विराटनगरमा पहिलो पटक कार्गो रेल आइपुग्नुलाई पूर्वी नेपालको औद्योगिक र व्यापारिक विकासका दृष्टिले एउटा ऐतिहासिक उपलब्धिको रुपमा लिन सकिन्छ । भारतको कोलकाता बन्दरगाहबाट रेलमार्फत् तेस्रो मुलुकका सामान सिधै विराटनगरसम्म ल्याउन सकिने व्यवस्थाले पूर्वी नेपाललाई अन्तर्राष्ट्रिय व्यापार सञ्जालसँग थप प्रभावकारी रुपमा जोड्नु खुसीको कुरा हो । यसले लामो समयदेखि वीरगञ्जमा केन्द्रित रहेको रेलमार्फत् हुने आयात प्रणालीलाई विकेन्द्रित गर्दै कोशी प्रदेशका उद्योगी–व्यवसायीलाई नयाँ अवसर प्रदान गरेको छ। नेपालको औद्योगिक क्षेत्र लामो समयदेखि उच्च ढुवानी लागत, ढिलासुस्ती र कमजोर पूर्वाधारका कारण प्रतिस्पर्धामा पछि पर्दै आएको सर्वविदितै छ। विशेषगरी पूर्वी नेपालका उद्योगहरुले कच्चा पदार्थ ल्याउन र उत्पादन बजारसम्म पु¥याउन सडक यातायातमा निर्भर रहनुपर्दा समय र लागत दुवै बढ्ने समस्या थियो। अब रेलमार्ग सञ्चालनसँगै ढुवानी लागत घट्ने, समय बचत हुने र आपूर्ति प्रणाली थप व्यवस्थित हुने अपेक्षा गर्न सकिन्छ । यसले नेपाली उद्योगको उत्पादन लागत घटाएर अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धात्मक क्षमता बढाउनसमेत सहयोग पु¥याउनेछ। अर्कोतर्फ, आधुनिक इलेक्ट्रोनिक कार्गो ट्रयाकिङ प्रणालीको प्रयोगले ढुवानी प्रक्रियालाई थप पारदर्शी, सुरक्षित र विश्वसनीय बनाएको छ। रियल–टाइम निगरानी प्रणालीले चोरी, हराउने वा अनावश्यक विलम्बजस्ता समस्यालाई न्यून गर्ने भएकाले आयातकर्ताको विश्वास बढ्नेछ। यो प्रविधिमैत्री अभ्यासले नेपालको भन्सार प्रशासनलाई पनि आधुनिक प्रणालीतर्फ उन्मुख गराउने अवसर दिएको छ। 

तर, कार्गो रेलको सफल आगमनलाई अन्तिम उपलब्धि मानेर आत्मसन्तुष्ट हुने बेला भने होइन । रेलमार्गको पूर्ण उपयोगका लागि भन्सार प्रक्रिया थप सहज, पूर्वाधार पर्याप्त र सेवा नियमित हुनु अपरिहार्य छ । एक–दुई वटा परीक्षण सफल हुँदैमा सेवा दिगो बन्दैन । रेल सञ्चालनको समयतालिका, कन्टेनर व्यवस्थापन, गोदाम क्षमता, सूचना प्रविधि र सीमा प्रशासनबीचको समन्वयलाई निरन्तर सुदृढ बनाउनु पहिलो सर्त हुन । अन्यथा प्रारम्भिक उत्साह व्यवहारमा टिक्न सक्ने छैन। अव भन्सार प्रक्रिया थप सरल, छरितो र प्रविधिमैत्री बनाउन आवश्यक छ। रेलमार्फत आएको मालसामान यार्डमै अनावश्यक रुपमा रोकिने अवस्था अन्त्य गर्न सकिए मात्र लागत घटाउने र समय बचत गर्ने उद्देश्य पूरा हुनेछ । नेपाल–भारतबीचको पारवहन समन्वयलाई पनि निरन्तर सुदृढ बनाउँदै नीतिगत अस्पष्टता हटाउन राज्य सक्रिय हुनुपर्छ । रेलमार्गलाई आयातका लागि मात्र सीमित राख्नु हुँदैन । पूर्वी नेपालका चिया, अलै“ची, अदुवा, जुटजन्य वस्तु तथा अन्य औद्योगिक उत्पादनलाई अन्तर्राष्ट्रिय बजारसम्म पु¥याउने भरपर्दो माध्यमका रुपमा यसको विकास गर्न सकिए मात्र यसको वास्तविक आर्थिक महत्व स्थापित हुनेछ । त्यसका लागि विराटनगरलाई आधुनिक लजिस्टिक हबका रूपमा विकास गर्नु, पर्याप्त गोदाम, कन्टेनर यार्ड र आवश्यक पूर्वाधार निर्माण गर्नु पर्दछ ।

अर्कोतर्फ, वर्षौंदेखि अधुरो रहेको कटहरीसम्मको रेलमार्ग समयमै सम्पन्न गरी यात्रुवाहक रेल सञ्चालनतर्फ पनि सरकारले ध्यान दिनुपर्छ । विकास आयोजनालाई उद्घाटनमै सीमित राख्ने होइन, निरन्तर सञ्चालन र विस्तार गर्ने संस्कार स्थापित गर्न सके मात्र रेल सेवाले दीर्घकालीन सफलता प्राप्त गर्नेछ । विराटनगरसम्म कार्गो रेल आइपुग्नु एउटा गन्तव्य होइन, नयाँ यात्राको सुरुवात हो। यसको सफलतालाई दीर्घकालीन उपलब्धिमा रुपान्तरण गर्न नियमित सेवा, नीतिगत स्थिरता र पूर्वाधार विस्तार अपरिहार्य छ । यदि सरकारले यही गतिमा रेल पूर्वाधार विस्तार गर्दै पूर्वी नेपाललाई व्यापारिक प्रवेशद्वारका रुपमा विकास गर्न सके, यो रेल केवल मालसामान बोक्ने माध्यम मात्र रहने छैन, यसले कोशी प्रदेशको आर्थिक समृद्धिलाई समेत गति दिने कुरामा दुई मत छैन । कार्गो रेल सेवा सुरू गराउनु मात्र राज्यको सफलता होइन । यसको नियमितता, विश्वसनीयता र आर्थिक उपयोगिता सुनिश्चित गर्नु नै राज्यको वास्तविक दायित्व हो । यदि सरकारले पूर्वाधार, नीतिगत स्थिरता र अन्तरदेशीय समन्वयलाई सुदृढ बनाउनसके विराटनगरको कार्गो रेल पूर्वी नेपालको आर्थिक रुपान्तरणको आधार बन्न सक्छ; अन्यथा यो पनि विगतका धेरै पूर्वाधार आयोजनाजस्तै सीमित उपलब्धिमा खुम्चिने जोखिम रहन्छ ।