धरान।  बैशाख ८ गते शनिबार धरानको धरान रंगशालामा लोकप्रिय ब्याण्ड कन्दरा आफ्नो नयाँ टिमअपसहित 'कन्दरा लाईभ इन धरान' सांगीतिक कार्यक्रममार्फत् धरानमा आफ्नो प्रस्तुति दिँदैछन्। 

६ बर्ष अघि धरानसँगै दमक र बिर्तामोडमा भब्य कन्सर्ट सम्पन्न गरिसकेको कन्दरा ब्याण्डमा अहिले  गायक विवेक श्रेष्ठ र सुनिल थापासँगै,  नेपालमै  पहिलोपटक जिप्सीज्याज म्युजिक भित्राएका  हरि महर्जन, पछिल्लो पुस्ताका चर्चित गितार वादक देव लामा, वेस गितारमा पङ्कज झा, ड्रमसेट र मादल (प्रक्रिउजन) मा विज्ञ सुन्दर महर्जनको टिमअप रहेको छ।  यो टिम जुटेसँगै कन्दराले 'बिचरा म' बोलको गीत सार्वजनिक गरिसकेको छ भने गत पौष २७ गते पोखरामा भब्य कन्सर्ट सम्पन्न गरेर पुन आफ्नो कौशलता प्रदर्शन गरिसकेको छ। 

पचासको दशकदेखिको निक्कै नै लोकप्रिय ब्याण्ड कन्दराका मुख्य गायक बिबेक श्रेष्ठको बिचमा विदेश पलायनले सुस्ताएको कन्दरा बिबेक श्रेष्ठको नेपाल आगमन संगै जुर्मुराउदै आइरहेको छ र अब भने कन्दरा पुरै जोशजाँगरका साथ् नया टिमअपमा मैदानमा आउने जमर्को गरिसकेको छ।  गत पौष २७ गतेको आफ्नो पहिलो संगीत यात्रा 'पहिला घरदेश अनि परदेश' भन्ने नाराका साथ आफ्नो घरेलु मैदानमा सम्पन्न गरिसकेको छ। 

सातै प्रदेशको मुख्य शहरहरुमा कन्सर्ट आयोजना गर्ने पहिलो लक्ष्य अनुरुप धरानमा कन्दराको यो टिमअपको दोस्रो कन्सर्ट  रहेको छ।  यसपछि चितवन , सुर्खेत , नेपालगंज , बुटवल , जनकपुर , काठमाडौँ लगायतका प्रमुख शहरहरु संगै नेपालका कुना-कन्दरालगायतका सम्पूर्ण ठाउँमा आफ्नो कन्सर्ट लिएर जाने योजना रहेको  कन्दराका मुख्य खम्बा तथा गायक बिबेक श्रेष्ठले बताए। 

‘लेककी हे माया,’ तगारोमा रुमाल राखी,’ जिन्दगी उत्सव हो’, ‘हङकङ पोखरा’, ‘चञ्चले कान्छीको जोवन’ ‘लेककी हे माया,’ ‘तिमी पारी त्यो गाउँमा ,’ ‘विदेशीएर गइन् उनी’ , भेंडीगोठैमा, प्रियसीको कल्पनामा बिश्वासको दियोलगायतका थुप्रै पुराना चर्चित गीतहरुसँगै नयाँ गीत ‘विचरा म ’ लगायतका गीतहरु कन्दरा लाइभ इन धरान- कन्सर्टको पुरा समय कन्दरा ब्याण्डले पस्केर धराने दर्शकहरुलाई मनोरञ्जन दिनेछन् । 

यसघि ६ बर्ष अघि धरानको पब्लिक हाईस्कुलको मैदानमा धरानको दर्शकहरुको पुरै साथ पाएकोले पनि आफ्नो नयाँ टिमअपसहितको कन्दराले पोखरापछि धरानमा नै कन्सर्ट गर्न रोजेको शहर हो।  कन्दरा ब्याण्डले २६ बर्ष अघि धरानको गणेश टाकिजमा आफ्नो पहिलो धरानको कन्सर्ट गरेको थियो।

सिल्भर इन्टरटेनमेन्टको आयोजनामा हुन लागेको कन्सर्टको लागि सम्पूर्ण तयारी भईसकेको छ।  कन्सर्टको साउण्ड , लाइट , स्टेज तथा एलईडीको व्यवस्थापन पुर्वमा नै नाम कहलिएको सुन्दर साउण्ड सर्भिसले गर्दैछ।  धरानमा अहिले सम्मकै भब्य र सभ्य कन्सर्टको रुपमा  आयोजनाको तयारी भईरहेको छ।