बाँझोपना अर्थात् निःसन्तानको समस्या पछिल्लो समय बढिरहेको यसका विज्ञ चिकित्सक तथा जानकारहरुले औँल्याएका छन् । जीवनशैलीमा आएको परिवर्तन, विवाह ढिलो गर्नु, वैदेशिक रोजगारका कारण दम्पतीबीच पर्याप्त सम्भोगको अभाव र कतिपय दम्पत्तीको स्वास्थ्यका कारण निःसन्तानको समस्या  देखिएको चिकित्सकहरुको भनाइ छ ।

दमकमा विगत १६ वर्षदेखि महिलाको प्रसूति सेवा दिँदै आएको ॐ मेची अस्पतालका स्त्रीरोग विशेषज्ञ डा शङ्करप्रसाद हुजदार निःसन्तान हुने समस्या बढेको बताउँछन् । उनका अनुसार सरदर १० देखि १४ प्रतिशत जोडीमा निःसन्तानको समस्या देखिने गरेको छ । तीमध्ये करिब सात प्रतिशतमा भने निःसन्तानको समस्या अर्थात् बाँझोपनाका कारण नै पत्ता लाग्न नसकिरहेको पनि हुजदारले सुनाए । 

उनले स्वास्थ्यका दृष्टिकोणबाट सबै ठिकठाक हुँदाहुँदै पनि सन्तान नहुने समस्या देखिएको र त्यसका कारण यही नै हो भन्ने यकीन अझै नहुन नसकेको बताए । यो अलि अप्ठ्यारो विषय पनि भएको बताउँदै उनले भने, ‘दम्पतीमा निःसन्तान हुने समस्या नेपाली समाजमा बढेको छ, यसमा हाम्रो ध्यान पुग्न सकेको छैन ।’ 

ॐ मेची अस्पताल प्रसूति सेवामात्र उपलब्ध गराउँदै आएको जिल्लाकै एक पुरानो स्वास्थ्य संस्था हो । सो अस्पतालमा डा हुजदारसहित अर्का स्त्रीरोग विशेषज्ञ डा निरञ्जनसिंह बोगटीसहितका आधा दर्जन चिकित्सकको टोली संलग्न छ । सो अस्पतालले मासिक पाँच सय सङ्ख्यामा प्रसूति सेवा दिँदै आएको अस्पतालका अध्यक्षसमेत रहेका डा. बोगटी बताउँछन् । उनका अनुसार परीक्षणमा आएका करिब १५ प्रतिशत जतिमा दम्पतीमा बाँझोपनाको समस्या देखिएको छ । 

जीवनशैलीमा आएको परिवर्तन, पत्रुखानाको सेवन, मदिरापान, सुर्तिजन्य पदार्थको सेवन र असुुरक्षित यौनसम्पर्कका कारण पनि महिला तथा पुरुषमा बाँझोपनाको समस्या देखिएको बताए । किशोर अवस्थामै प्रेमीप्रेमिकाबीच असुरक्षित यौनसम्पर्कका कारण पटकपटक गर्भ तुहाउने, यौन रोगलगायतका स्वास्थ्य समस्याले पनि बाँझोपना देखिएको उनको भनाइ छ । 

उनले सन्तान जन्माउने उमेरमा बिहे नगर्ने चलन बढ्दै जानु र उमेर ढल्किँदा बिहे गर्ने कारणले पनि दम्पतीबीच बाँझोपनाले निःसन्तानको समस्या आएको हुनसक्ने बताए । निःसन्तानको समस्या न्यूनीकरण गर्न बाँझोपनाको समस्या झेल्दै आएका अभिभावकले स्वास्थ्य उपचारमा जोड दिनुपर्ने उनी बताउँछन् । 

निःसन्तान हुन कसैको दोष नभएर आफ्नै समस्याका कारण यस्तो समस्या हँुदै आएको भए पनि अब भने निःसन्तान हुनु नपर्ने तथा स्वास्थ्य उपचारका वैकल्पिक उपाय अवलम्बन गर्न सकिने उनको भनाइ छ । 

निःसन्तानका लागि शिविर

दमकको ॐ मेची अस्पतालले निःसन्तान दम्पतीका लागि लक्षित गरी बर्सेनि निःशुल्क स्वास्थ्य परामर्श शिविर सञ्चालन गरिआएको छ । भारतको सिलगुढीस्थित न्यूलाइफ फर्टीलिटी सेन्टरको प्राविधिक सहयोगमा अस्पतालले विगतका वर्ष झँै यस वर्ष पनि यही चैत ३० मा एक दिने परामर्श शिविर सञ्चालनको तयारी गरिरहेको अस्पतालले जनाएको छ ।

अस्पतालका सञ्चालक डा हुजदारले न्यूलाइफ फर्टिलिटीका दक्ष चिकित्सकको प्राविधिक टोलीले निःसन्तान अभिभावकलाई लक्षित गरी परामर्श शिविर सञ्चालन गरिएको जानकारी दिए । न्यूलाइफ महिला तथा पुरुषमा हुने बाँझोपन स्वास्थ्य निदानका लागि भरपर्दो स्वास्थ्य संस्था मानिन्छ ।

ॐ मेची अस्पतालमा यस किसिमको स्वास्थ्य शिविर यो तेस्रो हो । शिविरबाट यस क्षेत्रका निःसन्तान अभिभावकले आफ्नै ठाँउमा यस किसिमको विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउन शिविरको आयोजना गरिएको बताइएको छ । शिविरमा फर्टिलिटी सेन्टरका डा प्रसेन्जीतकुमार रोय, डा सेफली वंशल माधवलगायतका चिकित्सक संलग्न हुनेछन् ।