विजयपुर । सुनसरीको धरान उपमहानगरपालिकाबाट विस्फोटक पदार्थ बनाउन प्रयोग हुने रसायनसहित तीन जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालयका अनुसार कात्तिक १० गते धरान ८ स्थित तिनकुने चेकिङ पोस्टमा प्रहरीले मिनी ट्रक जाँच गर्ने क्रममा ४७ किलो ८७० ग्राम पोटासियम नाइट्रेट बरामद गरेको हो । प्रहरीका अनुसार इटहरीबाट धरानतर्फ आउँदै गरेको को २ ख १६१८ नम्बरको मिनी ट्रक जाँच गर्दा उक्त पदार्थ फेला परेको थियो ।
मिनी ट्रकका चालक मोरङको विराटनगर महानगरपालिका–४ निवासी २५ वर्षीय प्रदीपकुमार शाह थिए। ट्रकमा मोरङको जहदा गाउँपालिका–१ निवासी ४२ वर्षीय भुपेन्द्र राजवंशी र कात्तिक राजवंशीसमेत सवार थिए ।
प्रहरीका अनुसार भन्सार छली ल्याइएका सामानसहित जुटको बोरामा प्याकिङ गरिएको अवस्थामा विस्फोटक पदार्थ बनाउन प्रयोग हुने पोटासियम नाइट्रेट बरामद गरिएको हो । उक्त बोरामा अंग्रेजी भाषामा विस्फोटक पदार्थसम्बन्धी विवरणसमेत लेखिएको थियो ।
प्रहरीले सोधपुछ गर्ने क्रममा उनीहरूले प्रहरीलाई गालीगलौज गर्नुका साथै हातपातको प्रयास गरेको प्रहरीको भनाइ छ । उनीहरूले स्थानीय महिला तथा बालबालिकासमेत त्रसित हुने गरी अभद्र व्यवहार गरेको प्रहरीले जनाएको छ । त्यसपछि तीनै जनालाई अभद्र व्यवहारसम्बन्धी कसुरमा पक्राउ गरी अनुसन्धान अघि बढाइएको थियो । बरामद गरिएको पदार्थ परीक्षणका लागि नेपाल प्रहरी केन्द्रीय विधिविज्ञान प्रयोगशाला काठमाडौं पठाइएको थियो । प्रयोगशालाको परीक्षण प्रतिवेदनमा नमुना (एक्जिबिट–१) मा पोटासियम आयन र नाइट्रेट आयन फेला परेको उल्लेख छ ।
प्रयोगशालाको प्रतिवेदनपछि उक्त पदार्थ विस्फोटक पदार्थसम्बन्धी कसुरमा अनुसन्धान गर्नुपर्ने देखिएकाले मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद ७ अन्तर्गत थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा मिनी ट्रक चालक प्रदीपकुमार शाह, भुपेन्द्र राजवंशी र कात्तिक राजवंशी रहेका छन्।

































