विराटनगर । विराटनगर–६ शनिमन्दिर चोकमा रहेको पूर्वाञ्चल आयल सप्लायर्सलाई १ लाख रुपैयाँ जरिबाना गरिएको छ ।
उपभोक्तालाई इन्धनमा ठगी गरेको आरोपमा गुणस्तर तथा नापतौल कार्यालय विराटनगरले मङ्गलबार उक्त सप्लायर्सलाई १ लाख रुपैयाँ जरिबाना गर्दै पुराना मेसिन हटाएर नयाँ जडान गर्न निर्देशन दिएको हो ।
कार्यालयका प्रमुख शम्भु झाले ‘स्टाण्डर्ड नाप र तौल ऐन, २०२५’ को दफा ३० को उपदफा १ बमोजिम उक्त कारबाही गरिएको जानकारी दिए । “हामीले सञ्चालकको बयान र स्थलगत निरीक्षणपछि जरिबाना गर्ने निर्णय गरेका हौँ”–कार्यालय प्रमुख झाले भने ।
नापतौल कार्यालयले तोकेको जरिबाना रकम बुझाएपछि सञ्चालक ओमप्रकाश अग्रवालले बुधबारदेखि पम्प पुनः सञ्चालनमा ल्याएका छन् । शनि मन्दिरअगाडि रहेको उक्त पेट्रोल पम्पमा सोमबार साँझ नापतौल कार्यालयले आकस्मिक अनुगमन गरेको थियो । त्यस क्रममा डिजेल र पेट्रोल दुवैमा ठगी भइरहेको भेटिएको थियो ।
अनुगमनका क्रममा ५ लिटर पेट्रोल बिक्री गर्दा ६० मिलिलिटर र ५ लिटर डिजेल बिक्री गर्दा १ सय मिलिलिटरसम्म कम इन्धन दिएको पुष्टि भएको कार्यालयले जनाएको छ ।