विजयपुर । धरानमा मोबाइल गेमिङ च्याम्पियनसिप हुने भएको छ ।

युवापुस्तामाझ लोकप्रिय मोबाइल तथा डिजिटल खेललाई व्यवस्थित र प्रतिस्पर्धात्मक मञ्च प्रदान गर्ने उद्देश्यले ‘डेली डोज गेमिङ च्याम्पियनसिप २०८३’ हुने भएको हो ।

धरान–३ सदन रोडस्थित डेली डोज क्याफेको आयोजनामा हुने प्रतियोगितामा फ्रि फायर, मोबाइल लेजेन्ड्स र ई–फुटबल गरी तीन विधामा प्रतिस्पर्धा हुनेछ ।

गेमिङ क्षेत्रमा युवाहरूको प्रतिभा उजागर गर्ने, स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्ने तथा खेल संस्कृतिलाई प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।

आयोजकका अनुसार फ्रि फायर प्रतियोगितामा करिब ७०० देखि एक हजार जना, मोबाइल लेजेन्ड्समा १०० देखि ३०० जना र ई–फुटबलमा करिब १०० जना खेलाडी सहभागी हुने अनुमान गरिएको छ ।

प्रतियोगिताअन्तर्गत फ्रि फायर विधामा प्रथम हुनेले ५० हजार रुपैयाँ, दोस्रो हुनेले २५ हजार र तेस्रो हुनेले १० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । उत्कृष्ट खेलाडीलाई पाँच हजार रुपैयाँ प्रदान गरिनेछ ।

त्यस्तै, मोबाइल लेजेन्ड्स विधामा प्रथम हुनेले ३० हजार, दोस्रो हुनेले १५ हजार र उत्कृष्ट खेलाडीले तीन हजार रुपैयाँ पुरस्कार पाउनेछन् । ई–फुटबल विधामा प्रथम हुनेले १० हजार, दोस्रो हुनेले पाँच हजार र सर्वाधिक अङ्क प्राप्त गर्ने खेलाडीले तीन हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

प्रतियोगितामार्फत युवाहरूको खेल प्रतिभा र क्षमता उजागर गर्ने, स्वस्थ, निष्पक्ष तथा मर्यादित प्रतिस्पर्धाको वातावरण निर्माण गर्ने र युवाबीच मित्रता, सहकार्य तथा आपसी सद्भाव बढाउने लक्ष्य राखिएको छ ।

धरानमा खेल तथा विद्युतीय खेलकुद संस्कृतिको विकास र प्रवर्द्धनमा प्रतियोगिताले योगदान पु¥याउने आयोजकको विश्वास छ । प्रतियोगिता सफल बनाउन सम्बन्धित निकाय, प्रायोजक, सहयोगी संस्था, खेलाडी तथा खेलप्रेमीहरूबाट सहयोग र सहकार्यको अपेक्षा गरिएको आयोजकले जनाएको छ ।