विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिका–१० स्थित सुकुना माध्यमिक विद्यालयमा छात्राहरूमाथि भएको दुव्र्यवहार प्रकरणमा पक्राउ पर्नेहरूको सङ्ख्या चार पुगेको छ ।
फरार रहेका सङ्गीत शिक्षक भीम नेपाललाई सोमबार साँझ प्रहरीले नियन्त्रणमा लिएसँगै पक्राउ पर्नेको सङ्ख्या चार पुगेको हो । जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी डिएसपी मकेन्द्र मिश्रका अनुसार नेपाललाई सोमबार साँझ पक्राउ गरिएको र उनीमाथि थप अनुसन्धान भइरहेको छ । यसअघि सोमबार बिहानै प्रहरीले विद्यालयका लेखा अधिकृत तथा शिक्षक अविरल मास्के, शिक्षक किशोरलाल गच्छदार र बस चालक प्रदीप भट्टराईलाई पक्राउ गरिसकेको थियो । सामाजिक सञ्जालमा सार्वजनिक भएका प्रमाण र उजुरीका आधारमा उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
यसरी बाहिरिएको थियो घटना
यो गम्भीर विषय बाहिर आउनुको पछाडि विद्यालयको शुल्क वृद्धिको विरोध कार्यक्रम माध्यम बनेको थियो । विद्यालयले ट्रान्सक्रिप्टका लागि तीन हजार ७ सय रुपैयाँ शुल्क लिएको भन्दै विद्यार्थीहरूले फेसबुकमा ग्रुप बनाएर विरोध सुरु गरेका थिए । तर विद्यालय प्रशासनले विद्यार्थीहरूको आवाज दबाउन खोज्दै उनीहरूलाई ‘साइबर अपराध’ अन्तर्गत कारबाही गर्ने धम्की दियो । प्रशासनको धम्कीपछि आक्रोशित छात्राहरूले शिक्षक तथा कर्मचारीहरूले विगतमा पठाएका अमर्यादित म्यासेजका स्क्रिनसट र भ्वाइस क्लिपहरू सोही ग्रुपमा प्रमाणका रूपमा सार्वजनिक गर्न थाले । यसरी एउटा सामान्य विरोध कार्यक्रमले विद्यालयभित्र हुने गरेको गम्भीर नैतिक अपराधको पर्दाफास ग¥यो ।
पीडितका कारुणिक भोगाइ
सामाजिक सञ्जालमा सार्वजनिक भएका विवरण र अडियो रेकर्डअनुसार शिक्षकहरूले छात्राहरूलाई राति अबेरसम्म फोन गरेर मानसिक र शारीरिक दुव्र्यवहार गर्ने गरेको खुलेको छ । एक भूतपूर्व छात्राका अनुसार शिक्षकले राति ११ बजे फोन गरेर ‘तिम्रो उत्तरपुस्तिका मसँगै छ, कति नम्बर चाहिन्छ ? ५० वटा जति फोटो पठाऊ र भिडियो कल उठाऊ’ भन्दै दबाव दिने गरेका थिए ।
अर्की छात्राले विद्यालयमै शिक्षकहरूले ‘मेकअप गरेकी छ्यौ’ भन्दै गाला सुमसुम्याउने र अस्वभाविक रूपमा छुने गरेको पीडा पोखेकी छन् । बाटो ढुकेर बस्ने, ‘बेबी, डार्लिङ’ जस्ता शब्द प्रयोग गरेर जिस्क्याउने र अश्लील आशयका कुरा गर्ने गरेको गुनासो पनि बाहिरिएको छ । छात्राहरूले यसअघि पनि विद्यालय प्रशासनलाई यस्ता दुव्र्यवहारबारे जानकारी गराएका थिए । तर प्रधानाध्यापक हिक्मत बस्नेतले ठोस कारबाही नगरेको विद्यार्थीहरूको आरोप छ । प्रधानाध्यापक बस्नेतले बेनामे इमेल आएको स्वीकार गरे । उक्त इमेलमा शिक्षक किटान नभएकाले त्यतिबेला केही खुल्न नसकेको उनले दाबी गरेका छन् ।
हाल विद्यालयले शिक्षक अविरल मास्के, भीम नेपाल र चालक प्रदीप भट्टराईलाई निलम्बन गरिसकेको छ । सुन्दरहरैँचा नगरपालिकाले पनि दोषीमाथि कडा कारबाही गर्न र अनुसन्धानमा सहयोग गर्न निर्देशन दिएको छ । डिएसपी मिश्रका अनुसार पक्राउ परेका चारै जनाविरुद्ध म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको छ । घटनामा अन्य व्यक्तिको संलग्नता भए–नभएको बारे पनि प्रहरीले सूक्ष्म अनुसन्धान गरिरहेको छ । प्रहरीले घटनाको वास्तविकता अनुसन्धानबाट खुल्ने भएकाले अपुष्ट सूचना वा आरोपहरूलाई तथ्यका रूपमा प्रचार नगर्न सबैसँग आग्रह गरेको छ ।