काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले आगामी साउन २६ गते प्रतिनिधिसभामा उपस्थित भएर सांसदका प्रश्नको प्रत्यक्ष जवाफ दिनुपर्ने भएको छ। सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्रीलाई उक्त दिन संसदमा उपस्थित हुन निर्देशन दिएका हुन्।
धानमन्त्री पद सम्हालेपछि शाह प्रतिनिधिसभाका ३९ वटा बैठकमध्ये पाँचवटामा मात्रै सहभागी भएको विवरण सार्वजनिक भएको छ। नियमित संसदीय गतिविधिमा उनको सीमित उपस्थितिलाई लिएर विपक्षी दलका सांसदहरूले प्रश्न उठाउँदै आएका छन्।
विशेषगरी प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर हुने संसदीय प्रक्रियामा शाह सहभागी नभएको विषयलाई विपक्षी सांसदहरूले आलोचनाको विषय बनाएका छन्। उनीहरूले प्रधानमन्त्री संसदमा उपस्थित भएर सांसदका प्रश्नको जवाफ दिनुपर्ने माग गर्दै आएका थिए।
प्रधानमन्त्रीको उपस्थितिको माग गर्दै विपक्षी सांसदहरूले प्रतिनिधिसभामा ७८ दिनसम्म विरोध जनाएका थिए। प्रधानमन्त्री शाहका नेपाल–भारत सीमा सम्बन्धी अभिव्यक्तिलाई लिएर पनि उनीहरूले स्पष्ट जवाफ मागेका थिए।
सभामुखले प्रधानमन्त्रीलाई संसदमा उपस्थित हुन औपचारिक निर्देशन दिएपछि विपक्षी सांसदहरूले आफ्नो विरोध कार्यक्रम अन्त्य गरेका छन्।
संसदीय नियमअनुसार प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि सांसदहरूले आफ्ना प्रश्न पहिले नै पेस गर्नुपर्ने व्यवस्था छ। पेस भएका प्रश्नमध्ये कुन प्रश्न स्वीकार गर्ने भन्ने निर्णय सभामुखले गर्नेछन्।
साउन २६ गतेको बैठकमा सांसदहरूले प्रधानमन्त्री शाहसँग उनको सरकारको कामकारबाही तथा प्रधानमन्त्रीको जिम्मेवारीअन्तर्गत पर्ने विभिन्न विषयमा प्रत्यक्ष प्रश्न गर्न पाउनेछन्। उक्त बैठकलाई सरकारको संसदीय जवाफदेहिताका दृष्टिले महत्त्वपूर्ण रूपमा हेरिएको छ।