भोलि (शुक्रबार) अर्थात् मङ्सिर २८ गते देशैभरिका पत्रकारहरू आआफ्ना नेता छान्न तल्लिन हुँदै छन् । नेपाल पत्रकार महासङ्घका अनेकन तिकडम र बाहानावाजीका बावजुद हुन लागेको यो चुनावले पक्कै पनि श्रमजीवी पत्रकारहरूका लागि अहम् विषय हो । पत्रकारहरू स्वभावैले पनि सचेत वर्गमा पर्दछन् । समाजलाई सुसूचित गर्ने जिम्मेवारी पाएका पत्रकारहरूले आफ्नो नेतृत्व छान्दा पनि विचार पुर्याउनुपर्ने हुन्छ ।

राज्यको तीनवटा अङ्ग व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकालाई ‘चेक एन्ड ब्यालेन्स’ गर्ने चौथो अङ्गको रूपमा चित्रित पत्रकारहरूले पक्कै पनि यतिबेला गम्भीर मन्थन गर्नु जरुरी छ । हामी यस्तो मोडमा उभिँदै छौँ जहाँबाट हामीले नयाँ नेतृत्व पाउँदै छौ । त्यो नेतृत्व श्रमजीवी पत्रकारहरूको हितमा काम गर्छन् कि गर्दैनन् भन्ने अहम् प्रश्न पनि हामीमाझ टड्कारो रूपमा उभिएको छ । त्यसकारण पनि हामीले, हाम्रो नेतृत्व चयन गरिरहँदा विभिन्न आधारमा चयन गर्नु उपयुक्त हुन्छ भन्ने मैले ठानेको छु । 

म आफै पनि नेपाल पत्रकार महासङ्घ सुनसरी शाखाको साधारण सदस्यको हैसियतले सबैमाझ यो आग्रह गर्न चाहन्छु कि यहाँ हुँदै प्रदेश र केन्द्रमा मनोनयन गरेका उम्मेदवारहरूको गम्भीर विश्लेषण र चिन्तन गरौँ अनि मात्रै मताधिकार प्रयोग गरौँ । मत हाल्नु नागरिकको अधिकार हो । हामी नागरिकको हैसियतमा मात्रै हैन, त्योभन्दा माथि उठेर सबल नेतृत्व ल्याउन आवश्यक छ । हामीले चयन गरेको नेतृत्वले आम श्रमजीवी पत्रकारहरूको हकहित र अधिकारका मुद्दाहरू उठाउन सक्छन् कि सक्दैनन् ? यो प्रश्न हाम्रो सामु अहिले टड्कारो रूपमा उभिएको छ । 

हो, यतिबेला हामी इतिहासको समीक्षा गर्दै अगाडि बढ्ने सङ्गीन मोडमा छौँ । यो मोडलाई हरतरहले बुझ्न जरुरी छ । लहडका भरमा तथा राजनीति आशक्तिका भरमा, नेताले भनेको भरमा लाग्ने भन्दा पनि आफ्नो स्वविवेक प्रयोग गर्ने बेला हो । यो बेलामा ध्यान पुर्याउन सकिएन भने इतिहासले फेरि एकपटक हामीलाई पछाडि धकेल्ने छ । हामीले केन्द्र, प्रदेश हुँदै जिल्ला तहका पदाधिकारीहरूको कर्तव्य, जिम्मेवारी र काम गराइलाई हेरिसकेका छौँ । जसले इतिहासमै महासङ्घको गरिमालाई धुलिसात बनाए । यो इतिहासलाई चटक्कै भुलेर अगाडि बढ्ने हो भने हामी सही नेतृत्व पाउन सक्दैनौँ । 

 प्रश्न गर्ने धर्मबाट पछाडि हट्नु भनेको उत्तर नखोज्नु हो । हो हामी यही अवस्थामा आइपुगेका छौँ, अब प्रश्न गर्ने पालो हामी सबैको हो । नेतृत्वलाई प्रश्न गरौँ र हाम्रो उत्तर दिन नसक्नेलाई ‘नो’ भनौँ । ‘नो’ भन्नुको अर्थ मताधिकार प्रयोग नगर्नु होइन । ठीक ठाउँमा प्रयोग गर्नु चाहिँ हो ।

सही नेतृत्व छान्नका लागि हामीले आफ्नो विवेकलाई तठस्थ राखेर हेर्नुपर्ने हुन्छ । हामी यस्तो परिस्थितिमा कसरी अगाडि बढ्ने, कस्तो नेतृत्वलाई छान्ने, किन उसलाई छान्ने आदि जस्ता अनेकन दुविधामा परिरहेका हुन्छौँ । आउनुस् यसबारे एकपटक छलफल गरौँ । 

पहिलो, नेतृत्व छान्ने पहिलो आधार भनेको उसका विगतहरू । जो अध्यक्षलगायत पदमा उम्मेदवारी मनोनयन गरेका छन् । उनीहरूले श्रमजीवी पत्रकारहरूको हकहितमा कति आवाजहरू उठाए ? मुद्दा स्थापित गर्न कत्तिको भूमिका खेले ? पत्रकारलाई समस्या परेका बेलामा उनीहरू कति सहभागी भए ? यस्ता आम प्रश्नको उत्तर खोजेर जाने हो भने हामी सही दिशामा अगाडि बढ्न सक्छौँ । यस्ता प्रश्नको उत्तर खोजेर जाने हो भने हाम्रा लागि मार्गनिर्देशन बन्न सक्छन् । यो केन्द्रदेखि जिल्ला तहसम्मै पनि लागू हुन्छ । 

दोस्रो, कार्यकाल । कुनै पदाधिकारीहरूले आफ्नो कार्यकालको समयमा के के गरे ? कार्यकाल राम्रोसँग पूरा गरे कि गरेनन् ? आफ्नो कार्यकाललाई कस्तो बनाए । श्रमजीवीको मुद्दा उठाए कि उठाएनन ? पत्रकारहरूको मुद्दामा उनीहरू कत्तिको अडिग रहे ? आदि जस्ता विषयलाई बढीभन्दा बढी ध्यान दिने हो भने प्रष्ट भइहालिन्छ । कुनै पनि कार्यकालमा उसले खेलेको भूमिकालाई गम्भीर मन्थन गरेर अगाडि बढ्ने हो भने समस्या हल भइहाल्छ । दोधारमा पर्ने स्थिति सिर्जना हुँदैन । 

तेस्रो, मुद्दा । श्रमजीवी पत्रकारहरू आज दिनानुदिन पलायन भएको स्थिति छ । कतिपय पलायन भइसकेका छन् भने कतिपय पलायनको मनस्थितिमा छन् । पत्रकारिता पेशा असुरक्षित बन्दै गइरहेको छ । आर्थिक असुरक्षा हिजोदेखिकै मुद्दा हो । तर अन्य कारणहरू पनि यसमा मिसिएका छन् । बहुआयमिक कोणबाट हेर्ने हो भने अहिले सामाजिक सञ्जाल, अनलाइन, युट्युबलगायतले गर्दा मूलधारका पत्रकारहरूको अस्तित्व नामेट हुने स्थिति छ । यो स्थितिलाई अहिलेसम्म पनि नेतृत्व तहले बुझ्न सकेको देखिँदैन । हाम्रा मुद्दाहरुलाई प्राथमिकीकरण गर्न सकेको देखिँदैन ।

खालि हावामा कावा खाने प्रचलन व्याप्त छ । सबैभन्दा अहम् प्रश्न नै मुद्दा हो । श्रमजीवी पत्रकारहरू बाँच्नका लागि सङ्घर्ष गरिरहनु परेको छ । छाता संस्थाको रूपमा रहेको महासङ्घ राजनीति अखडा मात्रै बनेको सर्वविदितै छ । यहाँ न त कहिल्यै ट्रेड युनियनको कुरा हुन्छ न त पत्रकारहरूको हकहितको कुरा । आफूलाई उभ्याउन जस्तोसुकै तिकडम गर्न पनि पछि परेका छैनन् । राजनीतिक आशक्ति यति बढेको छ कि जसले श्रमजीवीका मुद्दालाई उठाउनै सकेका छैनन् । जसले गर्दा मूलधारका पत्रकारहरू आजका दिनमा झोले पत्रकारको रूपमा ट्याग लागेको छ । यसलाई निमिट्यान्न पार्नका लागि कुनै पनि नेतृत्वले अहिलेसम्म प्रयास गरेको देखिँदैन । आफूलाई मञ्चमा उभ्याउने थलो मात्रै बनाइरहेका छन् । 

चौथो, हामीले के गर्ने ? अर्थात् श्रमजीवी पत्रकारले के गर्ने ? यी माथिका बुँदाहरूलाई गम्भीर मनन गरेर अगाडि बढ्ने हो भने हामी एउटा निचोडमा पुग्न सक्छौँ, त्यो भनेको अब हामीले छान्ने नेतृत्व भनेको श्रमजीवी पत्रकारहरूको आर्थिक मुद्दादेखि सुरक्षाको मुद्दासम्म हो । ती मुद्दाहरू उठाउँछन् कि उठाउँदैनन् ? यस्ता मुद्दालाई स्थापित गर्ने नेतृत्व आएन भने फेरि पनि हामी इतिहासमा पछाडि पर्ने छौँ । हाम्रा मुद्दाहरू पछाडि पर्नेछन् । हामीले हाम्रा उम्मेदवारहरूलाई प्रश्न गर्नुपर्छ ।

पत्रकारितामा प्रश्न नै पहिलो धर्म हो । त्यो धर्म हामीले नेतृत्व तहसँग पनि गर्नुपर्छ । हाम्रो सङ्गठन, हाम्रो नेता भनेको भर मत हाल्ने हो भने त्यसले हामीलाई अन्ततः दास बनाउँछ । के हामी दास हौँ ? के हामी दासत्व स्वीकार गर्न तत्पर छौँ ? जबसम्म यावत प्रश्न आफैले आफैलाई गर्दैनौँ तबसम्म हामीले उत्तर पाउने छैनौँ । 

नेता र नेतृत्व, हा.. हा.. हो.. हो...मा लागेर हामी हिँड्ने हो भने हाम्रो भविष्य झनै अन्धकार छ । नेतृत्व तहलाई प्रश्न गर्ने बेला यही हो । यो बेलामा प्रश्न नगर्ने हो भने हामी कहिल्यै प्रश्न गर्न सक्दैनौँ । किनकि हामी यति भुत्ते भइसक्यौँ कि हाम्रो कलमको निबहरू भाँचिसकेका छन् । हामी आज सूचना उत्पादन गरिरहेका छौँ । जुन समाजलाई कतै न कतैबाट प्राप्त भइरहेका छन् । हामीले समाचार उत्पादन गर्ने गरी काम गर्नुछ । समाचार उत्पादन गर्दा नेतृत्व तहले ती पत्रकारहरूलाई थप सबल र सशक्त बनाउन सोहीअनुसारको तालिम, सशक्तीकरण तथा सचेतना दिन आवश्यक छ । के नेतृत्व तह अहिले त्यो बाटोमा अगाडि बढेको छ त ? पक्कै पनि छैन । हरेक काम ठीक समयमा र ठीक अवस्थामा भएन भने भाग्यवादको पछाडि हिँड्नुभन्दा अर्को विकल्प हामीसँग हुँदैन । 

नियतिको खेल भन्दै भाग्यवादको पछाडि हिँड्ने हाम्रा पत्रकारहरू पक्कै पनि विदेशिन बाध्य हुनेछन् । त्यो बाध्यताको सिर्जना नेतृत्व तहले नै गरिरहेको छ किनकि पत्रकार उत्पादन गर्नुको सट्टा राजनीतिक दलका पिछालग्गुहरू निर्माण गरिरहेका छौँ । जबसम्म पत्रकारहरूले यो सङ्गीन घडीमा ठीक निर्णय गर्न सक्दैनन् तब हाम्रो पत्रकारिताको मूल मर्म नै सकिन्छ । प्रश्न गर्ने धर्मबाट पछाडि हट्नु भनेको उत्तर नखोज्नु हो । हो हामी यही अवस्थामा आइपुगेका छौँ, अब प्रश्न गर्ने पालो हामी सबैको हो । नेतृत्वलाई प्रश्न गरौँ र हाम्रो उत्तर दिन नसक्नेलाई ‘नो’ भनौँ । ‘नो’ भन्नुको अर्थ मताधिकार प्रयोग नगर्नु होइन । ठीक ठाउँमा प्रयोग गर्नु चाहिँ हो ।