काठमाडौँ । के तपाईं वैदेशिक रोजगारीको प्रलोभनमा परी ठगिनुभएको छ ? आफू ठगिएको थाहा पाएपछि उजुरीको कागजात बोकी वैदेशिक रोजगार विभागमा धाउनुभएको छ वा धाउनुहुन्छ भन्ने सोच्नुभएको छ ? यदि त्यसो हो भने अब उजुरीका लागि कार्यालय धाउनुपर्ने अवस्था छैन ।


सरकारले अनलाइनमार्फत नै उजुरी गर्ने व्यवस्था कार्यान्वयनमा ल्याएको छ । ‘उजुरी डोफे गभर्मेन्ट नेपाल’ नामक अनलाइन पोर्टलमार्फत अब घरमै बसेर ठगीसम्बन्धी उजुरी दिन सकिने भएको छ । अनलाइनमार्फत उजुरी दिने मात्रै होइन, त्यो उजुरीको कारबाही प्रक्रिया कहाँ पुगेको छ भन्ने समेतको विस्तृत जानकारी अनलाइनबाटै थाहा पाइने भएको छ ।


युवा, श्रम तथा रोजगार मन्त्रालयले वैदेशिक रोजगारीमा ठगिएका श्रमिकहरूको समस्या समाधान गर्न अनलाइन उजुरी प्रणाली सञ्चालनमा ल्याएको हो ।


साउन १ गतेदेखि सुरु भएको पोर्टलबारे जानकारी लिन श्रममन्त्री रामजी यादव वैदेशिक रोजगार विभाग पुगेका थिए । वैदेशिक रोजगारको प्रलोभनमा परी ठगिएका श्रमिकहरूको समस्यालाई सहज रूपमा सम्बोधन गर्न अनलाइन पोर्टलको सेवा सुरु गरिएको मन्त्री यादवले बताए । उनका अनुसार सरकारले वैदेशिक रोजगारीका नाममा ठग्दै आएका जोसुकैलाई कानुनी दायरामा ल्याउने र पीडितलाई यथाशीघ्र न्याय दिन अनलाइन पोर्टल आवश्यक रहेको बताए ।


मन्त्री यादव विभागमै पुगी पीडित र सेवाग्राहीहरूसँग भेटेर ठगी हुनबाट जोगिन र ठगी गरेका व्यक्ति वा घटनाको विवरण अनलाइन उजुरी गर्न समेत आग्रह गरे । उनले भने, “अब ठगी मुद्दा दर्ता गर्न काठमाडौँ धाइरहनु पर्दैन । घरमै बसेर अनलाइन मुद्दा दर्ता गर्ने र मुद्दाको कारबाही प्रक्रिया समेत बुझ्न सहज हुनेछ ।”


मन्त्रालयले सञ्चालनमा ल्याएको अनलाइन उजुरी पोर्टलमा पीडितले आफ्नो मोबाइल वा कम्प्युटरबाट पोर्टलमा गई आवश्यक प्रमाणहरू सङ्कलन गरेर उजुरी पेस गर्नुपर्छ । पीडितले अनलाइनमार्फत उजुरी पेस गरेपछि विभागको टोलीले त्यसको अध्ययन गरी दर्ता प्रक्रिया अगाडि बढाउनुका साथै उजुरी दर्ता हुनासाथ सम्बन्धित व्यक्तिको मोबाइलमा म्यासेज र इमेलमार्फत जानकारी जाने व्यवस्था समेत मिलाइएको छ ।


उक्त सन्देशमा उपलब्ध गराइएको ‘ट्रयाकिङ कोड’ प्रयोग गरी पीडितले जुनसुकै समयमा आफ्नो उजुरीको अवस्था र प्रगतिबारे जानकारी लिन सक्ने व्यवस्था प्रणालीमा छ ।


विभागका अनुसार साउन १ गतेदेखि पूर्ण रूपमा लागू भएको प्रणालीमार्फत चार दिनमा १४ वटा उजुरी दर्ता भएको छ । अनलाइन उजुरी दर्ता गर्ने प्रणालीको प्रयोगमा बानी विस्तार गर्न कर्मचारीले समेत अभ्यास गरिरहेका छन् । विभागको मुद्दा दर्ता शाखाका एक कर्मचारीले भने, “उजुरीको फाइल बोकेर आउने सेवाग्राहीको पनि यही कार्यालयबाटै अनलाइन उजुरी दर्ता गर्दै आएका छौँ ।” अधिकांश सेवाग्राहीलाई अनलाइन उजुरी प्रणाली छ भन्ने जानकारी नहुँदा कार्यालयमै फाइल बोकेर आउने गरेको उनले बताए । रासस