महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीसँग नेपालका लागि इजरायली राजदूत हनान गोडरले शिष्टाचार भेटवार्ता गरेका छन्।

मन्त्रालयमा आज भएको भेटमा मन्त्री चौधरीले नेपाल र इजरायलबीच कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै मित्रता, सद्भाव, समझदारी र सहयोगको सुमधुर द्विपक्षीय सम्बन्ध रहिआएको बताएका छन्। साथै उहाँले हमासको नियन्त्रणमा रहेका नेपाली युवा विपिन जोशीको रिहाइका लागि पहल गरिदिन राजदूत गोडरलाई आग्रह गरेको छ । मन्त्री चौधरीको सचिवालयले जनाएको छ।

इजरायलले कृषि क्षेत्रमा गरेको विकासको प्रशंसा गर्दै उनले नेपालको कृषिको विकासमा सहयोगका लागि आग्रह गरेका छन्। विभिन्न विषयमा छात्रवृत्ति, रोजगारी, कृषि तथा सहकारी क्षेत्रमा सहयोगलगायतका विषयमा नेपाललाई गरेको सहायताका लागि इजरायल सरकारको प्रशंसा गर्दै मन्त्री चौधरीले नेपाल–इजरायल सम्बन्ध आपसी सहयोग र सहकार्यको माध्यमबाट निरन्तर अघि बढिरहेको विश्वास व्यक्त गरे।

इजरायल सरकारले नेपाली युवा (खासगरी महिला)लाई केयरगिभर सेवा क्षेत्रमा रोजगारीका अवसर उपलब्ध गराएकोप्रति उनले धन्यवाद व्यक्त गरे। सो अवसरमा राजदूत गोडरले विपिन छिट्टै रिहा हुने विश्वास व्यक्त गर्दै जोशीका परिवारलाई आफू आइतबार भेट्न जाने कार्यक्रम रहेको  जानकारी गराएका छन्।

नेपालमा समानता, सशक्तीकरण, निर्णायक तहमा महिलाको पहुँचका विषयमा इजरायलले नेपालबाट सिक्नुपर्ने बताउँदै उहाँले थप अवसरका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। जम्मा केयरगिभरमध्ये ७० प्रतिशत महिला केयरगिभर रहेको जनाउँदै राजदूत गोडरले इजरायलको विकासमा नेपाली श्रमिकले पुर्याएको योगदानको प्रशंसा गरेका छन् ।