धरान–१२ स्थित पब्लिक हाइस्कुलमा २०६८ सालमा विद्यालय व्यवस्थापन समिति (विव्यस) सदस्यका रूपमा प्रवेश गरेका हरि कार्कीले विद्यालय व्यवस्थापनमा लामो अनुभव बटुलेका छन् । उनी दुई कार्यकाल विव्यस अध्यक्ष बने भने २०७१ सालमा शिक्षक–अभिभावक सङ्घको अध्यक्षको जिम्मेवारी पनि सम्हाले । २०७३ देखि २०८२ सालसम्म लगातार दुई कार्यकाल विव्यस अध्यक्ष रहँदै उनले पब्लिक हाइस्कुललाई धरानकै नमुना सामुदायिक विद्यालयका रूपमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेले । हाल उनी २०८३ सालदेखि धरान–१३ स्थित फुस्रे पब्लिक माध्यमिक विद्यालयको विव्यस अध्यक्षका रूपमा कार्यरत छन् । साथै, उनी सामुदायिक विद्यालय व्यवस्थापन समितिहरूको साझा सङ्गठनका अध्यक्षसमेत हुन् । फुस्रे पब्लिकको वर्तमान अवस्था, विद्यालय विकास, शैक्षिक गुणस्तर अभिवृद्धि तथा सामुदायिक विद्यालय सुधारका विषयमा ब्लाष्टका लागि कार्कीसँग गरिएको कुराकानीको सम्पादित अंशः
० विद्यालयमा आफ्ना छोराछोरी अध्ययनरत नभए पनि तपाईं विद्यालय व्यवस्थापन समिति (विव्यस) अध्यक्ष कसरी बन्नुभयो ?
– राज्यले बनाएको नीतिप्रति मेरो कुनै असहमति छैन । नगरपालिकाले बनाएको कार्यविधिअनुसार नै समिति गठन भएको हो । अहिले अध्यक्ष हुन विद्यार्थीको अभिभावक हुनुपर्ने व्यवस्था छ । तर कार्यविधिमा अन्य व्यवस्थासमेत छन् । अध्यक्ष भए पनि नभए पनि विद्यालयमा स्वयम्सेवककै रूपमा काम गर्ने हो । पदभन्दा सेवा र योगदान ठूलो कुरा हो ।यदि कानूनी रूपमा नमिल्ने ठहर भयो भने म तत्काल राजीनामा दिन तयार छु । तर विद्यालयप्रतिको सेवा भने निरन्तर रहनेछ । मेरो उद्देश्य सामुदायिक विद्यालयको शैक्षिक विकासमा योगदान गर्नु हो । सबैले विद्यालयको समग्र सुधारका लागि एकपटक जिम्मेवारी लिन आग्रह गरेपछि मैले यो भूमिका स्वीकार गरेको हुँ । मेरो घर पनि यही क्षेत्रमा भएकाले विद्यालयप्रति थप जिम्मेवारी महसुस गरेको छु ।
० विद्यालयको अहिलेको अवस्था कस्तो छ ?
– विद्यालय अहिले चुनौतीपूर्ण अवस्थामा छ । विद्यार्थी सङ्ख्या अपेक्षाकृत कम छ । भौतिक पूर्वाधारभित्र पनि धेरै पक्ष सुधार गर्नुपर्ने अवस्था छ । तर चुनौतीसँगै सम्भावना पनि उत्तिकै छन् । सबै पक्ष मिलेर काम गर्नसके विद्यालयलाई उत्कृष्ट बनाउन सकिन्छ ।
० विद्यालय सुधारका लागि तपाईंको योजना के छ ?
– हाम्रो पहिलो प्राथमिकता शैक्षिक गुणस्तर सुधार गर्नु हो । त्यसका लागि अभिभावकसँग हातेमालो गर्दै अभिभावक शिक्षा कार्यक्रम सञ्चालन गर्ने योजना छ । विद्यार्थीलाई केवल पढाउने होइन, सिकाइका लागि अनुकूल वातावरण सिर्जना गर्ने हाम्रो उद्देश्य हो । विद्यार्थी कुन सामाजिक र आर्थिक पृष्ठभूमिबाट आएको छ, घरको वातावरण कस्तो छ भन्ने बुझेर सिकाइ प्रक्रिया अघि बढाउनु पर्छ । विद्यालय, शिक्षक र अभिभावकबीच प्रभावकारी सहकार्य गरेर विद्यार्थीलाई सक्षम बनाउने लक्ष्य छ । हामीले ‘विद्यार्थी क्लिनिक’ को अवधारणा सुरु गरेका छौं । अनुशासन कायम गर्न सीसी क्यामेरा जडान गरेका छौं । अतिरिक्त कक्षा सञ्चालन गर्ने तयारीमा छौं । ‘चुज द स्टुडेन्ट’ अवधारणाअन्तर्गत थप सहयोग आवश्यक पर्ने विद्यार्थी पहिचान गरी विशेष सिकाइ कार्यक्रम सञ्चालन गर्ने योजना पनि छ ।
० विद्यालयलाई प्रविधिमैत्री बनाउने योजना के छ ?
– अवश्य छ । हामी ‘पढ्दै कमाउँदै’ भन्ने अवधारणालाई व्यवहारमा उतार्न चाहन्छौं । त्यसका लागि कृषि इन्जिनियरिङ विषय सञ्चालन गर्ने तयारी गरिरहेका छौं । धरानका विभिन्न विद्यालयमा फरक–फरक प्राविधिक विषय सञ्चालन भइरहेका छन् । फुस्रे पब्लिकमा कृषि इन्जिनियरिङ सुरु गर्न सके पूर्वका धेरै जिल्लाबाट विद्यार्थी आकर्षित गर्न सकिन्छ भन्ने हाम्रो विश्वास छ ।
० कृषि इन्जिनियरिङका लागि आवश्यक जग्गा तथा पूर्वाधार कसरी व्यवस्थापन गर्नुहुन्छ ?
– प्रयोगात्मक कक्षा सञ्चालनका लागि आवश्यक जग्गा व्यवस्थापन गर्ने प्रक्रिया सुरु भइसकेको छ । प्रयोगशाला र अन्य पूर्वाधार क्रमिक रूपमा निर्माण गर्दै जाने योजना छ ।
० विद्यार्थी सङ्ख्या कम छ। यस्तो अवस्थामा नयाँ कार्यक्रम सम्भव हुन्छ ?
– विद्यार्थी सङ्ख्या कम हुनु मात्रै होइन, सिकाइको गुणस्तरमा पनि सुधार आवश्यक छ । त्यसका लागि शिक्षकहरूसँग निरन्तर छलफल गरिरहेका छौं । विद्यालयको सफलताको आधार शिक्षक नै हुन् । सबैको सुझावलाई सम्मान गर्दै अघि बढ्ने हाम्रो नीति हो । मेरो विचार मात्रै सही हुन्छ भन्ने सोच राखियो भने विद्यालय अघि बढ्न सक्दैन । कृषि इन्जिनियरिङ सञ्चालन गर्न सके इलाम, धनकुटा, उदयपुर, विराटनगरलगायत क्षेत्रबाट विद्यार्थी आकर्षित गर्न सकिने विश्वास छ ।
० विद्यालयको भौतिक पूर्वाधार कस्तो छ ?
– भवन भए पनि भित्री संरचनामा धेरै सुधार गर्न बाँकी छ । धरान वडा नं.२०, ४ लगायतका क्षेत्रबाट विद्यार्थी आउने सम्भावना भएकाले यातायात व्यवस्थापनका लागि नगरपालिकासँग प्रस्ताव गरेका छौं । सम्भव नभए अभिभावकको सहकार्यमा विद्यालय बस सञ्चालन गर्ने योजना छ । साथै, फर्निचर, प्रविधिमैत्री कक्षा र शिक्षक व्यवस्थापनका लागि पनि नगरपालिकासँग सहयोग मागेका छौं ।
० सामुदायिक विद्यालयको सबैभन्दा ठूलो चुनौती के हो ?
– विद्यार्थी सङ्ख्या घट्नु भनेको विद्यालयप्रतिको आकर्षण कम हुनु हो । अझै पनि सामुदायिक विद्यालयमा अङ्ग्रेजी माध्यममा पढाइ हुँदैन भन्ने गलत धारणा समाजमा छ । समुदायले अपेक्षा गरेको गुणस्तरीय शिक्षा दिन नसक्नु नै सबैभन्दा ठूलो चुनौती हो । भवन राम्रो भएर मात्रै पुग्दैन । प्रविधिमैत्री र गुणस्तरीय शिक्षा आवश्यक छ । समस्या पहिचान गर्ने, समाधान खोज्ने र जिम्मेवारी निर्धारण गर्ने संस्कार विकास गर्नुपर्छ ।
० जनप्रतिनिधि वा राजनीतिक हस्तक्षेपले समस्या बढाएको हो ?
– कतिपय अवस्थामा जनप्रतिनिधि वा राजनीतिक हस्तक्षेपका कारण शिक्षक सरुवा, बजेट बाँडफाँट तथा विद्यालय सञ्चालनमा समस्या देखिएका छन् । विद्यालयलाई राजनीतिक प्रभावबाट मुक्त राखेर समुदायको सहभागितामा सञ्चालन गर्नुपर्छ । विद्यालय शान्ति क्षेत्र हो ।
० शिक्षा सुधारमा नगरपालिकाको भूमिका कस्तो देख्नुहुन्छ ?
– नगरपालिकाको भूमिका सकारात्मक छ । तर विद्यालयले पनि स्पष्ट कार्ययोजना बनाएर आवश्यकताका आधारमा माग राख्नुपर्छ । योजना र वार्षिक समीक्षा प्रभावकारी भए स्रोत व्यवस्थापन पनि सहज हुन्छ ।
० धेरै विद्यार्थी नियमित विद्यालय आउँदैनन्। शिक्षक घर–घर पुग्नुपर्ने अवस्था छ। यस्तो अवस्थामा गुणस्तर कसरी सुधार हुन्छ ?
– सामुदायिक विद्यालयमा गरिबका छोराछोरी मात्रै पढ्छन् भन्ने धारणा गलत हो । यस्तो अवस्था किन आयो भन्ने पहिचान गर्नुपर्छ ।राज्यका पदाधिकारी, शिक्षक तथा कर्मचारीले आफ्ना छोराछोरी सामुदायिक विद्यालयमा नपढाउने प्रवृत्तिले पनि यस्तो अवस्था सिर्जना भएको हो । सरकारी कोषबाट तलब खाने सबै कर्मचारी र जनप्रतिनिधिका बालबालिकालाई सामुदायिक विद्यालयमा अध्ययन गराउने व्यवस्था भयो भने विद्यालय स्वतः सुधार हुन्छ । विद्यार्थी किन नियमित विद्यालय आउँदैनन् भन्ने कारण पनि गहिराइमा अध्ययन गर्नुपर्छ । अभिभावक, विद्यालय र विद्यार्थी तीनै पक्षको भूमिका विश्लेषण गरेर समाधान खोज्नुपर्छ ।
० धरानमा शिक्षा ऐन र नियमावली नबन्दा विद्यालय सञ्चालनमा समस्या भएको हो ?
– स्थानीय सरकारले बनाएका धेरै नियमावली अहिले पनि कार्यान्वयनमा छन् । सङ्घीय ऐन आयो भन्दैमा सबै स्थानीय नीति स्वतः अमान्य हुन्छन् भन्ने मान्यता उचित होइन । स्थानीय सरकारलाई अधिकारसम्पन्न बनाइनुपर्छ ।
० विव्यसमा अभिभावकबाहेक अन्य व्यक्तिलाई पनि सहभागी गराउनुपर्छ भन्ने तपाईंको धारणा हो ?
– समुदाय भनेको अभिभावक मात्रै होइन । विद्यालयलाई योगदान गर्न सक्ने शिक्षाप्रेमी र समाजसेवीलाई पनि अवसर दिनुपर्छ । तर सक्रिय राजनीतिक हस्तक्षेप हुनुहुँदैन । राजनीतिक भागबण्डा र हस्तक्षेपले धेरै विद्यालय बिगारेका छन् । विव्यस अध्यक्षले धेरै समय दिनुपर्छ, तर कुनै आर्थिक सुविधा हुँदैन । आफ्नै खर्चमा विद्यालय पुग्नुपर्ने भएकाले धेरै अभिभावक जिम्मेवारी लिन इच्छुक हुँदैनन् । सक्षम र समय दिन सक्ने अभिभावकको अभाव पनि एउटा चुनौती हो ।
० शिक्षक सरुवा र अन्य काममा प्रअ र अध्यक्षहरूको आर्थिक चलखेल हुने गुनासो आउने गरेको छ नि ?
– यस्ता आरोप सुनिन्छन् । कतिपय विषयमा विवाद पनि भएका छन् । तर सबै घटनालाई एउटै दृष्टिकोणबाट हेर्न मिल्दैन । सरकारी कर्मचारीमध्ये शिक्षकलाई सबैभन्दा नैतिक पेसाकर्मी मानिन्छ । उनीहरूको तलबबाहेक अतिरिक्त आम्दानी हुँदैन । तर सरुवा प्रक्रियामा खर्च गर्नुपर्ने अवस्था आउनु दुःखद् हो । नीतिगत व्यवस्था स्पष्ट बनाएर सरुवा प्रणालीलाई पारदर्शी र सहज बनाइनु पर्छ ।
० सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि के गर्नुपर्छ ?
– गुणस्तर सुधारका लागि अभिभावक, प्रधानाध्यापक र विव्यस अध्यक्षबीच बलियो सहकार्य आवश्यक छ । केही व्यक्ति बसेर होटलमा योजना बनाएर विद्यालय सुधार हुँदैन । विद्यालयसँग प्रत्यक्ष सम्बन्धित सबै पक्षको अनुभव सुनेर समस्या पहिचान गर्नुपर्छ, जिम्मेवारी बाँडफाँट गर्नुपर्छ र योजनाबद्ध रूपमा अघि बढ्नुपर्छ । प्रदेशस्तरमै साझा कार्ययोजना तयार गर्ने तयारी पनि गरिरहेका छौं ।
० धरानका सामुदायिक विद्यालय सुधार्न के आवश्यक छ ?
– विद्यालयका समस्या, समाधान र जिम्मेवारी स्पष्ट हुनुपर्छ । खर्च नलाग्ने काम विद्यालयले आफै गर्नुपर्छ । स्रोत आवश्यक पर्ने विषयमा सम्बन्धित निकायसँग समन्वय गरेर सहयोग लिनुपर्छ । यही सोचका साथ काम गरिरहेका छौं । शिक्षकहरू पनि सकारात्मक हुनुहुन्छ । सबै पक्ष मिलेर काम गरे सुधार सम्भव छ ।
० अन्त्यमा केही भन्नुहुन्छ ?
– सामुदायिक विद्यालय सुधारलाई अभियानकै रूपमा अघि बढाउनुपर्छ । अभिभावक विद्यालयसँग नजोडिएसम्म वास्तविक सुधार सम्भव हुँदैन । सबै अभिभावकलाई विद्यालयका कमजोरी औंल्याउन, सुझाव दिन र सुधार अभियानमा सहकार्य गर्न आग्रह गर्दछु । फुस्रे पब्लिकमा कृषि इन्जिनियरिङ अध्यापन सुरु गर्ने तयारी गरेका छौं । विद्यालयमा छात्रावास, यातायात सेवा र किचेन व्यवस्थापनको योजना पनि अघि बढाएका छौं । विद्यालयको शैक्षिक वातावरण आफै आएर अवलोकन गर्न आग्रह गर्दछु । धरानकै उत्कृष्ट र सुरक्षित वातावरणमध्ये एक विद्यालयमा गुणस्तरीय शिक्षा दिने हाम्रो प्रतिबद्धता छ । यदि हामीले अपेक्षाअनुसार गुणस्तरीय शिक्षा दिन सकेनौं भने प्रश्न गर्नुस् । तर एकपटक विश्वास गरेर आफ्ना बालबालिकालाई सामुदायिक विद्यालयमा अध्ययनका लागि पठाइदिनुहोस् ।
प्रस्तुतिः खिलानाथ