धरान । डा. गोविन्द केसीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग्दै आमरण अनशन सुरु गरेका छन् । उनले २२ औँ पटक अनशन सुरु गरेका हुन् । उनले प्रेस विज्ञप्ति जारी गर्दै शनिबारदेखि अनशन सुरु गरेका छन् ।

विज्ञप्तिमा सशस्त्र द्वन्द्वकालमा मानवताविरोधी अपराध र युद्ध अपराधमा संलग्न प्रमुख नेताको हैसियतमा तत्कालै प्रधानमन्त्री पदबाट राजीनामा दिनुपर्ने उल्लेख गरेका छन् । ‘हाल सत्ताको नेतृत्व गरेका प्रचण्डले त पदमा रहँदा सधैँभर आफ्नो दण्डहीनताका लागि सिङ्गो सङ्क्रमणकालीन न्याय प्रक्रियालाई भद्दा मजाकमा परिणत गरेको इतिहास छ ।त्यसैले निष्पक्षरूपमा र पीडितहरूले न्यायको अनुभूति गर्ने गरी सङ्क्रमणकालीन न्यायको प्रक्रिया नटुङ्गिउन्जेल पदमा बस्ने उनको कुनै पनि नैतिक तथा कानूनी धरातल छैन । तसर्थ उनले तुरुन्त राजीनामा दिनुपर्छ’–उनले विज्ञप्तिमा भनेका छन् । उनले द्वन्द्वकालमा मानवअधिकार हनन्, मानवताविरोधी अपराध र युद्ध अपराध गर्ने व्यक्तिहरू नै सत्तामा रहेको भन्दै शक्तिको आडमा छानबिन प्रक्रिया निस्तेज पारेर सजायबाट बच्ने दाउमा लागेको आरोप लगाएका छन् ।

विज्ञप्तिमा लेखिएको छ– ‘हजारौं पीडितहरूले अहिलेसम्म न्याय पाएका छैनन् । अन्तर्राष्ट्रिय कानूनअनुसार पनि मानवताविरोधी र युद्ध अपराधमा संलग्न व्यक्तिहरूलाई सजाय कम हुने तथा माफी हुने प्रावधान छैन ।’ उनले दण्डहीनता कायम गर्न प्रचण्ड मात्रै हैन, केपी शर्मा ओली, शेरबहादुर देउवा र माधवकुमार नेपालको पनि उत्तिकै भूमिका रहेको दाबी गरेका छन् । लोकतन्त्रलाई बचाइराख्ने हो भने ओली, देउवा तथा नेपालले सत्ता नयाँ पुस्तालाई हस्तान्तरण गर्नुपर्ने विज्ञप्तिमा उनले उल्लेख गरेका छन् । नयाँ पुस्ताले मात्रै दल, देश र जनताको समग्र विकासमा लाग्ने उनले जनाएका छन् ।

उनले तीन बुँदे माग राखेर काठमाडौँको पशुपति क्षेत्रको मृगस्थलीमा अनशन सुरु गरेका हुन् । उनले नेपालीले गुणस्तरीय स्वास्थ्य उपचार तथा निःशुल्क औषधि पाउनुपर्ने पनि माग राखेका छन् । उनले आफूसँग सरकारले विभिन्न समयमा गरेका सहमतिलाई कार्यान्वयन गर्नुपर्ने पनि माग राखेका छन् । उनले सुदूरपश्चिमको गेटामा स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालन गर्नुपर्ने, गण्डकी र मधेश प्रदेशका साथै इलाम, उदयपुर र डडेलधुरामा मेडिकल कलेज वा प्रतिष्ठान निर्माण गर्नुपर्ने माग राखेका छन् ।