विराटनगर । २० कार्तिक (शुक्रबार) साँझ विराटनगरको जैन भवनमा गितारका तारहरू गुञ्जिन थालेसँगै युवाहरूको उत्साह पनि चुलिँदै थियो । मैदानमा उभिएका हजारौँ दर्शकको ध्यान एउटै स्टेजमा केन्द्रित थियो । कोही साथीहरूसँगै गीत गुनगुनाइरहेका थिए, कोही मोबाइलमा क्षणहरू कैद गर्दै थिए । केही युवाहरू संगीतको तालमा झुमिरहेका थिए । जैन भवनको मैदानमा त्यस साँझ संगीत सुन्नेभन्दा पनि संगीतसँगै बाँच्नेहरूको जमघट देखिन्थ्यो ।
विराटनगर-४ का २१ वर्षीय पवन घिमिरेका लागि त्यो साँझ विशेष थियो । अल्बाट्रोस नेपाली ब्यान्डको सांगीतिक प्रस्तुति प्रत्यक्ष हेर्ने उनको चाहना लामो समयदेखिको थियो । विराटनगरमा पहिलो पटक ब्यान्ड आउने भएपछि उनले बुबाआमालाई मनाएर साथीहरूसँगै कार्यक्रम हेर्न जाने योजना बनाए । शुक्रबार सबेरै उनी साथीहरूसँग जैन भवन पुगेका थिए ।
‘अल्बाट्रोस नेपालको चर्चित ब्यान्ड हो । मलाई मन पर्ने ब्यान्ड भएकाले यसको प्रस्तुति प्रत्यक्ष हेर्न साथीहरूसँग आएको हुँ,’ उनले भने ।पवनको उत्साह मैदानमा उपस्थित हजारौँ युवाको साझा भावना थियो । पाँचौँ संस्करणको विराटनगर म्युजिक फेस्टिभलमा सहभागी हुन विराटनगर र आसपासका क्षेत्रबाट आएका युवायुवतीको भीड साँझसँगै बाक्लिँदै गएको थियो । कुर्सी राखेर १ हजार ५ सय उभिएर तीन हजार दर्शक क्षमताको जैन भवनको मैदान जेनजी उमेर समूहका युवायुवतीले भरिएको थियो ।
साँझ ६ बजेदेखि दर्शकको उपस्थिति बढ्न थालेको थियो । सात बजे सुरु भएको सांगीतिक कार्यक्रम स्थानीय कलाकारको प्रस्तुतिबाट अघि बढ्यो । विराटनगरका गायक पिन्टु साह र स्मृति ब्यान्डले दर्शकलाई संगीतको माहोलमा तान्न थाले । त्यसपछि स्टेजमा उक्लिएको रकहेट्स ब्यान्डले रक संगीतको ऊर्जा थप्यो ।
रकहेट्सको प्रस्तुतिसँगै मैदानमा उफ्रिने, हात उठाउने र गीतसँगै स्वर मिलाउने युवाहरूको संख्या बढ्दै गयो । करिब एक घण्टासम्म ब्यान्डले दर्शकलाई संगीतमा झुमाइरह्यो । तर, मैदानमा उपस्थित धेरैका लागि प्रतीक्षाको मुख्य क्षण अझै आउन बाँकी थियो । राति ९ बजेर २१ मिनेटमा अल्बाट्रोस स्टेजमा उक्लियो ।
ब्यान्डका सदस्यहरू स्टेजमा देखिनासाथ मैदानभरि चिच्याहट र हुटिङ गुञ्जियो । लामो समयदेखि आफ्ना मनपर्ने गीत सुन्दै आएका युवाहरूका लागि त्यो क्षण प्रत्यक्ष संगीतसँग जोडिने अवसर थियो । अल्बाट्रोसको नामसँगै दर्शकको उत्साह पनि एकाएक बढेको देखिन्थ्यो ।
त्यसपछि सुरु भयो ब्यान्डको प्रस्तुति । गितारका धुन, ड्रमको ताल र मुख्य गायक शिरीष दलीको स्वरले मैदानलाई संगीतको फरक संसारमा पुर्यायो । दर्शकहरू गीतसँगै गाउन थाले । स्टेज अगाडि उभिएका युवाहरूको उत्साह क्रमशः बढ्दै गयो ।
अल्बाट्रोसले करिब डेढ घण्टा प्रस्तुति दियो । ब्यान्डको संगीतमा झुमिरहेका युवाहरू गर्मी बढ्दै गएपछि ज्याकेट र टीसर्ट फुकालेर नाचिरहेका दृश्य देखिन्थे । केही दर्शक गीतको तालमा उफ्रिरहेका थिए भने केही मोबाइलमा भिडियो खिच्दै थिए । स्टेज र दर्शकबीचको दूरी संगीतले मेटाएको अनुभूति हुन्थ्यो ।
मुख्य गायक शिरीष दलीको प्रस्तुति पनि दर्शकमाझ विशेष आकर्षण बनेको थियो । एक घण्टाभन्दा लामो समयसम्म उनले दर्शकदीर्घाबाटै गीत गाए र तस्बिर खिचे । दर्शकसँग नजिकिएर प्रस्तुत हुने उनको शैलीले कार्यक्रमलाई अझ आत्मीय बनाएको थियो । स्टेजमा गायक र मैदानमा दर्शकबीचको सम्बन्ध औपचारिक प्रदर्शनमा सीमित थिएन; उनीहरू एउटै संगीतमा जोडिएका देखिन्थे ।

तीन दशकको यात्रामा अल्बाट्रोस
विराटनगरमा देखिएको यो उत्साह बुझ्न अल्बाट्रोसको सांगीतिक यात्रा पनि बुझ्नुपर्छ । सन् १९९८ मा काठमाडौंमा स्कुले साथीहरू मिलेर स्थापना भएको यो ब्यान्ड नेपाली वैकल्पिक रक संगीतको प्रभावशाली नाममध्ये एक हो । सुरुवाती दिनमा अन्डरग्राउन्ड मेटल संगीतबाट यात्रा थालेको ब्यान्डले पछि मेलोडिक र अल्टरनेटिभ रक शैलीलाई आफ्नो पहिचान बनायो ।
नेपाली रक संगीतमा अल्बाट्रोसको यात्रा केवल गीत र एल्बमको सफलतामा सीमित छैन । यसले एउटा पुस्ताको सांगीतिक रुचि निर्माण गर्न पनि भूमिका खेलेको छ । विशेषगरी गितारमा आधारित संगीत, तीव्र लय र भावनात्मक शब्दले युवाहरूलाई आकर्षित गर्दै आएको छ ।
ब्यान्डको पहिलो एल्बम ‘हाइ’ सन् १९९९ मा सार्वजनिक भएको थियो । त्यसपछि सन् २००५ मा आएको ‘जो जससँग सम्बन्धित छ’ ले ब्यान्डलाई व्यापक रूपमा चिनायो । ‘अत्ति भयो’ (२०११), ‘म र मलाई’ (२०१४) हुँदै ‘रातको रानी’ (२०२३) सम्म आइपुग्दा ब्यान्डले आफ्नो सांगीतिक यात्रालाई निरन्तरता दिएको छ ।
‘तिमी भने’, ‘निश्चल’, ‘खसेका तारा’, ‘बचाउ’, ‘फर्की फर्की’ र ‘आफ्नै संसारमा किन’ जस्ता गीत अल्बाट्रोसका परिचित सिर्जनामध्ये पर्छन् । यी गीतले ब्यान्डलाई पुरानो पुस्ताका श्रोता र नयाँ पुस्ताका संगीतप्रेमी दुवैसँग जोडेको छ ।
अल्बाट्रोसको वर्तमान टोलीमा मुख्य गायक तथा रिदम गितारवादक शिरीष दली, लिड गितारवादक सन्नी मानन्धर, बास गितारवादक अभय सिद्धि बज्राचार्य र ड्रमर किस्मत डी श्रेष्ठ छन् । समयसँगै सदस्य र सांगीतिक शैलीमा परिवर्तन आए पनि ब्यान्डको रक संगीतप्रतिको पहिचान कायम छ ।
राजधानीबाहिर पनि संगीतको आकर्षण
विराटनगरमा अल्बाट्रोसको प्रस्तुतिले नेपाली संगीतप्रतिको आकर्षण काठमाडौंमा मात्रै सीमित नरहेको संकेत गरेको छ । राजधानी केन्द्रित सांगीतिक गतिविधिबीच पूर्वी नेपालको यो सहर पनि ठूलो संगीत कार्यक्रमको सम्भावित गन्तव्यका रूपमा देखिएको छ ।
कार्यक्रम संयोजक सेन्ट्रो महतका अनुसार यस पटकको फेस्टिभल ऐतिहासिक बनेको छ । “हामीले पहिलो पटक अल्बाट्रसजस्तो दिग्गज ब्यान्डलाई पूर्वको सहर विराटनगरमा उतारेका थियौँ,” महतले दंग पर्दै भने, “हामीले सोचेभन्दा धेरै दर्शकको माया पायौँ । विराटनगर मात्र होइन, इटहरी, धरान, झापा र छिमेकी जिल्लाहरूबाट समेत उल्लेख्य संख्यामा संगीतप्रेमीहरू आए । नेपाली मौलिक रक संगीतलाई माया गर्ने यति ठूलो जमात पूर्वमा हुनु हाम्रा लागि ठूलो उत्साह हो ।”
स्थानीय कलाकारदेखि स्थापित राष्ट्रिय ब्यान्डसम्मको प्रस्तुतिले कार्यक्रमलाई विविधतापूर्ण बनाएको थियो । ‘‘यसले स्थानीय संगीतकर्मीलाई दर्शकमाझ प्रस्तुत हुने अवसर दिनुका साथै विराटनगरको सांगीतिक गतिविधिलाई पनि थप ऊर्जा दिन यस्तो कार्यक्रमले ठुलो सहयोग पुर्याएको छ,’’ कार्यक्रम हेर्न आएका पर्यटन व्यवसायी पुन्य प्रसाद भट्टराइले भने, ‘जैन भवनको मैदानमा देखिएको यो एउटा सांगीतिक कार्यक्रमको सफलतामा मात्र सीमित थिएन । त्यो नयाँ पुस्ताको सांगीतिक रुचि, सामूहिक उत्साह र आफ्ना मनपर्ने कलाकारसँग प्रत्यक्ष जोडिने चाहनाको अभिव्यक्ति पनि थियो ।’’


































