इटहरी । विपद् व्यवस्थापनमा जुट्नुपर्ने बेलामा स्थानीय तहहरू बजेट सक्नका लागि कोठे कार्यक्रममा व्यस्त छन् । जसले गर्दा मनसुन नजिकिँदा पनि विपद् व्यवस्थापनका लागि गृहकार्य गरेको पाइँदैन ।

२०७४ साल साउनमा आएको बाढीले इटहरीमा ९ जनाको ज्यान लियो भने अर्बौंको क्षति भयो । चार हजारभन्दा बढी स्थानीयहरू विस्थापित भए । तीमध्ये केही अहिले पनि खुला आकाशमुनि बस्न बाध्य छन् । यो वर्ष पनि मनसुन भित्रिने तयारी छ । मौसम विभागले जेठ ३१ गतेदेखि कोशी प्रदेशबाट मनसुन सक्रिय हुने र अन्य वर्षको तुलनामा यो वर्ष अत्यधिक वर्षा हुने भनी अग्रिम जानकारी गराइसकेको छ । तर सुनसरीमा भने विपद् व्यवस्थापनका लागि कुनै गृहकार्य भएको देखिएको छैन ।

विभागले कोशी प्रदेशमा करिब पाँच लाख मानिसहरू प्रत्यक्ष प्रभावित हुने र अगाडि नै विपद् व्यवस्थापनमा जुट्न स्थानीय तहलाई चेतावनीसमेत दिइसकेको छ । तर, स्थानीय तहहरू भने हाल बजेट बनाउन र बचेको रकम असार मसान्तसम्ममा सिध्याउन विभिन्न कोठे कार्यक्रमहरूमा व्यस्त छन् । स्थानीय तहहरू आगामी असार १० गतेभित्रै बजेट ल्याउने तयारीमा जुटिरहँदा प्राकृतिक प्रकोप बाढी पहिरोबाट बच्न र बचाउन नगरवासीहरूमा सूचनासमेत प्रवाह गर्न सकेका छैनन् । जिल्लामा विपद् व्यवस्थापनका लागि स्थानीय तहहरू प्रशासन कार्यालयकै भर परेर बसेका छन् ।

सुनसरीको रामधुनी नगरपालिकाका प्रमुख शङ्कलाल चौधरी बाढीबाट नगरलाई जोगाउन र नगरवासीमा सचेतना जगाउन यसअघि नै सूचना प्रवाह गरिसकेको र जिल्ला प्रशासन कार्यालयसँगै प्रहरी प्रशासनसँग पनि सहकार्य गरिरहेको दाबी गर्छन् । गतवर्ष आएको बाढीले रामधुनीमा ६० लाख बढीको क्षति पु¥याएको थियो भने ५ हजार बढी  स्थानीयवासी प्रत्यक्ष प्रभावित बनेका थिए । त्यस्तै सुनसरीको इटहरी उपमहानगरमा नगर प्रहरीदेखि स्थानीय प्रहरी प्रशासनसम्म हाइअलर्टमा रहेको दाबी गरेका छन् । बाढीबाट सबैभन्दा बढी पीडित इटहरी १ का बासिन्दा हुन् । यो वर्ष टेङ्ग्रा खोला सफाइ अभियानले स्थानीयमा केही राहत मिल्ने उपमहानगरका नगर प्रमुख हेमकर्ण पौडेलले दाबी गरिरहँदा स्थानीयहरूले भने असन्तुष्टि जनाउँदै आएका छन् ।

जहाँ बाढीले धेरै क्षति पु¥याउँछ, सोही स्थानमा खोला सफाइ रोकिएको बताउँदै यो वर्ष झन् धेरै नगरवासीहरू बाढीबाट प्रभावित हुने इटहरी–७ का गोपाल भण्डारी बताउँछन् । इटहरीको नमुना कलेजअगाडिबाट खोला सफाइ अभियान रोकिएको छ भने कुनै ठाउँमा फराकिलो बनाइएको उनको भनाइ छ । टेङ्ग्रा खोला बर्खाको बेला इटहरीलाई सबैभन्दा बढी दुःख दिने खोला मानिन्छ । मनसुन सक्रिय हुन अब केही दिनमात्रै बाँकी रहँदा इटहरीमा विपद् व्यवस्थापनसम्बन्धी कुनै तयारी भएको देखिएको छैन । इटहरी उपमहानगरका प्रमुख हेमकर्ण पौडेल नगर क्षेत्रमा रहेका सबै संयन्त्रहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिइसकेको बताउँछन् । तर, बाढीबाट स्थानीयलाई जोगाउन आवश्यक उपकरण उपमहानगरसँग छैन ।

यता जिल्ला प्रशासन कार्यालय सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी वेदराज फुयालसँग सम्पर्क गर्दा उनले जिल्लामा विपद् व्यवस्थापनसम्बन्धी उद्धार र राहतमा जुट्न चार हजार सुरक्षाकर्मीलाई तयारी अवस्थामा राखिएको बताए । बाढीबाट प्रभावित क्षेत्रहरूमा हाइअलर्ट अवस्थामा रहन सुरक्षाकर्मीहरूलाई निर्देशनसमेत दिइसकेको बताए । योसँगै जिल्लामा रहेका नेपाल प्रहरी, सशस्त्र प्रहरी, जनपद, ट्राफिक प्रहरीसमेतलाई विपद् व्यवस्थापनको काममा जुट्न निर्देशन जारी गरिसकेको बताए ।

पाँच महिना टिक्दैनन् सिडिओ
मुलुकमा राजनीतिक तरलता र व्यक्तिगत ‘इगो’ का कारण सुनसरीमा कार्यभार सम्हालेको ५ महिना नबित्दै प्रमुख जिल्ला अधिकारीहरूको व्यापक हेरफेर हुने गरेको छ ।

सामान्यतया एक जिल्लामा सिडिओको कार्यकाल एक वर्ष हुने गरेको छ तर सुनसरीमा गएको डेढ वर्षयता तीनजना प्रमुख जिल्ला अधिकारीहरू फेरिइसकेका छन् । २०७९ पुसमा कार्यभार सम्हालेकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे ९ महिना नबित्दै अन्यत्रै सरुवा हुन पुगिन् । उनी २०८० कात्तिकमा सरुवा भएर अन्यत्रै गएकी छन् । यसअघि उनको स्थानमा इन्द्रदेव यादव प्रमुख जिल्ला अधिकारी रहेका थिए । यादवको पनि गत २०८० पुसमा अन्यत्रै सरुवा भइसकेको छ ।

जिल्लामा पाण्डेको सट्टा प्रमुख जिल्ला अधिकारी भएर आएका जयनारायण आचार्य ५ महिना पनि टिकेनन् । उनको यही जेठ १७ गते नै सरुवा भई सुनसरीबाट बिदा भइसकेका छन् । अहिले उनको सट्टा रामचन्द्र तिवारीलाई जिल्लामा खटाइएको छ । यसरी पाँच महिना पनि नबित्दै सुनसरीबाट प्रमुख जिल्ला अधिकारीहरू सरुवा हुन थालेपछि जिल्लाको शान्ति सुरक्षादेखि विभिन्न योजनाहरू कार्यान्वयनमा समस्या भइरहेको प्रशासन कार्यालयभित्रकै कर्मचारीहरू बताउँछन् ।