काठमाडौं । नयाँ आर्थिक वर्षको पहिलो दिन धितोपत्र बजारमा सेयर कारोबारसँगै नेप्से परिसूचक उच्च अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ७९ दशमलव ७४ अङ्कले बढेर दुई हजार ६७७ दशमलव ५४ मा पुगेको छ ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ११ दशमलव ५१ अङ्कले उकालो लागेर ४६८ दशमलव ३८ मा पुगेको छ । त्यस्तै फ्लोट सूचक ५ दशमलव ४५ अङ्कले बढेर १०८ दशमलव ०३ मा पुगेको छ ।

त्यस्तै सेन्सेटिभ फ्लोट सूचक भने ४ दशमलव १३ अङ्कले बढेर १०८ दशमलव ५६ मा पुगेको छ । आज विभिन्न कम्पनीका १ करोड ३ लाख ८९ हजार ७७ कित्ता सेयर ४ अर्ब ५७ करोड ५० लाख ९४ हजार ७ सय २३ मूल्यमा खरिद बिक्री भएको छ ।

साथै १३ उपसमूहमध्ये १२ उपसमूह बढ्यो भने एक उपसमूह घटेको छ । आज २५९ कम्पनीको सेयर बढ्यो भने १३ कम्पनीको सेयर घट्यो । त्यसैगरी २ कम्पनीको सेयर स्थिर रह्यो ।

नेप्सेका अनुसार आज श्रीनगर एग्रिटेक इन्डष्ट्रिज, सूर्यकुण्ड हाइड्रोपावर र शिखर पावर डेभलममेन्टका लगानीकर्ताले कमाएका छन् । त्यस्तै गरी आत्मनिर्भर लघुवित्त वित्तीय संस्था, फष्ट माइक्रो फाइनान्स र आरबिबि लगायतका लगानीकर्ताले गुमाएका छन् । रासस