काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा रहेको जनाएको छ । उपल्लो जलाधार क्षेत्रमा निरन्तर वर्षा भइरहेकाले कोशी नदीको जलस्तर सोमबारसम्म सतर्कता तह पार गर्न सक्ने सम्भावना रहेको विभागले जनाएको छ ।


विभागकी बाढीविद् सरस्वती विष्टले उपल्लो तटीय क्षेत्रमा निरन्तर वर्षा भइरहेकाले कोशी नदीको बहाव उल्लेख्य बढ्न सक्ने बताइन् । “आज साँझसम्म कोशी नदीको जलस्तर चार दशमलव ७८ मिटर पुगेको छ र बहाव बढ्दो क्रममा छ । आज राति पनि उपल्लो क्षेत्रमा वर्षाको सम्भावना रहेकाले सोमबार बिहानसम्म नदीले ६ मिटरको सतर्कता तह पार गर्न सक्छ”, उनले भनिन् ।


विष्टका अनुसार नदीको जलस्तर ६ मिटर पुगेमा सतर्कता तह र ७ मिटर पुगेमा खतरा तह पार गर्नेछ । नदी तटीय क्षेत्रका बासिन्दाले उच्च सतर्कता अपनाउनुपर्ने उनको भनाइ छ ।


राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका निमित्त कार्यकारी प्रमुख प्रदीपकुमार कोइरालाले सम्भावित बाढी जोखिमलाई ध्यानमा राख्दै कोशी ब्यारेजका ५२ वटा ढोका खोल्ने विषयमा सम्बन्धित निकायसँग समन्वय भइरहेको जानकारी दिए । उनले बाढीको अवस्था निरन्तर अनुगमन भइरहेको र आवश्यकताअनुसार पूर्वतयारी तथा प्रतिकार्यका सबै संयन्त्रलाई तयारी अवस्थामा राखिएको बताए ।


विभागले देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षाको पूर्वानुमान गरेसँगै बाढी, पहिरो र डुबानको जोखिम बढ्न सक्ने भएकाले नदी तटीय क्षेत्रका बासिन्दा, यात्रु तथा स्थानीय तहलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । रासस