै पुगेको पूर्वसूचनाका कारण धेरैको ज्यान जोगिएको धादिङस्थित नीलकण्ठ नगरपालिकाका प्रमुख भीमप्रसाद ढुङ्गाना बताउँछन्।

“उपल्लो तटीय क्षेत्रमा बाढी गएको खबर पाउनासाथ हामीले पूर्वसूचना सबैतिर सम्प्रेषण ग¥यौँ। त्यसपछि धेरै मानिस अग्लो तथा सुरक्षित स्थानमा गएर ज्यान जोगाउन सफल भए”, नगरप्रमुख ढुङ्गाना भन्छन्।


नेपाल–चीन सीमा क्षेत्रमा हिम–चट्टान पहिरो जाँदा भोटेकोशी बाढी

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले स्याटेलाइट तस्बिरको विश्लेषणका आधारमा गरेको प्रारम्भिक अध्ययनबाट नेपाल–चीन सीमा क्षेत्रमा हिम–चट्टान पहिरो गएको र त्यसका कारण ल्हेन्दे खोलामा गेग्रानसहितको बाढी आएको निष्कर्ष निकालेको छ।

प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीका अनुसार रसुवागढी नाकाबाट करिब २० किलोमिटर उत्तरपूर्व नेपाल–चीन सीमामा गएको हिम–चट्टान पहिरोका कारण ल्हेन्दे खोलामा गेग्रानसहितको बाढी आएको र टिमुरे हुँदै उक्त बाढी त्रिशूली नदीमा मिसिएको प्रारम्भिक विश्लेषणबाट देखिएको हो।

“स्याटेलाइट तस्बिरको प्रारम्भिक विश्लेषण गर्दा रसुवागढी नाकाबाट करिब २० किलोमिटर उत्तरपूर्व नेपाल–चीन सीमामा हिम–चट्टान पहिरो गएको देखिन्छ। त्यसकै कारण ल्हेन्दे खोलामा गेग्रानसहितको बाढी आएको र टिमुरे हुँदै त्रिशूली नदीमा प्रवेश गरेको प्रारम्भिक अध्ययनबाट देखिएको छ”, उप्रेती भन्छन्। बाढीविद् विनोद पराजुलीका अनुसार घटनाको कारणबारे थप स्पष्ट हुन सो क्षेत्रमा रहेका हिमताल, हिमनदी तथा समग्र हिम क्षेत्रको सूक्ष्म अध्ययन भइरहेको छ।


सतचालीस हिमतालको जोखिम कायमै

अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) को ‘इन्भेन्टोरी अफ ग्ल्यासियर लेक्स इन द कोशी, गण्डकी एण्ड कर्णाली रिभर बेसिन्स अफ नेपाल एण्ड तिब्बत, चाइना’ शीर्षकको अध्ययन प्रतिवेदनले नेपाल, भारत र चीनमा रहेका ४७ वटा हिमताल फुट्नसक्ने जोखिममा रहेको उल्लेख गरेको छ ।

युएनडिपी र इसिमोडले संयुक्त रूपमा गरेको उक्त अध्ययनअनुसार नेपाल, भारत र चीनमा रहेका ४७ हिमताल खतरायुक्त तहमा पुगेका छन्। यी हिमताल जुनसुकै बेला फुट्नसक्ने र त्यसबाट नेपालले ठूलो धनजनको क्षति व्यहोर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ ।

अध्ययनअनुसार तीमध्ये २५ वटा चीनमा, २१ वटा नेपालमा र एउटा भारतमा पर्छन्। केही हिमताल अत्यन्त संवेदनशील मानिएका छन्, जसले ठूलो मात्रामा जनधनको क्षति गराउन सक्ने सम्भावना रहेको अध्ययनले देखाएको छ ।

प्रतिवेदनले जोखिममा रहेका हिमताल फुट्दा नेपालले अर्बौं रुपैयाँभन्दा बढी वित्तीय क्षति व्यहोर्नुपर्ने तथा ठूलो मानवीय क्षतिसमेत हुनसक्ने उल्लेख गरेको छ। क्षति न्यूनीकरणका लागि आवश्यक पूर्वतयारीका कार्यक्रम तय गर्न पनि प्रतिवेदनले सुझाव दिएको छ।


विपद्का कारण मानसिक स्वास्थ्यमा समस्या पर्नसक्छ

अचानक आएको बाढी, आफन्त गुमाउनु, घरबारविहीन हुनु वा मृत्युको मुखबाट जोगिनुजस्ता घटनाले मानिसको मानसिक स्वास्थ्यमा गहिरो असर पार्नसक्ने मनोचिकित्सकहरू बताउँछन्। पाटन मानसिक अस्पतालका वरिष्ठ मनोरोग विशेषज्ञ डा. वासुदेव कार्की भोटेकोशी बाढीजस्ता विपद्का कारण मानिसमा मनोवैज्ञानिक असर पर्नसक्ने बताउँछन्।

“बाढीका कारण घरबारविहीन हुँदा, आफन्त गुमाउँदा, घाइते भएर बाँच्नुपर्दा र फेरि पनि विपद् दोहोरिने हो कि भन्ने त्रासले मानसिक स्वास्थ्यमा प्रभाव पर्नसक्छ”, उनी भन्छन्, “कसैमा सामान्य तनाव देखिन सक्छ भने कसैमा गम्भीर मानसिक समस्या पनि उत्पन्न हुनसक्छ।”

डा. कार्कीका अनुसार विपद्पछि चिन्ता (एन्जाइटी) र डिप्रेसनजस्ता समस्या देखिन सक्छन्। लामो समयसम्म तनावमा रहँदा निद्रामा समस्या हुने, डर र बेचैनी बढ्ने, दैनिक काममा रुचि घट्ने तथा निराशा बढ्ने हुनसक्छ।

“त्यसैले भोटेकोशी विपद्का पीडितमा देखिनसक्ने मानसिक स्वास्थ्य समस्या कसरी निराकरण गर्न सकिन्छ भनेर हामीले छलफल गरिरहेका छौँ। उहाँहरूलाई निःशुल्क परामर्श दिने गरी ‘१११५’ हटलाइन सेवा सञ्चालन गरेका छौँ”, उनी भन्छन्।

मैले विशेषगरी ‘उहाँ÷उहाँले÷बताउनुभयो÷भन्नुभयो’ को ठाउँमा समाचारअनुकूल ‘उनी÷उनले÷बताउँछन्÷भन्छन्’, दोहोरिएका अभिव्यक्ति, अस्वाभाविक वाक्य संरचना, टाइपो र केही व्याकरणगत त्रुटि मिलाएको छु। उद्धरणभित्रको प्रत्यक्ष भनाइ भने मूल आशय नबिग्रियोस् भनेर सकेसम्म जस्ताको तस्तै राखिएको छ। रासस