२०७५ सालमा तीन जना सुरक्षाकर्मी खटाएर अस्थायी प्रहरी चौकी स्थापना हुँदा लागूऔषध दुव्र्यसनलगायतका आपराधिक क्रियाकलाप नियन्त्रण हुने अपेक्षामा धरान–१३ का स्थानीय उत्साहित थिए । तर सात वर्ष बितिसक्दा पनि आवश्यक सुरक्षाकर्मीको अभावले आपराधिक गतिविधि उस्तै रहेको स्थानीयवासीले गुनासो गरेका छन् ।
स्थानीयका अनुसार प्रहरीको दरबन्दी न्यून हुँदा लागूऔषध कारोबार नियन्त्रण हुन सकेको छैन । नागरिक सुनुवाइ कार्यक्रममा सहभागीहरूले ‘घुमुवा प्रहरीकै सेटिङमा लागूऔषध कारोबार भइरहेको’ आरोपसमेत लगाए । धरान क्षेत्रमा रहेका तीनवटा प्रहरी चौकीमा जम्मा एक सय ३७ जनाको मात्र दरबन्दी हुँदा सुरक्षा व्यवस्थापन प्रभावकारी हुन नसकेको सरोकारवालाहरूले बताए । उनीहरूले सुरक्षा निकायको सङ्ख्या वृद्धि तथा निगरानी कडाइ गर्न माग गरेका छन् । धरान–१३ का स्थानीय घनश्याम तिम्सिनाका अनुसार २०७५ सालमा चौकी स्थापना गर्दा वडा नं. १३ मा ७ हजार ५ सय जना जनसङ्ख्या, ६ वटा चोक थिए र १६ वटा सडक थिए ।
“अहिले १३ हजार जनसङ्ख्या छ । १६ वटा चोक र ४१ वटा बाटो छन्” तिम्सिना भन्छन्, “७५ सालमा स्थापना गर्दा ३ जना सुरक्षाकर्मी, अहिले पनि तीन जना नै हुनुहुन्छ । सात हजारलाई पनि भ्याउँदै हुनुहुन्थ्यो । १३ हजारलाई पनि भ्याउनु परेको छ । के सुरक्षा दिन सक्नुहोला ?” उनका अनुसार प्रहरी चौकीमा स्रोतसाधन, गाडी, तेललगायतको समेत समस्या भएको छ । उनी राज्यले सुरक्षाकर्मीलाई स्रोतसाधन दिन्छ कि दिँदैन ? गाडी दिन्छ कि दिँदैन ? भनी प्रश्न गर्छन् । उनी कम्तीमा पाँच जना सुरक्षाकर्मी थप्न माग गर्छन् ।
इलाका प्रहरी कार्यालय धरानले गत फागुनमा सार्वजनिक गरेको अपराधको तथ्याङ्कले पनि अन्य अपराधको तुलनामा लागूऔषध कारोबार तथा सेवनको अवस्था नियन्त्रणबाहिर गइरहेको छ भन्ने देखाएको थियो ।
धरान–५ का स्थानीय कविचन्द्र याक्खा लागूऔषध दुव्र्यसन नियन्त्रण गर्न सुरक्षाकर्मीको कमी हुनु प्रमुख समस्या भएको बताउँछन् । उनका अनुसार विभिन्न टोल विकास संस्थाले लागूऔषध दुव्र्यसन नियन्त्रण गर्न लागिपरे पनि नियन्त्रण गर्न सकिएको छैन । उनी भन्छन्, “सुरक्षाकर्मी न्यून, स्रोत साधनको अभावले लागूऔषध नियन्त्रणमा समस्या भएको हो ।” उनका अनुसार धरान–५ देउरालीमा ५ जना मात्र सुरक्षाकर्मी छन् । उनी भन्छन्, “सुरक्षाकर्मीको सङ्ख्या बढाइदिन माग गर्छु ।” उनी स्थायी प्रहरी चौकी बनाइदिन प्रशासनसँग माग गर्छन् । सुरक्षाकर्मी कम र स्रोतसाधनको अभावले लागूऔषध नियन्त्रणमा समस्या भएको बताउँदै भन्छन्, “लागूऔषध दुव्र्यसन नियन्त्रणका लागि स्थानीय सरकारसँग माग गर्छु ।”
यस्तै धरान–११ का स्थानीय उमेश राई पनि सुरक्षाकर्मी न्यून भएकाले नै लागूऔषध नियन्त्रण असम्भव भएको बताउँछन् । उनी भन्छन्, “हामी टोल विकास समितिको सङ्गठन बनाएर नियन्त्रण गर्न लागिपरेका छौँ । तर, सम्भव भएको छैन ।” धरान–१७ र ११ सुकुम्बासी बस्ती भएको बताउँदै भन्छन्, “खोलाको क्षेत्रमा लागूऔषध धेरै प्रयोग र कारोबार हुन्छ ।” लागूऔषध कारोबार गर्न भारतीय गाडी नै आउने गरेको उनको आरोप छ । उनले भारतीय सवारी साधन र एम्बुलेन्सलाई विशेष निगरानी गर्न प्रहरीलाई अनुरोध गरे । उनी पनि घुमुवा प्रहरीको सेटिङमा नै लागूऔषध कारोबार हुने गरेको बताउँछन् । उनी स्वयम् पूर्व प्रहरीसमेत हुन् ।
उनी भन्छन्, “घुमुवाको सेटिङमा नै लागूऔषध कारोबार भइरहेको सुन्नमा आउँछ । कमिसन दिनेलाई छुटाउने र नदिनेलाई पक्राउ गर्ने गरेको सुनिन्छ ।” उनी थप्छन्, “ठूलो माछा पक्राउ परेको छैन । सानो सानो पक्राउ परेका छन् ।” लागूऔषध दुव्र्यसनी र कारोबारीलाई राजनीतिक दल तथा सामाजिक संस्थाका नेताले बचाउने गरेको बताउँदै उनले भने, “छुटाउनका लागि प्रहरीलाई फोन नगर्न आग्रह गर्छु ।” नागरिक सुनुवाइ कार्यक्रममा प्रायः वडाका टोल विकास संस्थाका अध्यक्ष तथा प्रतिनिधिले सुरक्षाकर्मीको न्यूनताका कारणले आपराधिक क्रियाकलाप बढिरहेको बताएका थिए । सुरक्षाकर्मी समयमा घटनास्थलसम्म नपुग्ने गरेको उनीहरूको भनाइ छ । उनीहरूले नेपाल सरकारसँग सुरक्षाकर्मी मात्र नपठाई स्रोतसाधनसमेत पठाउन माग गरे । कतिपय चौकीमा प्रहरी बस्ने आवास पनि उपयुक्त नभएको स्थानीयवासीले सुनाए ।
आसरा सुधार केन्द्रकी उपाध्यक्ष शीला बज्राचार्य पारिवारिक कलहका कारणले पनि लागूऔषध दुव्र्यसनी र कारोबारी बढेको बताउँछिन् । उनी सुधार केन्द्रबाट फर्किएका ५० प्रतिशत पुनः आउने गरेको बताउँदै भन्छिन्, “फर्किनेहरूले घरपरिवारले रेस्पेक्ट गर्दैन भन्छन् ।” प्रहरीलाई डिजेल, गाडी मर्मत, बिजुली, पानीको महसुल तथा प्रशासनिक खर्च व्यक्ति, संस्था, वडा कार्यालयले दिने गरेको स्थानीयले बताएका छन् । स्थानीय सरकार तथा वडा कार्यालयले प्रहरीलाई प्रदान गरेको डिजेल, पूजा खर्चदेखि भौतिक पूर्वाधारको रकम महालेखाले बेरुजु लेखिदिने गरेकोमा धरान उपमहानगरका कार्यवाहक प्रमुख अइन्द्रविक्रम बेघाले असन्तुष्टि व्यक्त गरे ।
यद्यपि बेघाले धरानवासीको सुरक्षामा सहयोग गर्ने बताए । इलाका प्रहरी कार्यालय धरानका डिएसपी भीषणबाबु राईका अनुसार धरानमा एक सय ३७ प्रहरीको दरबन्दी मात्र रहेको छ भने ३ वटा मात्र स्थायी चौकी छन् । इलाका प्रहरी, वडा प्रहरी कार्यालय र धरान–६ पानबारीको मात्र स्थायी चौकी हो । डिएसपी राई धरानको सुरक्षामा कम्तिमा ३ सय प्रहरी दरबन्दी आवश्यक पर्ने बताउँछन् । स्थानीयवासीले कुकुरलाई सडकमा दिसापिसाब गराउने, सडक अतिक्रमण गरी व्यापार गर्नेलगायतका समस्या भएको र त्यसको नियन्त्रण गर्न माग गरे ।






























